दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताउनुभएको छ ।

‘अ ट्रिटिज अन दि कन्स्टिच्युशन अफ नेपाल २०१५’ नामक पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले स्थिरता र स्थायित्वका नाममा संविधान संशोधन नरोकिने बताउनुभएको हो । व्यावहारिक रुपमा संविधान अपूर्ण रहेको देखिएमा संविधानको संशोधन गर्न सकिने उहाँको भनाइ छ ।

नागरिककाे आवश्यकता र समयको मागअनुसार परिवर्तनको गतिलाई अगाडि बढाउन पनि संविधान संशोधन आवश्यक पर्न सक्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘केही केही व्यवहारका क्रममा भोलि गएर अपूर्णता पनि देखिएला । जनताको आवश्यकतालाई समयको मागअनुसार परिवर्तनको गतिलाई अगाडि बढाउनका लागि न्याय, समानता वा विकासलाई यथोचित ढङ्गले परिमार्जन गर्न संविधान संशोधन हुन आवश्यक पर्न सक्छ ।

त्यस्तो पर्‍याे भने संविधान संशोधन हुन्छ । यो अपरिवर्तनशील र असंशोधनीय चिज होइन । स्थिरता र स्थायित्वका नाममा अपरिवर्तनशील विषय होइन ।’संविधान दिवसको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले प्रणालीगत, संरचनागत र कानुनी पक्षका हिसाबले पनि नागरिक र देशको आवश्यकताअनुसार संशोधन गर्न सकिने बताउनुभयो ।

उहाँले आवश्यक देखिएमा संविधान संशोधनका लागि सबै तयार हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘संविधान संशोधनका लागि हामी सबै खुला दिमाग राखेर विना बहकाउ तयारी रहनुपर्छ ।’पाँचौ संविधान दिवसको अघिल्लो दिन प्रधानमन्त्री ओलीले ६ सय ४६ पृष्ठको ‘अ ट्रिटिज अन दि कन्स्टिच्युशन अफ नेपाल २०१५’ पुस्तक विमोचन गर्नुभएको हो ।

कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रधानमन्त्री निवासमा भएको पुस्तक विमोचनमा भौतिक दुरी कायम गरिएको थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?