
दार्चुला । दार्चुला सदरमुकाम खलंगासहित महाकाली नगरपालिका क्षेत्रमा गरिएको शील हटाइएको छ ।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र दार्चुला (डिसिसिएमसी) को गत भदौ २४ गतेको निर्णय अनुसार महाकाली नगरपालिका क्षेत्र भित्र दुई जना व्याक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएकोले समुदायस्तरमा थप संक्रमण फैलिन नदिनका लागी महाकाली नगरपालिका क्षेत्र शील गरिएको थियो ।
नगरपालिका क्षेत्रमा पछिल्लो समय कोरोना पुष्टि भएका दुबै जनाको कन्ट्याक्ट ट्रेसिङ को आधारमा स्वाब संकलन गरिएकोमा पीसीआर परीक्षण रिर्पोट नेगेटिभ आएकोले महाकाली नगरपालिका क्षेत्रको अवस्था सामान्य रहेको भन्दै महाकाली नगरपालिकाले शील खोलि दिन असोज २ गते पत्र पठाएपछि कोभिड-१९ संकट व्यवस्थापनक केन्द्र दार्चुलाको शुक्रबार बसेको बैठकले महाकाली नगरपालिका क्षेत्र भित्र गरिएको शील असोज २ गते दिउँसो २ बजेदेखि लागू हुने गरी हटाइएको प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले जानकारी दिनुभयो ।
साथै कोरोना संक्रमणको जोखिम कायमै रहेकोले स्वास्थ्य सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्डको पालना गर्न तथा भिडभाडमा नजान, भिडभाड हुने गतिविधि नगर्न, मेला, उत्सब नगर्न, सामाजिक दुरी कायम गर्न, अनिवार्य मास्क र सेनिटाइजर प्रयोग गर्न अनुरोध गरिएको छ ।
स्वास्थ्य सुरक्षा विपरीत गतिविधि गरेको पाइएमा संक्रामक रोग ऐन २०२० अनुसार कार्वाही हुने समेत प्रमुख जिल्ला अधिकारी पोखरेलद्धारा जारी आदेशमा उल्लेख गरिएको छ ।
यसअघि शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर बजार क्षेत्र र मार्मा गाउँपालिका क्षेत्रमा जारी गरिएको निशेधाज्ञा समेत हटिसकेको छ ।