दार्चुला । संविधान दिवसको अवसरमा जिल्ला कारागार दार्चुलामा कैद भुक्तान गरिरहेका नौगाड गाउँपालिका ६ धुलिगाडाका एक जना कैदीले माफी पाएका छन् । कर्तव्य ज्यान मुद्धामा ६ बर्ष पहिले जेल चलान गरिएका धुलिगाडाका आनसिह ठगुन्नाको बाँकी कैद मिनाहा गर्दै माफी दिइएको कारागार दार्चुलाका जेलर तथा कार्यालय प्रमुख मान बहादुर खडायतले जानकारी दिनुभयो ।
शुरुमा २० बर्ष कैद फैसला भएका ठगुन्नाको सर्बोच्च अदालतबाट कैद सजाय घटाएर १२ बर्ष कायम गरिएको थियो । ६ बर्ष ३ महिना ४ दिन कैद सजाय भुक्तान गरिसकेका ठगुन्नालाई ५ बर्ष ८ महिना २६ दिन कैद माफ गर्दै रिहा गरिएको जेलर खडायतले बताउनुभयो ।
गणतन्त्र दिवसको अवसरमा कारागार विभागले देशभरीबाट आधा भन्दा बढी सजाय भुक्तान गरिसकेका र माफी दिन मिल्ने कसुर अन्तरगत कारागार चलान भएका कैदीहरुको नामावली माग्ने गरेको छ । सोहि अनुसार असोज २ गतेसम्म आधाभन्दा बढी कैद भोगिसकेका र २० बर्षभन्दा कम कैद फैसला भएकोले ठगुन्नालाई रिहा गरिएको हो ।
दार्चुलाका एक जना सहित देशभरीबाट विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका २८९ जना कैदी बन्दीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट कैद मिनाहा तथा माफी पाएका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा शनिबारदेखि लागू हुने गरी दार्चुलाका ठगुन्ना सहित २८९ जनाले संविधान दिवसको अवसरमा माफी पाएका हुन् ।
संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ र फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ को व्यवस्था अनुसार कैदी बन्दीको कैद मिनाह गर्न सक्ने व्यवस्था छ । त्यसका लागि मन्त्रिपरिषद्ले राष्ट्रपतिका लागि सिफारिस गर्नु पर्छ ।