दार्चुला । कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण बनेको छ ।

यस्ता साधनमा स्यानिटाइजर नराखिँदा तथा दूरी कायम नगरिँदा जोखिम बढेको जनाइएको छ ।

सवारी साधनमा भाडामात्र बढाइएको छ । यातायात व्यवस्था विभागले तयार पारेको मापदण्डमा दुईजना बस्ने गरेको एक लहरमा एकजना बस्ने, सवारीमा अनिवार्य रुपमा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने प्रावधानको व्यवस्था गरे पनि व्यवहारमा कार्यान्वयन हुनसकेको छैन ।

अनुगमनसमेत नहुँदा यातायात व्यवसायीलाई ‘जे गरे पनि हुन्छ’ भन्ने भान परेको यात्रुहरुकाे गुनासाे छ । “सार्वजनिक यातायातले पालना गर्नुपर्ने दूरी कायम गरेर क्षमताको ५० प्रतिशतमात्र यात्रु राख्ने र स्यानिटाइजरको व्यवस्था कार्यान्वयन भएन, पहिलेको भाडामा ५० प्रतिशत थपेर भाडा लिन पाउने नियममा भने बढाएर सके जति लिने गरेकाे यात्रुहरुकाे गुनासाे छ ।

विभागले चार किमीको भाडा रु १४ तोकेको छ । क्षमताको ५० प्रतिशतमात्र यात्रु राख्दा ५० प्रतिशत बढाएर न्यूनतम् भाडा रु २१ हुन्छ । तर हाल त्यस्ता यातायातमा परिचालकले चार किमिकाे न्यूनतम् भाडा रु ५५ उठाइरहेका छन् ।

कोरोना महामारीका बेला भौतिक दूरी र सुरक्षाका उपाय भने अपनाएका छैनन् । विभागका महानिर्देशक गोगनबहादुर हमालले तोकेबमोजिम भए–नभएको अनुगमन गर्ने जिम्मेवारी ट्राफिक प्रहरीलाई दिइएको बताउनुहुन्छ । यातायातमा अहिले पनि यात्रु झुण्डिएर यात्रा गर्न बाध्य छन् तर भाडा भने बढी नै तिरिरहेका छन् ।

भाडा बढी लिएकाे र मापदण्ड पालना नभएकाे विषयमा न प्रहरी प्रशासनले नियमन गरेकाे छ,  न त स्थानीय तहहरुले नै चासाे दिएका छन् । दार्चुलाकाे गाेकुलेश्वरदेखि दार्चुला सदरमुकाम सम्म दाेब्बर भाडा असुली भइरहेकाे छ । लामाे तथा छाेटाे दुरीका सबै यातायातका साधनले ताेकिएकाे भन्दा तेब्बर भाडा लिने गरेका छन् । तीन सय पर्ने ठाउँमा एक हजारसम्म भाडा लिएर चरम कालाेबजारी हुदा समेत प्रहरी प्रशासन मुखदर्शक बनेकाे यात्रुहरुकाे गुनासाे छ ।

महाकाली नगरपालिकाले समेत नगर बसको भाडा ५० प्रतिशतले बढाएको छ । यातायात व्यवसायीहरुलाई ५० प्रतिशत भाडा बढाएर सवारी सञ्चालन गर्ने बाटो खोलिएसंगै महाकाली नगरपालिकाले यसअघिको निर्धारित भाडामा ५० प्रतिशतले भाडा बृद्धि गरेको छ ।

महाकाली नगरपालिकाले गत वर्षदेखि नै वडा नम्बर ४ देखि वडा नम्बर ५ हुदै वडा नम्बर ९ को बेतसम्म नगर सञ्चालन गर्दै आएको छ । अन्य यातायात व्यवसायीहरुले ५० प्रतिशत बढाउनुपर्नेमा तेब्बर भाडा असुली गरिरहेका छन् ।

गाेकुलेश्वरदेखि ३ सय भाडामा ५० प्रतिषत बढाएर ४५० रुपैँया लिनुपर्नेमा एक हजार रुपैँया माग्ने गरेका छन् । एरिछानादेखि बढाएकाे मूल्य समेत जाेडेर २५० रुपैँया भाडा पर्नेमा ५०० रुपैँया सम्म लिने गरिएकाे छ। ग्रामिण तथा कच्ची सडकहरुमा त झन तेब्बर भन्दा बढी भाडा लिने गरेकाे जनगुनासाे छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?