दार्चुला । लेकम गाउँपालिका वडा नम्बर १ सर्मोली स्थित बडिपुर माबि सर्मोलीले लेकम गाउँपालिकाबाट गत आर्थिक बर्षमा आइसिटी कार्यक्रममा काम सम्पन्न नगरेरै साढे छ लाख बजेट भुक्तानी लिएको पाइएको छ ।
लेकम गाउँपालिकाको गत आर्थिक बर्ष २०७६÷०७७ को विद्यालय श्रोत विकास कार्यक्रम अन्तरगत सशर्त अनुदान तर्फको विद्यालयमा आइसिटी प्रयोगशाला स्थापनाका लागि बिनियोजित साढे ६ लाख बजेटबाट सम्झौता र प्रकृया अनुसार काम नगरेरै विल र भुक्तानी प्रकृया मिलाएर गाउँपालिकाबाट भुक्तानी लिएको श्रोतले बताएको छ ।
साढे छ लाख बजेटबाट एक थान कम्प्युटर, सात थान ल्याप टप, एक थान प्रोजेक्टर, एक थान मल्टिमिडिया स्पीकर, एक थान प्रीन्टर र फिटिङ चार्ज सहित आइसिटी प्रयोगशाला स्थापना गरेको बिल, सिफारिस, व्यवस्थापन समितिको निर्णय, वडाको सिफारिस, बिल भरपाई र विद्यालयको निवेदन समेत गाउँपालिकामा पेस गरिएको छ । उक्त कागजातको आधारमा लेकम गाउँपालिकाले विद्यालयलाई निकासा दिएको जनाएपनि हालसम्म प्रयोगशाला व्यवस्थापन नभएको पाइएको हो । गाउँपालिकाको तर्फबाट समेत भुक्तानी दिनु भन्दा पहिले काम भए नभएको बारे अनुगमन समेत भएको छैन् ।
विद्यालयको तर्फबाट निमित्त प्रधानाद्यापक प्रमानन्द बिष्टले सम्झौता गरेको र खरिदको जिम्मेवारी विद्यालयका खरिदार भरत साउँदलाई दिइएको प्रधानाद्यापक बाशुदेब बिष्टले जानकारी दिनुभयो । उक्त समयमा आफु विद्यालय बाहिर रहेको र कार्याक्रम सञ्चालनको अख्तियारी खरिदार साउँदलाई दिइएको प्रधानाद्यापक बिष्टको भनाई छ ।
बजेट अनुसारको सामान डडेल्धुराबाट खरिद भइसकेको र कोरोना भाइरसको कारण सामान ढुवानीमा ढिलाई भएको सामान खरिदका लागि अख्तियारी पाएका खरिदार साउँदको भनाई छ । सामान खरिद भइसकेको र डडेल्धुराबाट ढुवानी गर्न मात्रै बाकी रहेकोले अबको एक, दुई दिनभित्र आइसिटी प्रयोगशाला व्यवस्थापन गरिसक्ने उहाँको दाबी छ ।
गत बर्ष नै आइसिटी प्रयोगशाला स्थापना तथा व्यवस्थापन भइसक्नुपर्ने भएपनि अहिलेसम्म कार्य सम्पन्न नहुनुले सरोकारवाला सबै दोषि रहेको भन्दै दोषिलाई कारवाही हुनुपर्ने स्थानीयले माग गरेका छन् । गाउँपालिकाबाट समेत काम भए नभएको अनुगमन नगरेरै भुक्तानी गर्नुले झन संका उब्जाएको श्रोतको भनाई छ । कोरोना भाइरसको महामारीको कारण त्यतिबेला अनुगमन गर्न नसकिएको र काम नगरि नक्कली बिल पेश भएको पाईएमा सम्बन्धित सबैलाई कारवाही हुने गाउँपालिकाले जनाएको छ ।
यो विषयमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष धिरेन्द्र साउँद, सम्झौता कार्यमा संलग्न शिक्षक प्रमानन्द बिष्ट लगायत सरोकारवालाहरुलाई सम्पर्क गर्न खोज्दा फोन नै नउठेकाेले प्रतिक्रिया लिन सकिएन । स्थलगत रिर्पोटिङ पछि थप जानकारी सम्प्रेषण गरिने रेडियो लोकदर्पणले जनाएको छ ।