नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सबै मन्त्री हटाएर मन्त्रिपरिषद पुनर्गठन गर्न प्रस्ताव गर्नुभएको छ ।
बालुवाटारमा आज भएको छलफलमा दाहालले प्रधानमन्त्री ओली समक्ष अपवादवाहेकका सबै मन्त्रीलाई विदा गरेर नयाँलाई ल्याउने प्रस्ताव गर्नुभएको स्रोतले जनाएको छ । तर दाहालको प्रस्तावमा प्रधानमन्त्री ओली सकरात्मक नरहनुभएको स्रोतको भनाइ छ ।
उहाले अहिले खाली रहेका मन्त्रालयमा मन्त्री नियुक्त गर्ने र केही मन्त्रालय फुटाएर मन्त्री बनाउनुपर्ने अडान राख्नुभएको छ ।त्यसैले नेकपा अध्यक्षद्वय ओली र दाहालबीचको छलफल मंगलवार पनि निष्कर्षविहीन बनेकोे छ ।
प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल मन्त्रिमण्डल पुनर्गठन, राजनीतिक नियुक्ति तथा पार्टी एकिकरणका बाँकी टुंग्याउनेलगायतका विषयमा गत बिहीबारदेखि निरन्तर छलफलमा रहनुभएको छ ।
मन्त्रिपरिषद् पुनर्गठनको मोडालिटी, मन्त्रीको जिम्मेवारी हेरफेरका विषयमा अध्यक्षद्वयबीच कुरा नमिलेपछि पछिल्लो छलफल निष्कर्षविहीन बनेका छन् ।




