दार्चुला । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा अब नियमित विमान चल्ने बताउनुभएको छ ।
शनिवार धनगढी विमान स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री भट्टराईले तत्काल पहाडका ३ जिल्लामा विमान पुग्ने र दार्चुलासहित बाँकी जिल्लामा पनि विमान पुर्याउने योजना रहेको बताउनुभयो ।
पहाडी ३ जिल्लाको हवाई उडान सेवाको परीक्षण उडानका लागि धनगढी पुगेका मन्त्री भट्टराईले पहिलो चरणमा बैतडी, डोटी र बझाङमा विमान सुरु हुने र त्यसलगत्तै दार्चुला र अछाममा पनि सुरु गर्ने योजना रहेको बताउनुभयो ।
बैतडी, डोटी र बझाङमा सातामा २ दिन विमान पु¥याउने लक्ष्य रहेको उहाँले बताउनुभयो । उहाँले सुदूरपश्चिम प्रदेशमा पहाडी जिल्लामा विमान सुरु भए सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले परीक्षण मात्रै नभई नियमित उडानसमेत हुने दाबी गर्नुभएको छ ।
शनिवार मन्त्री भट्टराई सहित १६ जना यात्रु लिएर धनगढीबाट जहाज डोटी पुगेको छ । टोलीमा मन्त्री भट्टराईसहित संघीय सांसदहरू र प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट समेत रहेका छन् ।
शनिवार नै डोटी, बैतडी र बझाङमा समेत परीक्षण उडानको उद्घाटन भइरहेको छ । परीक्षण उडान सफल भएपछि निजी विमान कम्पनीलाई पनि धनगढीलाई बेस बनाएर पहाडी जिल्लामा उडान सुरु गर्न आह्वान गरिने विमानस्थलले जनाएको छ ।
विगत २७ बर्षदेखि बन्द रहेको दार्चुलाको गोकुलेश्वर विमानस्थल सञ्चालन गर्ने काम शुरु नभएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।
यो पनि पढ्नुहोस : गोकुलेश्वर विमानस्थल निर्माण गर्न एक करोड बजेट
गोकुलेश्वर विमानस्थल निर्माण गर्न एक करोड बजेट, दार्चुलामा पर्यटन मन्त्रालयका ८ कार्यक्रम




