सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ। बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल प्रहरीसँगै सेना परिचालन गरिएको हो ।

महाकाली नगरपालिकाको वडा नं ४ र ५ को बजार सिल गरिएको भए पनि व्यापारीले कानूनको उल्लङ्घन गरेको भन्दै सुरक्षा समितिले सेनासमेत बजारमा खटाएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनुभयो ।

अहिले नेपाल प्रहरी र नेपाली सेनाले बजारमा रहेका पसल बन्द गराउने गरेका छन् ।  व्यापारीले भने सुरक्षाकर्मीलाई छलेर व्यापार गर्ने गरेका छन् । मङ्गलबार प्रमुख जिल्ला अधिकारी पोखरेल, सुरक्षा अधिकारीहरुले पनि बजार क्षेत्रको अनुगमन गर्नुभएको थियो ।

महाकाली नगरपालिकामा कोरोनाको सङ्क्रमण फैलिरहेका बेला बजार क्षेत्र निर्वाधरूपमा खुला हुँदा झन् जोखिम बढ्ने प्रजिअ पोखरेलले बताउनुभयो । आज मात्र नगरपालिकाका ५० जनामा कोरोना देखिएको छ । जिल्लामा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या २५० नाघेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्र्वाटरमा ६३ जनामा कोरोना देखिएपछि गण सिल गरिएको छ । सशस्त्रको गस्ती बन्द गरिएको छ । नगरपालिकाको मोहती क्षेत्र, बङ्गाबगडलगायतका क्षेत्रमा कोरोना दर बढ्दै गइरहेको छ । सुरक्षा मापदण्ड नपनाउँदा नगरपालिकाको बजार क्षेत्रमा कोरोना सङ्क्रमणको दर बढ्दै गएको जनस्वास्थ्य अधिकृत जयराज भट्ट बताउछन् ।

मङ्गलबार मात्रै दुहु गाउँपालिकामा एक पुरुषको कोरोनाका कारण मृत्यु भइसकेको छ । धनगढीमा उपचार गराउँदै आएका नेपाल प्रहरीका पूर्वकर्मचारीसमेत रहेका ती पुरुषको कोरोनाका कारण ज्यान गएको हो । जिल्ला प्रशासन कार्यालयले दुहुको वडा नं २ हिकिला क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

दुहुमा एक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भई आइसोलेसनमा बसिरहेकाले समुदायस्तरमा फैलिन नदिन सिल गरिएको हो । दशैँ, तिहारका कारण बजार क्षेत्रमा भीडभाड भने यथावत छ । बैंक, वित्तीय संस्था र कार्यालय खुला रहेका कारण बजारमा भीड बढेको हो ।

भारतबाट पेन्सन बुझ्ने व्यक्तिका कारण अहिले बजारमा भीड बढेको छ । पेन्सन बुझ्नेहरुका लागि तीन दिन नेपाल–भारत जोड्ने झोलुङ्गे पुल खुला गरिएको छ ।

अहिले महेन्द्रनगर, धनगढी, काठमाडौँ र भारतका विभिन्न शहरबाट आउने व्यक्ति क्वारेन्टिन नबसी सिधैँ गाउँ पठाइँदा गाउँमा समेत सङ्क्रमणको जोखिम बढेको छ । -रासस

सम्बन्धित खबर : दार्चुला कारागारका ३५ जनामा कोरोना संक्रमण

दार्चुलामा आज थप ५० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५० पुग्यो

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?