नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको पछिल्लो विवादलाई समाधान गर्न दोस्रो पुस्ताका नेताले सक्रियता बढाएसँगै आन्तरिक मतभेद केही मत्थर भएको छ । पार्टीको आन्तरिक विवादले पार्टी नै फुट्न सक्ने चर्चा हुन थालेपछि दोस्रो पुस्ताका नेताहरूले सक्रियता बढाउनुभएको हो ।

स्थायी कमिटी सदस्यहरू सुवास नेम्वाङ, देवेन्द्र पौडेल, शङ्कर पोखरेल, वर्षमान पुन लगायतका नेता सक्रिय भएपछि आन्तरिक विवाद समाधानतर्फ उन्मुख भएको भनाइ नेताहरूको छ । नेताहरूको सक्रियताकै कारण दुई अध्यक्षबीच संवाद हुने वातावरणसमेत बन्दै आएको छ ।

संसदीय दलका उपनेता नेम्वाङले जसले जसरी पनि पार्टी फुटाउन प्रयास गरे पनि पार्टी नफुट्ने दाबी गर्नुभयो । बाहिर हल्ला भएजस्तो पार्टीभित्र त्यत्रो ठूलो विवाद नरहेको बताउँदै उहाँले दुई अध्यक्ष चाँडै नै छलफल भएर अगाडि बढ्ने कुराकानी भइरहेको जानकारी दिनुभयो ।

नेताहरूको बीचमा औपचारिक संवाद नभए पनि अनौपचारिक छलफल घनीभूत रूपमा भइरहेको छ भन्दै उपनेता नेम्वाङले भन्नुभयो, “पार्टी फुट्नु हुन्न, फुट्न दिनु हुँदैन भन्ने कुरामा सबै नेता एकजुट छन्, केही कुरा मिलेको छैन, बसेर त्यसलाई मिलाएर जाने कुराकानी भइरहेको छ ।”

पार्टी एकता गर्नुअघि अध्यक्षद्वयले जनतासँग जे प्रतिबद्धता गर्नुभएको थियो त्यो पूरा गर्न अझै तयार हुनुहुन्छ, त्यसैले पार्टी फुट्ने होइन अझ परिस्कृत भएर अगाडि बढ्ने विश्वास उहाँको छ । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीका शीर्ष नेताबीचमा अनौपचारिक छलफल जारी छ, विभाजनभन्दा पनि एकतालाई अझै बलियो बनाएर जानेबारेमा कुराकानी भइरहेको छ भन्नुभयो ।

पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टी कुनै पनि हालतमा नफुट्ने बताउनुभएको छ । उहाँले पार्टी नफुट्ने मात्र होइन, नेकपाका अध्यक्ष ओली पाँच वर्ष प्रधानमन्त्री रहनुहुन्छ र अध्यक्ष ‘प्रचण्ड’ को नेतृत्वमा पार्टी सञ्चालन हुने बताउनुभयो ।

पार्टीभित्र देखिएको आन्तरिक विवादको समाधानका लागि नेताहरूको बीचमा चाँडै बैठक बस्ने बताउँदै उहाँले एउटा क्रियाशील र सक्रिय पार्टीमा अन्तरिक द्वन्द्व हुनु स्वाभाविक हो तर यसै कारणले मात्र पार्टी विभाजन हुँदैन भन्नुभयो । – गोरखापत्रबाट

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?