दार्चुला । नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहितका ५ शीर्ष नेताहरुले पार्टीको सचिवालय बैठक बोलाउन माग गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र बुझाएका छन् ।
तर, ओली अझैपनि टसमस नभएको बुझिएको छ । पार्टीको बैठक बोलाइनुपर्ने, यसअघि भएका निर्णय कार्यान्वयन गर्नुपर्ने, पार्टीसँग सरसल्लाहका आधारमा सरकारका गतिविधि सञ्चालन गरिदिनुपर्ने लगायतका विषय समेटेर ५ नेताले ओलीलाई लिखित पत्र बुझाएका हुन् ।
सो पत्र बुझाउन कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालय सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ शनिबार बालुवाटार पुगेका थिए ।
पार्टी एकता रक्षा गर्नका लागि समयमै समग्र विषयमा छलफल गर्न बैठक आवश्यक रहेकाले बैठक बोलाउन आग्रह गर्दै प्रधानमन्त्रीसँग लिखित आग्रह गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
प्रवक्ता श्रेष्ठका अनुसार प्रधानमन्त्रीले बैठक बोलाउने बारे केही नबोलेको बताउनुभयो ।
यद्यपी ५ नेता एक दुई दिनभित्र नै बैठक बोलाएर समस्याको हल खोजिनुपर्नेमा एकमत देखिएका छन् । पार्टीभित्र विवाद उग्र बनिरहेको बेला शुक्रबार सचिवालयका ५ नेताको छलफलले ओलीलाई भेटर बैठक बोलाउन आगह गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार नेताहरु बालुवाटार पुगेका हुन् । पार्टीभित्रको विवाद चर्किँदै जाँदा ओलीले बैठक नै नबोलाउने अडान लिँदै आएको नेताहरुले बताउँदै आएका छन् ।
यहीबीचमा ओलीले सार्वजनिक रुपमै पार्टीका नेताहरुविरुद्ध खनिँदै प्रसंगमै नरहेको आफ्नो राजीनामा माग्न थालिएको अभिव्यक्ति दिनुभएको थियो ।




