नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अर्को बैठक १३ गते शनिबार बस्ने निर्णय गरेको छ ।
अर्को बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बैठकको नयाँ प्रस्ताव तयार गरेर बैठकमा प्रस्तुत गर्नुहुने निर्णय भएको प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो । सचिवालय बैठकको विषयबारे थप छलफल र अनुमोदन गर्न १८ गते विहिबार स्थायी कमिटी बैठक बस्ने उहाँले जानकारी दिनुभयो ।
त्यस्तै, केन्द्रीय कमिटीको बैठक २५ गतेका लागि सार्ने निर्णय गरिएको छ । यसअघि केन्द्रीय कमिटी बैठक १५ देखि १७ गतेसम्म बस्ने तय भएको थियो ।
पार्टीको आन्तरिक संकटलाई निवारण गर्ने उद्देश्यले बसेको सचिवालय बैठकले उचित निर्णय गर्ने प्रवक्ता श्रेष्ठले बताउनुभयो । बैठकपछि पत्रकारलाई संक्षिप्त जानकारी दिनुहुँदै उहाँले यसअघि प्रस्तुत सबै प्रस्तावबारेमा छलफल गरी उचित निकास निकालिने बताउनुभयो ।
नेकपाको विवाद तत्काललाई केही मत्थर
सत्तारुढ नेकपाभित्रको विवाद तत्काललाई केही मत्थर भएको छ । दुवै पक्ष पूर्ववत् अडान र रणनीतिबाट केही पछि हटेपछि तत्काललाई पार्टी विभाजनको खतरा टरेको छ ।
यसअघि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली बुधबारको सचिवालय बैठक टार्ने पक्षमा हुनुहुन्थ्यो भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूह बैठकबाटै ओलीलाई दबाब दिने रणनीतिमा थियो । बालुवाटारमा दिउँसो १ बजे बोलाइएको बैठक टार्नकै लागि ओलीले त्यही समयमा बालुवाटारमै मन्त्रिपरिषद् बैठक डाक्नुभएको थियो ।
तर प्रचण्ड समूह जसरी पनि सचिवालय बैठक बस्ने तयारीमा रहेको र त्यही बेला मन्त्रिपरिषद् बैठक राख्दा विवाद झन् बढ्ने भएपछि ओली मन्त्रिपरिषद् बैठक १ घण्टा पछाडि सारेर सचिवालय बैठकमा बस्न तयार हुनुभएको हो ।
बुधबारको सचिवालय बैठक केही समयको लागि बसेर १० दिनसम्मका लागि स्थगित भएको छ । यसबीचमा विवाद समाधानको लागि शीर्ष नेताहरुले छलफल गर्नेछन् । सचिवालय बैठक स्थगित गरेर आपसी छलफलबाटै विवाद समाधान गर्न नेताहरू तयार भएका छन् । बुधबार सचिवालय बैठकअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नुभएको थियो ।
मङ्गलबार पनि राष्ट्रपतिसँग ओली र प्रचण्डले छुट्टाछुट्टै भेट गरेका थिए । भेटमा राष्ट्रपतिले मिलेर अघि बढ्न सुझाव दिनुभएको थियो ।
गएको शुक्रबार बसेको सचिवालय बैठकले प्रचण्डसहित पाँच नेताले बुझाएको लिखित अनुरोधपत्र, ओली र प्रचण्डको पत्र तथा प्रचण्डको राजनीतिक प्रतिवेदन अध्ययनपछि आजको लागि बैठकको मिति तय गरेको थियो । तर प्रचण्डले प्रस्तुत गरेको प्रस्तावमा आफूमाथि गम्भीर आरोप लगाएको भन्दै ओली र उहाँ पक्षका नेताहरु असन्तुष्ट छन् ।
प्रचण्डको प्रतिवेदनमा ओली सरकारले बजेटअघि राजस्वको दररेटसम्बन्धी सूचना चुहाएर अनियमितता गरेको, न्यायपालिकाका प्रमुखलाई राजनीतिक रूपमा प्रयोग गर्ने प्रयास गरेको, विमति राख्ने नेतालाई प्रतिशोध साँध्न राज्य शक्तिको दुरुपयोग गरेको आराेप छ ।
त्यस्तै भ्रष्टाचारका अनेक प्रकरण भए पनि अख्तियार प्राप्त निकायबाट छानबिनसमेत नगराइ प्रधानमन्त्रीबाटै निर्दोष घोषणा भएको, एमसीसीबारे प्रतिवेदनमा छलफल नगरि बजेटमा समावेश गरिएको, समकक्षी नेतालाई कहिले प्रलोभन, कहिले धम्की दिने गरेको र चरम व्यक्तिवादी प्रवृत्ति हावी भएको प्रतिवेदनमा लेखिएकाे छ ।
यो प्रस्ताव फिर्ता हुनुपर्ने ओली पक्षको माग छ । तर प्रचण्ड र नेपाल समूहले पनि प्रस्ताव फिर्ता नहुने अडान लिएका छन् । अब सचिवालय बैठक बस्नुअघि यो लगायतका अरु विवाद समाधान हुने नेताहरूको दाबी छ ।





प्रतिक्रिया