दार्चुला सदरमुकाम खलंगा देखि २३ कोष टाढा रहेको अपिहिमाल गाउँपालिकाभित्र साविकको खण्डेश्वरी र घुसा गाविस पुरै र गुल्जर र शितोला गाविसको केहि भाग समेटेर ६ वडामा विभाजन गरिएको छ । ६१३.९५ बर्ग किलोमिटर क्षेत्रफल रहेको गाउँपालिकाको पुर्वमा बझाङ जिल्ला, पश्चिममा नौगाड गाउँपालिका, दक्षिणमा मार्मा गाउँपालिका र उत्तरमा व्यास गाउँपालिका रहेका छन ।
करिब ६७७९ जनसंख्या रहेको अपिहिमाल गाउँपालिकामा सुदूरपश्चिमकै अग्लो हिमाल अपीहिमाल सहित नाम्पा, कापचुली र जेठी बौरानी लगायत हिमालहरु अवस्थित छन् । भौगोलिक विकटतासंगै विविधतायुक्त अपिहिमालमा कृषि र पर्यटनको प्रचुर सम्भावना रहेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट स्थानीय तहको निर्वाचनमा अपिहिमाल गाउँपालिका अध्यक्ष पदमा निर्वाचित धर्मानन्द मन्याल (डिएन घाजिरेल) प्रखरवक्ता, समाजसेवी र नेकपा दार्चुलाको बौद्धिक युवा नेताको रुपमा चिनिनुहुन्छ ।
यसै सन्दर्भमा प्रस्तुत छ, अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालसंग गर्नुभएको संक्षिप्त कुराकानी :-
१. अपिहिमालबासी समक्ष चुनावी प्रतिवद्धताहरु के के गर्नु भएको थियोे ? के के पुरा भए ?
चुनावी प्रचारप्रसारको क्रममा खासगरी हामीले चार÷पाँच वटा प्रतिवद्धाताहरु जाहेर गरेका थियौँ । त्यो भित्र सबैभन्दा पहिले शिक्षा क्षेत्रमा चन्दा उठाएर विद्यालय चलाउने चलन थियो त्यसको अन्त्य गर्छौ भनेका थियौँ, शिक्षक व्यवस्थापन गरेर त्यो अन्त्य गरेका छौँ । दोस्रो कुरा छ वटै वडामा बर्थिङ सेन्टर सञ्चालन गर्छौ भनेका थियौँ, सबै वडामा बर्थिङ सेन्टर बनिसकेका छन् । तेस्रो कुरा उज्यालो अपि अन्तरगत सबै घरधुरीमा विद्युतिकरण गर्ने प्रतिवद्धता गरेका थियौँ, त्यसका लागि राष्ट्रिय प्रसारणको लाइन विस्तारमा ढिलाइ भएपछि दुई सय किलोवाटका पाथा घट्टेखोलो र मट्टेखोला जलविद्युत आयोजना निर्माण गरिरहेका छौँ । निर्माणाधिन जलविद्युत आयोजना छ/सात महिनामा सम्पन्न भएपछि अपिहिमाल उज्यालो हुनेछ ।
चौथो कुरा प्रतेक घरमा खानेपानीको धारा निर्माण गर्ने भनेका थियौँ, पौने १३ सय घरधुरीमध्ये अहिलेसम्म सात सय घरधुरीमा धारा निर्माण गरिसकेका छौँ र बाकी घरधुरीमा समेत कार्यकालभित्र खानेपानी पुर्याउने लक्ष्यका साथ काम गरिरहेका छौँ । पाचौँ कुरा भनेको अपिको बस्ती हिलोमुक्त बस्ती भनेर आरसिसि बाटोहरु निर्माण गर्ने प्रतिवद्धता थियो र सोहि अनुसार अहिलेसम्म ११ किलोमिटर बाटो निर्माण गरिसकेका छौँ, बाकी यो वर्ष भित्र सम्पन्न गर्ने तयारीमा छौँ । अर्को कुरा भनेको जेष्ठ नागरिक र सामाजिक सुरक्षा पाउने नागरिकहरुको भत्ता घरघरमै बुझाइरहेका छौँ र यो वर्षदेखि बैंकिमार्फत भुक्तानी गर्नुपर्ने भएकोले घरमै भत्ता पुर्याउन अप्ठ्यारो भएको छ ।
२. निर्वाचित भएको तीन वर्ष बित्यो, यो वीचमा खास गरेर सम्झनयोग्य काम के भए ?
सकारात्मक रुपमा सम्झिनयोग्य शिद्ध मकरीकोट पदमार्गलाई नयाँ ढंगले परिभाषित गरेर देशभरी पहिचान दिन सफल भएका छौँ । अर्को कुरा समाजिक सुरक्षाभित्र नसमेटिएका असहाय जनताहरुलाई समेट्नुपर्छ भनेर गतवर्षदेखि बिदुर र एकल पुरुषलाई समेत सामाजिक सुरक्षा भत्ता दिन थालेका छौँ । साथै नकारात्मक रुपमा सम्झिनयोग्य भनेको तीन वर्षसम्म पनि प्रयाप्त कर्मचारी पाएनौँ जसले गर्दा काममा धेरै समस्या झेल्नुपरेको छ ।
३. गाउँपालिकामा कर्मचारीको दरबन्दी कति थियो र पदपुर्ती कति छ ?
पदपुर्ती भनेको अहिले हामीसंग तीन जना नायब सुब्बा हुनुहुन्छ, एक जना सहायक लेखापाल र एक जना खरिदार छन् । छैटौँ तहको शाखा अधिकृत नभएर लामो समयदेखि पाचौँ तहको नायब सुब्बाले प्रमुख प्रशासकिय अधिकृतको काम गर्दैआउनुभएको छ । केहि वडाहरुमा सचिव कार्यरत छन् । बाँकी सबै पद रिक्त रहेका छन् ।
४. गाउँपालिका केन्द्रसम्म सडक, विद्युत लगायत आधारभुत पुर्वाधारको समेत पहुच पुगेको छैन, अपिहिमालवासीको गाउँमै गाडी चढ्ने र बिजुली बाल्ने सपना कहिले पुरा हुन्छ ?
गाउँपालिकाको छ वटा वडामध्ये पाँच वडामा सडकले छोएको समेत छैन, यो बडो जटिल प्रश्न हो जस्तो मलाइ लाग्छ । भगौलिक विकटता र कडा चट्टानी भूभाग भएकोले गाउँपालिकाको बजेटले मोटेरेवल सडक काट्न सकिने सम्भावना छैन् । अहिले संघीय सरकारको सहयोगमा निर्माणाधिन अपिहिमाल जोड्ने एक मात्र सडक मार्मादेखि अपिहिमालको वडा नम्बर ५ मकरीगाडसम्म पुगेको छ । त्यो सडकमा समेत अहिलेसम्म प्रयाप्त बजेट विनियोजन भएको छैन् । गत वर्षदेखि पौने दुई करोड बजेट प्राप्त भएकोमा अहिले मकरीगाडबाट अगाडीको क्षेत्रमा सडक निर्माणको काम भइरहेको छ । विद्युतमा राष्ट्रिय प्रसारणको लाइन पनि विस्तार भइरहेको र ग्रामिण जलविद्युत समेत निर्माणाधिन अवस्थामा रहेकोले यो वर्षभित्र गाउँपालिकामा विद्युली बल्ने बिस्वास गरेका छौँ ।

५. अपिहिमाल गाउँपालिकालाई समृद्ध बनाउने अल्पकालिन र दीर्घकालिन योजना के के ल्याउनु भएको छ ?
अल्पकालिन योजना भनेको प्रतेक घरमा खानेपानीको धारा, विद्यालयमा शिक्षक, स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी र पुर्वाधार विकास लगायतको व्यवस्थापन गरिरहेका छौँ । यो समृद्धिको एउटा आधार हो । दिर्घकालिन योजना अन्तरगत अपिहिमाललाई पर्यटकीय गन्तब्य बनाउन खोजिरहेका छौँ । क्रमागत आयोजना अन्तरगत बहुउद्धेश्यिय शिद्ध मकरीकोट पदमार्गलाई अपि बेसक्याम्पसम्म आधुनिक ढंगले विकास गर्ने गरी त्यसको विस्तृत अद्ययन प्रतिवेदन (डिपिआर) तयार गरेका छौँ । आठ हजार दुई सय ८२ खुट्कीला हुने यो पदमार्गको चार करोड लागत अनुमान गरिएको छ । गत वर्ष संघीय सरकारको डेढ करोड विशेष अनुदान र अहिले प्रदेश सरकारको समपुरक बजेटबाट पदमार्ग निर्माणाधिन छ । दोस्रो योजना भनेको अहिलेसम्म सञ्चारमा पछि परेको अपिहिमालमा टावर निर्माण गरेर इन्टरनेट सेवा विस्तार गर्ने रहेको छ । जसअन्तरगत वडा नम्बर ३ पाथाको स्याउखानी र वडा नम्बर ६ को सितोलामा केहि दिन भित्रै टावर निर्माण सम्पन्न गरेर सञ्चार सेवालाई स्तरोन्नती गर्ने लक्ष्य लिएका छौँ ।
६. अपिहिमाल जडिबुडीको भण्डारका रुपमा चिनिन्छ, स्थानीय स्तरमा उत्पादित कच्चापदार्थको बहुउपयोगिताका लागि प्रयासहरु किन भएनन ?
जडिबुडीलाई संकलन गर्ने, प्रशोधन गर्ने, संकलन केन्द्र निर्माण गर्ने र उद्योगकै रुपमा विकास गर्ने हाम्रो शुरु देखिको सोचाइ थियो । तर अपि नाम्पा संरक्षण क्षेत्रभित्र जल, जंगल, जमिन परेको र हाम्रो पूर्ण अधिकार नभएको तथा संरक्षण क्षेत्रबाट अपेक्षित सहयोग र सहकार्य नभएको कारण जडिबुडीको उचित सदुपयोग हुन सकेको छैन् । अपिनाम्पा संरक्षण क्षेत्रले सहयोग गरे दिर्घकालिन योजना तयार गरेर अघि बढ्ने मेरो सोचाई छ ।

७. प्रदेश र संघ सरकारसंग के कस्ता समन्वय भएका छन् ?
प्रदेश र संघ सरकारबाट जुन ढंगको बजेट आउनुपथ्र्यो, दुर्गमताको हिसाबले जसरी प्राथमिकतामा पर्नुपर्थो, प्रधानमन्त्री ज्यु ले पाँच वर्षभित्र पिच सडक पालिकामा पुर्याउछौँ भन्ने कुरा गर्नुभएको थियो त्यो ढंगको व्यवहार नभएको महसुस भएको छ । समपुरक, विशेष, समान्यिकरण अनुदान र राजश्व बाँडफाँड बाहेक न केन्द्र सरकारले राम्रोसंग हेरेको छ, न त प्रदेशले नै । प्रदेशले त अझ हेर्नै सकेको छैन । प्रदेशबाट तीन÷चार लाखका कार्यक्रमबाहेक मेघा प्रोजेक्ट एउटा पनि परेको छैन् ।
८. सूशासनको अवस्था कस्तो छ ?
सूशानसनका लागि जुन ढंगले प्रतिवद्धता गरेका थियौँ, त्यो ढंगले काम गर्न सकेका छैनौँ, यो हाम्रो सबैभन्दा कमजोर पक्ष हो । किनभने सूशासन कायम गर्न कमसेकम कार्यालयमा कर्मचारीको पुर्ती हुनुपथ्र्यो त्यो हामीले अहिलेसम्म पुर्ती गर्न सकेका छैनौँ । जनताको दैनिक काम र सूशासनमा भुमिका खेल्ने कर्मचारी अपुग हुदा सूशासनमा प्रतिवद्धता गरेभन्दा पछि छौँ । तरपनि अरु पालिकासंग तुलना गर्दा सूशासनको अवस्था ठिकै छ ।
९. कोरोना नियन्त्रण र उपचारका लागि के के काम गर्नुभयो ?
हामीले शुरु देखि नै क्वारेन्टाइन व्यवस्थापन देखि आइसोलेसन र होम आइसोलेसनको निकै पेचिलो ढंगले तयारी गरेका थियौँ । बाहिरबाट आउने मानिसहरुको अहिलेसम्म लर्को लागेको पनि छैन् । त्यसो भएर अहिलेसम्म गाउँपालिकाभित्र एक जनामा पनि संक्रमण भएको छैन् । अझैपनि अपिहिमाल गाउँपालिकामा कोरोना भित्रिदैन भन्नेमा आसाबादी छौँ ।
१०. अपिहिमाल गाउँपालिकाको वार्षिक बजेट र आन्तरिक आम्दानी कति छ ?
भगौलिक हिसाबले दार्चुलाको दोस्रो ठूलो स्थानीय तह भएपनि जनसंख्या कम भएको कारणले अपिहिमाल गाउँपालिकामा दार्चुलाको सबै स्थानीय तहभन्दा कम बजेट विनियोजन हुदै आएको छ । गत आर्थिक वर्षमा कुल बजेट २८ करोड रहेकोमा चालु आर्थिक वर्षमा ३३ करोड ६१ लाख ६३ हजार ६६० रुपैँया रहेको छ । गत आर्थिक वर्षभरी २३ लाख आन्तरिक राजश्व संकलन तथा आम्दानी भएकोमा चालु आर्थिक वर्षको हालसम्म १० लाख १४ हजार ९९ रुपैँया आम्दानी भएको छ ।

यो कुराकानी आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।






