भारतबाट सेनाध्यक्ष मनोजमुकुन्द नरभणे र खुफिया एजेन्सी ‘रअ’ प्रमुख सामन्त गोयलको भ्रमणपछि अर्को छिमेकी चीनबाट रक्षामन्त्री जनरल वेई फेङ्गे दुईदिने औपचारिक भ्रमणमा नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय र जंगी अड्डाले उनको भ्रमणका लागि आ–आफ्ना तयारी तीव्र पारेका छन् । पछिल्लोपटक भारतबाट उच्च सुरक्षा अधिकारीहरूको भ्रमण भएलगत्तै चीनबाट पनि रक्षामन्त्रीको भ्रमण हुन लागेको छ ।

कोभिड– १९ को विश्वव्यापी महामारीपछि नेपाल आउन लागेका जनरल वेई सबैभन्दा वरिष्ठतम् चिनियाँ अधिकारी हुन् । जनरल वेई पहिलो वरीयताका चिनियाँ स्टेट काउन्सिलर हुन् । तर, विदेशमन्त्री रहेका वाङ यी तेस्रो वरीयताको स्टेट काउन्सिलर हुन् । उच्च कूटनीतिक स्रोतका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङको पछिल्लो नेपाल भ्रमणका वेला घोषणा भएको रणनीतिक साझेदारीको कार्यान्वयन एवं दुई देशबीचका सुरक्षा एवं राजनीतिक मुद्दामा छलफलका लागि चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण हुन लागेको हो ।

भारतीय विदेशसचिव हर्षबर्धन शृंगला परिचयात्मक सद्भावना भ्रमणका लागि ११ मंसिरमा काठमाडौं आउँदै छन् । उनी १२ मंसिरमा फर्कनेछन् । उनी फर्केको पर्सिपल्ट १४ मंसिरमा चिनियाँ रक्षामन्त्रीलाई स्वागत गर्ने नेपालको तयारी छ । यद्यपि, शुक्रबार अबेरसम्म भारतीय विदेशसचिव तथा चिनियाँ रक्षामन्त्रीको भ्रमणबारे नेपाल, भारत र चीन कसैले पनि मिति सार्वजनिक गरेका छैनन् ।

उच्च सरकारी स्रोतका अनुसार रक्षामन्त्री वेई नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६५औँ वर्षगाँठ मनाउने सिलसिलामा नेपाल भ्रमण गर्न लागेका हुन् । सन् १९५५ अगस्ट १ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । उच्च सुरक्षा स्रोतले भ्रमणको पुष्टि गर्दै २९ नोभेम्बर (१४ मंसिर)का लागि उपत्यकाको सुरक्षा व्यवस्था थप मजबुत बनाउने निर्देशन प्राप्त भएको जनाएको छ । ‘विशेष गरी काठमाडौं उपत्यकामा रहेका तिब्बती शरणार्थी शिविरहरूको निगरानी बढाउने र चीनविरोधी गतिविधि हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यहीअनुसार सुरक्षा प्रबन्ध गर्ने भन्ने निर्देशन छ,’ उच्च सुरक्षा स्रोतले भन्यो ।

उनी एक रात काठमाडौं बस्ने सम्भावना रहेको भन्दै सुरक्षा तयारी गरिएको छ । अहिलेसम्मको तयारीअनुसार उनले आएकै दिन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्नेछन् । रक्षामन्त्रीको भ्रमण सदस्यमा विदेश मन्त्रालयका अधिकारी एवं सिचुआन प्रान्तस्थित चिनियाँ सेनाको साउदर्न थिएटर कमान्डसम्बद्ध सैनिक अधिकारीसमेत सामेल हुने उच्च सैनिक स्रोतले बतायो ।

रक्षामन्त्री हुँदा उपप्रधानमन्त्री ईश्वर पोखरेलको चीन भ्रमणका क्रममा चिनियाँ सरकारले नेपाली सेनालाई प्रकोप व्यवस्थापनका लागि दिने घोषणा गरेको दुई अर्ब ४० करोड नेपाली रुपैयाँ (१५ करोड चिनियाँ युयान) बराबरको सहयोग पनि यसबीचमा आएको छैन । यी सबै विषयमा भ्रमणका वेला छलफल हुनेछ ।

नेपालबाट भने कोभिड महामारीपछि पहिलोपटक परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणको तयारी छ । रक्षामन्त्री वेईको भ्रमणपछि मंसिर अन्तिम साता परराष्ट्रमन्त्री ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन भारत भ्रमणमा जाने तयारी भइरहेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?