बाबुराम भट्टराईसहित ३३ सांसदले फिर्ता गरेनन् दसैं भत्ता

गत कात्तिक पहिलो साता सांसदहरुले दसैं भत्ता लिएको समाचारले धेरैको ध्यान तान्यो । यो विषयलाई सामाजिक सञ्जालमा बहसको विषय बनाउन पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले पनि भूमिका खेले ।

त्यसबेला डा. भट्टराईले दसैं भत्तासँग जोडिएर तीनवटा ट्वीट गरेका थिए । जहाँ उनले सांसदको मात्रै नभएर सरकारी कर्मचारीको समेत दसैंमा वितरण हुने अतिरिक्त तलब भत्ता रोक्न माग गरेका थिए । सर्वत्र आलोचना भएपछि सांसदहरुले धमाधम दसैं भत्ता फिर्ता गरे । तर, तिनै डा. भट्टराईले भने अझैसम्म दसैं भत्ता फिर्ता गरेका छैनन् ।

संसद सचिवालय स्रोतका अनुसार दसैं भत्ता फिर्ता नगर्ने संसदहरुमा डा. भट्टराई एक्ला सांसद भने होइनन् । भट्टराईको पार्टी जनता समाजवादी पार्टी (जसपा) एकजना बाहेक सबै सांसदले दसैं भत्ता फिर्ता गरेका छैनन् । हाल जसपाका ३४ सांसद छन् । तीमध्ये हरिनारायण रौनियार निलम्बनमा छन् भने रेशम चौधरी जेलमा छन् ।

संसद सचिवालय स्रोतका अनुसार जसपाका सांसद महेन्द्र राय यादवले दसैं भत्तावापतको ६४ हजार ७० रुपैयाँ कोरोना कोषमा जम्मा गरेका छन् । दसैं भत्ता फिर्ता गर्ने उनी जसपाका एक्ला सांसद हुन् । यादवले व्यक्तिगतरुपमा संसद सचिवालयलाई चिठी लेखेर दसैं भत्ता वापतको रकम कोरोना कोषमा जम्मा गर्न आग्रह गरेका थिए । जसपाका नेता एकवाल मियाँ दसैं भत्ता वापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय पार्टीले गरेको तर, चिठी पठाउन बाँकी रहेको बताउँछन् ।

संसद सचिवालयका अनुसार डा. बाबुराम भट्टराईसहित तत्कालीन समाजवादी पार्टीका १६ जना सांसदले १५ दिनको तलब पनि कोरोना कोषमा जम्मा गरेका छैनन् । नेपालमा कोरोना भाइरसको संक्रमण फेला परेपछि रकम जोहो गर्न भन्दै ०७६ चैतमा नेकपा, नेपाली कांग्रेस, तत्कालिन राजपा नेपालका सांसदहरुले १५ दिनको तलब कोरोना कोषमा जम्मा गरेका थिए । त्यसबेला डा. भट्टराई तत्कालिन संघीय समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष थिए ।

‘१५ दिनको तलब कोरोना कोषमा जम्मा गर्ने भनेर अन्य पार्टीको पत्र आयो तर, तत्कालीन समाजवादीका कुनै सांसदले न व्यक्तिगत रुपमा पत्र पठाए, न त पार्टीका तर्फबाट । त्यसकारण, उहाँहरुको १५ दिनको तलब कोरोना कोषमा गएको छैन’ सचिवालय स्रोतले भन्यो । ‘के गर्ने ? भनेर पटक–पटक भनियो तर, पार्टीको चिठी नआएसम्म केही नगर्नु भन्ने उतिबेलाको जवाफ थियो’ संसद सचिवालयका एक कर्मचारीले भने । –अनलाइनखबर

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?