दार्चुला । नेपाल टेलिकमले दार्चुला जिल्लाभरी १२ वटा टावरबाट चौथो पुस्ताको इन्टरनेट तथा फोर जी सेवा दिइरहेको छ । दार्चुला सदरमुकाम खलंगालगायत ग्रामिण भेगमा पनि टेलिकमको फोर जी सेवा पुगेको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्ण बहादुर गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाल टेलिकमको दार्चुला सदरमुकाम क्षेत्रको बागांबगर र खलंगा स्थित कार्यालय नजिकैको टावरबाट फोर जी सेवा प्रवाह भइरहेको छ । यसैगरी पस्ती, आगर, गोकुलेश्वर, कुचाकोट, ऐरिछाना, उल्लेनी, धाप, रानीशिखर, खण्डेश्वरी र सिप्टी गरी हालसम्म १२ वटा टावरहरुबाट फोर जी सेवा प्रवाह भइरहेको गुरुङले बताउनुभयो ।
फोर जी को टावर कभरेज भएको स्थानमा उच्चगतिको इन्टरनेट सेवा प्रवाह भइरहेको भएपनि जिल्लाको अधिकासं भूगोल र जनसंख्या अझैपनि प्रभावकारी सञ्चारको पहुँच बाहिर रहेको छ । जिल्लाभरी २५ टावरबाट नेपाल टेलिकमले फोन र इन्टरनेट सेवा प्रवाह गरिरहेको भएपनि भगौलिक विकटता, विद्युत अभाव लगायत समस्याका कारण अधिकासं नागरिक सेवाबाट बञ्चित रहेको टेलिकम दार्चुलाका प्रमुख गुरुङले स्वीकार गर्नुभयो । सूचना, प्रविधिमा भइरहेको परिवर्तन र आधुनिकतासंगै इन्टरनेट प्रयोगकर्ताको संख्यामा भने तिब्र गतिमा बृद्धि भइरहेको उहाँको भनाई छ ।
टेलिकमले जिल्लाभरी आफ्नो क्षमता विस्तार गर्न टावर निर्माण र स्तरोन्नतीको काम गरिरहेको छ । अहिले नौगाडको धुलिगडा, अपिहिमालको स्याउखानी र सितोला गरी तीन स्थानमा टावर निर्माणाधिन अवस्थामा रहेको नेपाल टेलिकम दार्चुलाले जनाएको छ । १२ टावरबाट फोर जी र बाकी १३ टावरबाट टु जी र थ्रि जी सेवा प्रवाह भइरहेको टेलिकम दार्चुलाका प्राविधिक प्रलाद अधिकारीले बताउनुभयो ।
रातीको समयमा फोन नलाग्ने समस्या
दार्चुलाको लेकम क्षेत्रमा दिउँसो मात्रै मोबाइल नेटवर्कले काम गर्ने र बिहान, बेलुकी तथा रातीको समयमा नेटवर्क अभावमा फोन सम्पर्कबाट समेत बञ्चित हुनुपर्ने अवस्था रहेको लेकम गाउँपालिका–३ लाली का स्थानीय डम्बर भण्डारीले गुनासो गर्नुभयो । टेलिकमको कैनोडास्थित टावरसम्म विद्युतिकरण नहुदा घाम अस्ताएसंगै नेटवर्क समेत हराउने गरेको स्थानीयको गुनासो छ । लेकम गाउँपालिकाका अधिकासं वडामा अहिले पनि रातीको समयमा फोन सेवाबाट बञ्चित हुनुपर्ने अवस्था कायमै रहेको छ ।
लेकम गाउँपालिकाको वडा नम्बर ४ कैनोडा र वडा नम्बर ६ उचाकोटमा नमस्तेको टावर भएपनि लेकम गाउँपालिकाका दर्जन बढी बस्ती अहिले पनि फोनबाट वञ्चित रहेका छन् । यहाँका स्थानीयले वर्षौदेखि टेलिफोन नलाग्ने समस्या भोग्नुपरेको उहाँले गुनासो गर्नुभयो । विगतमा स्काई फोनले केहि ठाउँमा काम गथ्र्यो अहिले त फोनको नेटवर्क आउदैन् । नेटवर्क आएपनि प्रभावकारी भएको छैन् । दार्चुलाको लेकम मात्र हैन, सबै स्थानीय धेरै भूभागमा रातीको समयमा फोन नलाग्ने समस्या कायमै रहेको छ ।
८३ हजार प्रयोगकर्ता
दार्चुला जिल्लाभरी सिडिएमए (स्काई) का ३४ हजार पाँच सय र जिएसएम (नमस्ते) का ४८ हजार गरी कुल ८२ हजार पाँच सय सिमकार्ड प्रयोगकर्ता छन् । यस्तै सात सय ७६ जनाले ल्याण्डलाइन टेलिफोन सेवा पाएकोमा चार सय ८९ जनाले एडिसिएल इन्टरनेट प्रयोग गर्ने गरेको प्राविधिक प्रलाद अधिकारीले बताउनुभयो ।





