अनुमानका पछि लागेर शेयरमा लगानी नगर्नुहोस् : धितोपत्र बोर्ड

दार्चुला । शेयर बजारमा पछिल्लो समय तीव्र वृद्धि भइरहँदा नियामक निकाय नेपाल धितोपत्र बोर्डले भने सजग र सुसूचित भएर मात्रै लगानी गर्न आग्रह गरेको छ ।

बोर्डले विज्ञप्तिमार्फत सूचीकृत सङ्गठित संस्थाको वित्तीय अवस्था, ती संस्थाहरुको आधारभूत तथा प्राविधिक पक्ष, ऐन नियमको पालनाको अवस्थाका साथै समग्र वित्तीय तथा आर्थिक परिसूचक लगायतका विवरणहरूको विश्लेषण गरी लगानीसम्बन्धी निर्णय लिनु लगानीकर्ताको हितमा हुने भन्दै सजग रहन आग्रह गरेको हो ।

बोर्डले भनेको छ, ‘धितोपत्र बजारमा लगानी गर्दा हल्ला र अनुमानका पछाडि नलागी विश्व अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्र तथा सूचीकृत सङ्गठित संस्थाहरूको वित्तीय स्थितिको विश्लेषण, संस्थागत सुशासनको अवस्था एवं लगानीकर्ताको जोखिम बहन गर्न सक्ने क्षमता तथा आफ्नो लगानीको सुरक्षा आदि समेतलाई दृष्टिगत गरी सजग भइ सुझबुझपूर्ण रूपमा लगानी गर्न सम्पूर्ण लगानीकर्तालाई बोर्ड हार्दिक अनुरोध गर्दछ ।’

देशको अर्थतन्त्रको विकासमा पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहने सन्दर्भमा बोर्डले पूँजी बजारको विकास र विस्तार गर्दै यसको सूक्ष्म रूपमा अनुगमन तथा सुपरीवेक्षण गरिरहेको जनाएको छ ।

अहिले प्राथमिक बजारमा आठ लाखभन्दा बढी लगानीकर्ता, डिम्याट खाताको सङ्ख्या २१ लाख ८० हजार रहेको तथा नेप्सेको अनलाइन कारोबार प्रणालीबाट ८५ प्रतिशतभन्दा बढी कारोबार हुने गरेकाले नेपालको धितोपत्र बजारमा पछिल्लो समय लगानीकर्ताको सहभागितामा उल्लेख्य वृद्धि भएको बोर्डको भनाइ छ ।

पछिल्ला केही दिनमा दोस्रो बजारमा कारोबार रकम र नेप्से सूचक अहिलेसम्मको उच्च अङ्कमा पुग्नु खुसीको कुरा भए पनि लगानीकर्ताले सचेत भएर लगानी गर्नुपर्ने बोर्डको भनाइ छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?