दार्चुला । दार्चुलामा आईतबार राती ट्रक दुर्घटना हुदा चालकसहित तीन जना पुरुषको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वर बाट दार्चुला सदरमुकाम खलंगा तर्फ जादै गरेको ना ३ ख ३४८५ नम्बरको खाली ट्रक मालिकार्जुन गाउँपालिका वडा नम्बर १ भर्तोलामा दुर्घटना हुदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ५ का ट्रक चालक शेरसिंह कार्की र सोही गाउँपालिका वडा नम्बर ६ का धनसिंह भण्डारीको पहिचान खुलेको छ । मृतक एक जना पुरुषको भने पहिचान खुल्न बाकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
आईतबार राती १० बजे ट्रक दुर्घटनामा परेको खबर प्रहरीलाई आएपछि धाप प्रहरी चौकी र दत्तु प्रहरी चौकीलाई दुर्घटना स्थलमा परिचालन गरिएको थियो ।
प्रहरीले राती साढे १२ बजे तिर ट्रक खोल्सामा खसेको र तीन जनाको मृत्यु भइसकेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । एक बजे शव उद्धार गरी जिल्ला अस्पताल दार्चुला लगिएको थियो । ट्रक सडकबाट झण्डै १ सय २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
चालकको लाइसेन्सको आधारमा पहिचान खुलेको र उहाँको परिवारका सदस्यलाई खबर गरेपछि आफन्त दार्चुला आइपुगेका छन् । पहिचान खुल्न बाकी मृतक पुरुषको परिचय खोजि भइरहेको छ । मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको छ ।
सम्बन्धित समाचार : दार्चुलामा ट्रक दुर्घटना हुदा चालकसहित तीन जनाको मृत्यु





प्रतिक्रिया