दार्चुला । नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन कार्यतालिका कोभिड-१९ को सङ्क्रमणका कारण प्रभावित भएपछि महाधिवेशनको मिति संशोधन गर्ने तयारी गरेको छ ।
कांग्रेसले गएको असार २२ गते केन्द्रीय महाधिवेशन आउँदो फागुन ७ देखि १० गतेसम्म गर्ने गरी कार्यतालिका निर्धारण गरेको थियो ।
कोभिड-१९ कारण कार्यतालिकाअनुसारको क्रियाशिल सदस्यता र पार्टीको अन्तरिम संरचना समायोजन तालिका प्रभावित भइसकेको छ । पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरण कार्य निर्धारित समयमै सम्पन्न नभएपछि अन्य अधिवेशन पनि प्रभावित हुने निश्चित छ ।
त्यही कारण यही मङ्सिर अन्तिममा हुने केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशन कार्यतालिका संशोधन गरिने पार्टी कार्यालयले जनाएको छ । कांग्रेसको विधानअनुसार आउँदो फागुन २० गतेसम्म १४ औँ महाधिवेशन उद्घाटन गरिसक्नुपर्छ । कांग्रेसको विधानमा पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूको पदावधि चार वर्षको हुने र असाधारणस्थिति भएमा केन्द्रीय कार्यसमितिले त्यसको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउनसक्ने उल्लेख छ ।
कांग्रेसको १३ औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्ममा काठमाण्डौमा भएको थियो । कांग्रेसले कोभिड-१९ को वर्तमान विषम परिस्थितिमा अब नेपालको संविधानमा भएको व्यवस्थाको सहारा लिएर महाधिवेशनको मिति सार्ने जनाएको छ ।
कांग्रेस सहमहान्त्री डा प्रकाशशरण महतले पनि फागुनमा महाधिवेशन गर्न कठिन देखिएको उल्लेख गर्दै भन्नुभयो, मङ्सिरभित्र क्रियाशील सदस्यता विवरण केन्द्रमा पठाउने भनेको हो, केही ठाउँबाट त आउला, तर सबै ठाउँमा सम्पन्न हुन कठिन देखिरहेको छु । उहाँले मङ्सिरसम्ममा क्रियाशील सदस्यताको विवरण आएपछि केन्द्रीय समिति बैठकमा समीक्षा हुने र फागुनमा महाधिवेशन हुने नहुने सम्बन्धमा निर्णय गरिने बताउनुभयो ।
महाधिवेशन कार्यतालिकाअनुसार कांग्रेसले गएको साउन १० गतेभित्र समायोजन हुन बाँकी रहेका जिल्लाको पार्टीको अन्तरिम संरचना समायोजना गरिसक्नुपर्ने र केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावली अन्तिम सूची मङ्सिर मसान्तभित्र केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि तोकेको थियो । दुवै कार्यको निर्धारित मिति प्रभावित भइसकेको छ ।





प्रतिक्रिया