दार्चुला जिल्लाको विकट गाउँपालिकाहरुमध्येको लेकम गाउँपालिका छ वटा वडामा विभाजित छ । २०७३ साल फागुन २७ गते स्थापना भएको लेकम गाउँपलिकाको क्षेत्रफल ८३.९८ वर्ग किलोमीटर रहेको छ । साबिकका चार वटा गाविस (खरकडा, लाली, रिठाचौपाता र सर्मोली) मिलेर बनेको यो गाउँपालिकाको जनसंख्या १४ हजार आठ सय ३८ रहेको छ । महाकाली र चमेलिया नदीसंग सिमाना जोडिएको यो गाउँपालिकामा अन्तराष्ट्रिय नाकाको सम्भावना छ । देवभूमिको नामले परिचित लेकम गाउँपालिकामा धार्मीक पयर्टनका साथै कृषि उत्पादन र पशुपालनको राम्रो सम्भावना रहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट स्थानीय तहको निर्वाचनमा लेकम गाउँपालिका अध्यक्ष पदमा निर्वाचित परमानन्द जोशी समाजसेवी, मिलनसार र नेकपा दार्चुलाको बौद्धिक नेताको रुपमा चिनिनुहुन्छ । यसै सन्दर्भमा प्रस्तुत छ, लेकम गाउँपालिका अध्यक्ष परमानन्द जोशीसंग पत्रकार लोकेन्द्रप्रसाद जोशीले गर्नुभएको कुराकानी :

१. निर्वाचनको बेला चुनावी प्रतिवद्धताहरु के के गर्नु भएको थियोे ? के के पुरा भए ?

स्थानीय तहको निर्वाचनको बेला लेकम गाउँपालिकामा सडक यातायातले छोएको समेत थिएन । वडा नम्बर ३ का केहि बस्ती बाहेक अधिकासं जनता विद्युतबाट बञ्चित थिए । शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार लगायत आधारभुत पुर्वाधारको क्षेत्र चुनौती र समस्याहरुबाट ग्रस्त थिए । त्यसकारण समग्र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर विकास निर्माणका कामहरु गर्ने विषयमा जनतासमक्ष बाँचा गरेको थिए । अहिले छ वटा वडामध्ये चार वटा वडामा सडक विस्तार भइसकेको छ । बाँकी दुई वटा वडामा समेत एक वर्षभित्र सडक पुर्याउने र सडक विस्तार संगै स्तरोन्नतीको काम समेत गरेर नियमित यातायात सञ्चालन गर्ने गरी काम भइरहेको छ । गाउँपालिकाभरी विद्युतिकरणको काम भइरहेको छ । आफ्नो कार्यकालभित्र उज्यालो लेकम बनाउने उद्धेश्यले प्राथमिकताका साथ विद्युत विस्तारको काम गरिरहेका छौँ ।

यो वर्ष मात्रै विद्युतिकरणका लागि गाउँपालिकाबाट एक करोड ७८ लाख ५० हजार बजेट विनियोजन गरेर कार्यान्वयनको प्रकृयामा छ । केन्द्र सरकारबाट गत वर्ष प्राप्त दुई करोड बजेटको काम भइरहेको छ । चालु आर्थिक वर्षमा समेत नेपाल विद्युत प्राधिकरणबाट कार्यान्वयन गर्ने गरेर झण्डै दुई करोड बजेट विनियोजन भएको छ । यो वर्ष भित्र ९० प्रतिषत घरधुरीमा विद्युतिकरण गरेर बाँकी क्षेत्रमा अगामी वर्ष भित्र विजुली बालिसक्ने लक्ष्य छ । खानेपानीको क्षेत्रमा गाउँपालिकाका साथै प्रदेश र संघीय सरकारबाट समेत योजनाहरु सञ्चालनमा छन् । शिक्षा, स्वास्थ्य, कृषि, स्वरोजगारी लगायत क्षेत्रमा पुर्वाधार निर्माण र गुणस्तर सुधारका लागि विभिन्न कामहरु भइरहेका छन् ।

२. निर्वाचित भएको तीन वर्ष बित्यो, यो वीचमा सम्झनयोग्य काम के भए ?

निर्वाचित भएको पहिलो वर्षदेखि नै सडक र विद्युतलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । गोकुलेश्वर–लाली सडकखण्डमा लेकम गाउँपालिका वडा नम्बर ५ मैखोलीसम्म ट्रर्याक खुलाइएको छ । खरकडादेखि लाली क्षेत्रमा समेत सड्कको ट्रर्याक खुलाउने काम भइरहेको छ । गाउँपालिकाका सबै वडामा कम्तिमा एक÷एक वटा ग्रामीण सडकहरु निर्माणाधिन अवस्थामा छन् । चालु आर्थिक वर्षमा सडक निर्माणमा तीन करोड ५५ लाख बजेट गाउँपालिकाबाट विनियोजन गरेका छौँ । वडा नम्बर १, २, ५ र ६ मा सभाहलसहित वडा कार्यालयका भवन निर्माण गरेर सञ्चालनमा आइसकेका छन् । गाउँपालिका भित्रका चारवटै स्वास्थ्य चौकीहरुमा ल्याब सेवा सञ्चालन गरेका छौँ । आर्थिक सहयोग संकलन गरेर निजी स्रोतका शिक्षकहरुलाई तलब खुवाउनुपर्ने समस्याको अन्त्य गर्दै वार्षिक ७० लाख बढी बजेट तलब भत्तामा खर्च गरिरहेका छौँ । पुर्वाधार विकासको क्षेत्रमा थुप्रै कामहरु सम्पन्न भएका छन् । आफ्नो कार्यकालभित्र विकासका अधिकासं कामहरु पूरा गरेर समृद्ध लेकमको अभियानलाई सार्थकता प्रदान गर्न प्रयासरत छौँ ।

३. विज्ञान, प्रविधिको युगमा लेकमबासीले नियमित र प्रभावकारी सञ्चार सेवाबाट बञ्चित हुनुपरेको छ ? गाउँपालिकाभरी नियमित टेलिफोन र इन्टरनेट सेवा कहिलेसम्म सुचारु हुन्छ ?

बिडम्बनाको विषय लेकम गाउँपालिका वडा नम्बर २ कैनोडा तितेकाडामा रहेको नेपाल टेलिकमको टावर नियमित तथा प्रभावकारी नहुदा सेवाग्राही मार्कामा परेका छन । २०५१ सालमा निर्माण भएको नेपाल टेलिकमको टावरमा विद्युत अभावका कारण घाम लागेको बेला बाहेक सेवा प्रवाह नहुदा लेकम गाउँपालिकाका अधिकांस स्थानीयहरु टेलिफोन र इन्टरनेट सेवा बाट बञ्चित रहेका छन् । सोलार सिस्टमबाट सञ्चालित कैनोडा टावरबाटै नै लेकम गाउँपालिकाका अधिकांस बस्तीहरुमा टेलिफोन सेवा विस्तार गरिएको छ । टेलिकमको समस्या समाधान गाउँपालिकाबाट गर्न सम्भव नभएकोले नेपाल टेलिकमसंग पटकपटक सेवा विस्तार र सुधारको माग गर्दै आएका छौँ । कैनौडा टावर नियमित सञ्चालनको लागी शुक्रबार मात्रै नेपाल टेलिकमको प्रादेशिक निर्दैशनालय कैलाली अत्तरियाबाट प्राविधिक टोली बोलाएर निरीक्षण गरिएको छ । टावर निरीक्षण गर्नुभएका इन्जिनियर अनिल लामाले टावरमा जडान गरिएका सोलार ब्याट्रिहरु ड्यामेज भइसकेकोले विद्युत विस्तार नभए सम्म नेटर्वकको समस्या समाधान नहुने बताउनुभएको छ । विद्युत विस्तार नै नेटर्वक समस्याको उपयुक्त र दिर्घकालिन समाधान भएकोले छिट्टै ठेक्का प्रकृया मार्फत कैनौडा तितेकाडा टावर सम्म विद्युत विस्तार गर्न म प्रयासरत छु । विद्युत विस्तारका लागि बजेट विनियोजन भइसकेको छ, तिब्र गतिमा काम गरेर केहि महिना भित्रै तितेकाडासम्म विद्युत विस्तार गरिसक्ने प्रतिवद्धता गर्न चाहान्छु ।

४. खानेपानी समस्याबाट पनि धेरै बस्तीहरु ग्रसित छन् ? राजनीतिक स्वार्थका कारण कुणी क्षेत्रमा पनि खानेपानी आयोजना सञ्चालनमा ढिलाइ भइरहेको गुनासो छ ? खानेपानी समस्या समाधानमा के काम गरिरहनुभएको छ ?

खानेपानीको पहुँच धेरै ठाउँमा पुगेको छ । धेरै ठाउँमा यहाँले भनेजस्तै समस्याहरु पनि छन् । हामीले निर्वाचित भएपछि थुप्रै बस्तीहरुमा खानेपानी पुगेको छ । चालु आर्थिक वर्षमा समेत स्थानीय तहका साथै प्रदेश र केन्द्र सरकारको समपुरक, बिशेष र नियमित कार्यक्रमहरुबाट केहि गाउँमा खानेपानी योजना निर्माण गर्ने तयारी भइरहेको छ । जहासम्म कुणी क्षेत्रको कुरा गर्नुभयो, खानेपानीको चरम अभाव रहेको र नजिक खानेपानीका मुहान समेत नभएको अवस्थामा प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाको पहलमा कुणी कुसकाणा लगायत थुप्रै बस्तीहरुमा चमेलियाबाट लिप्टीङ प्रविधिमार्फत खानेपानी पुर्याउन महत्तपुर्ण योजना सञ्चालनको क्रममा छ । उक्त आयोजनामा केहि मानिसहरुको निहित स्वार्थका कारण काम अघि बढाउन ढिलाइ भएको छ । पछिल्लो समय आयोजना कार्यान्वयन गर्न उपभोक्ता समिठि गठन भइसकेको छ । चालु आर्थिक वर्षमा २५ करोड बजेट पनि बिनियोजन गरिएको छ । अहिलेसम्म ढिलाइ भएपनि अगामी दिनमा तिब्रताका साथ आयोजना कार्यान्वयनमा भूमिका खेल्ने र सहजिकरण गर्ने कुरामा म विस्वास दिलाउन चाहान्छु ।

५. तीन वर्षसम्म गाउँपालिकाको भवन समेत निर्माण गर्न सकेनन् भन्ने जनगुनासो छ नी ?

जनताले गाउँपालिका भवन निर्माण भइनसकेको विषयमा गुनासो गर्नु स्वभाविक छ । हामीले निर्वाचित भइसकेपछिको पहिलो वर्षमै गाउँसभाबाट गाउँपालिकाको केन्द्र सबै गाउँपालिकाबासीको पायक पर्ने स्थान रातामाटा कायम गर्ने निर्णय गरेर राजपत्रमा प्रकाशित भएको थियो । तर रातामाटासम्म यातायातको पहुँच नहुदा भवन निर्माणमा ढिलाइ भयो । रातामाटा जोड्ने प्रदेश सरकारद्धारा सञ्चालित ऐरीछाना धनथला सडक निर्माणमा ढिलाइ हुदा गाउँपालिका भवन निर्माणको काम प्रभावित भइरहेको छ । हालसम्म गाउँपालिकाको अस्थाई केन्द्र खरकडाबाट गल्लाकेदार माबिको भवन भाडामा लिएर कार्यालयको सेवा प्रवाह भइरहेको छ । चालु आर्थिक वर्षमा भवन निर्माणका लागि गाउँपालिकाबाट ५० लाख बजेट विनियोजन गरेर संघीय सरकारसंग थप बजेट माग गरेका छौँ । यसै वर्षबाट गाउँपालिका भवन निर्माणको काम शुरु गर्ने तयारीमा छौँ ।

६. लेकम गाउँपालिकाको वार्षिक बजेट र आन्तरिक आम्दानी कति छ ?

गाउँपालिकाले चालु र पुजिगत बजेट तथा संघ र प्रदेश सरकारबाट प्राप्त विभिन्न अनुदान रकम समेत गरेर कुल ४९ करोड ३९ लाख ९४ हजार बजेट विनियोजन गरेको छ । जसमध्ये बढी बजेट चालु शिर्षकहरुमा खर्च हुने गरेको छ । झण्डै १३ करोड रुपैँया पुजिगत तथा विकासे क्षेत्रहरुमा विनियोजन गरिएको छ । गाउँपालिकाको वार्षिक आन्तरिक आम्दानी २० लाख अनुमान गरेका छौँ ।

७. चालु आर्थिक वर्षमा योजना कार्यान्वयनको अवस्था के छ ?

यो वर्ष हामीले टुक्रे योजना निर्माण गर्दा खर्च मात्रै हुने तर विकास नदेखिने अवस्था सिर्जना भयो भनेर गाउँसभाबाट सडक, विद्युत, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रलाई प्राथमिकतामा राखेर ठूला योजना मात्रै सञ्चालन गरेका छौँ । योजनाहरुको उपभोक्ता समिति गठन र सम्झौताको कामहरु भइरहेको छ । असारे विकासलाई अन्त्य गर्नुपर्छ भनेर जेठ महिना भित्र सबै योजना सम्पन्न गरिसक्ने उद्धेश्यले योजना कार्यान्वयन समयतालिका बनाएर त्यसै अनुसार काम गर्ने प्रकृयामा छौँ ।

८. गाउँपालिकालाई समृद्ध बनाउने अल्पकालिन र दीर्घकालिन योजना के के छन् ?

अल्पकालिन योजनाहरुमा वार्षिक बजेट तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्ने, कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्ने, सबै वडाहरुमा विद्युतिकरण र सडक विस्तार गर्ने, सञ्चारको पहुँच विस्तार र सेवा सुधारका लागि पहल गर्ने, आर्थिक, भौतिक, सामाजिक र सास्कृतिक क्षेत्रहरुमा पुर्वाधार विकास गर्ने लगायतलाइ लिएका छौँ भने दिर्घकालिन योजनाहरुमा अन्तराष्ट्रिय नाकालाई व्यापारीक नाकाको रुपमा विकास गर्ने, नागरिकको जीवनस्तर सुधार गर्न आर्थिक र सामाजिक विकासका कामहरु गर्ने, स्थानीय स्रोत, साधनको उपयोग गरि आर्थिक समृद्धिको विकास गर्ने, पर्यटन र कृषि तथा पशु क्षेत्रको विकास गर्ने, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा समयानुकुल परिवर्तन गर्ने, वातावरण तथा विपद् व्यवस्थापनका कामहरु गर्ने, सूशासन र विद्युतिय शासनमा जोड दिने लगायतका योजनाहरु बनाएका छौँ । अहिले गरिरहेका सबैजसो कामहरुले अल्पकालिन र दिर्घकालिन महत्त राख्ने भएकोले समग्रमा विकास र समृद्धिका कामहरुमा हाम्रो ध्यान केन्द्रित छ ।

९. प्रदेश र संघ सरकारसंग के कस्ता समन्वय भएका छन् ?

प्रदेश र संघीय सरकारसंग राम्रै समन्वय भइरहेको छ । विभिन्न योजनाहरु समपुरक बजेटमार्फत साझेदारीमा पनि सञ्चालित छन् । दार्चुलाबाट निर्वाचित सासंदहरुमार्फत समेत विभिन्न मन्त्रालय, विभाग र सरकारसंग समन्वय भइरहेको छ । ऐन, नियम, नियमावलीहरु तयार पार्दा समेत प्रदेश र संघीय सरकारसंग आवश्यक परामर्श लिने कामहरु भइरहेका छन् । समानुपातिक र दिर्घकालिन विकासका लागि अगामी दिनमा अझै तीनै तहको सरकारको सम्बन्ध थप बलियो र समन्वयकारी हुनुपर्ने आवश्यकता महसुस भने भएको छ ।

१०. सूशासनको अवस्था कस्तो छ ?

सूशासनमा हामी अभ्यासरत छौँ । योजना, कार्यक्रम र बजेटहरु पारदर्शी राख्ने, नागरिक वडापत्र, सूचना पाटी र गुनासो पेटिका लगायतको व्यवस्था गर्ने, जनतालाई सेवा प्रवाह र विकास निर्माणबारे जानकारी दिन चौमासिक सार्वजनिक सुनुवाई र वार्षिक सामाजिक परिक्षण जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएका छौँ । यद्धपी गत वर्षदेखि कोरोना महामारीको कारण सार्वजनिक सुनुवाई लगायत धेरै कामहरु प्रभावित भएका छन् । छिट्टै कार्यपालिकाबाट निर्णय गरेर चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्ने योजनामा छौँ । प्रतेक योजनाहरुको सार्वजनिक परीक्षण गरेर मात्रै भुक्तानी दिन भनेको छु् । सञ्चार र विद्युतको प्रभावकारी पहुँच नहुदा विद्युतिय शासनमा अपेक्षाकृत सुधार ल्याउन सकेका छैनौँ।

११. कोरोना नियन्त्रण र उपचारका लागि के के काम गर्नुभयो ?

कोरोना रोकथाम तथा उपचारको क्षेत्रमा सुरु देखिनै विभिन्न कामहरु गरिरहेका छौँ । प्रतेक वडाहरुमा क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापन देखि जनशक्ति परिचालनको क्षेत्रमा प्रभावकारी काम गर्न सकेकै कारण सयौँ मानिसहरु कोरोना प्रभावित क्षेत्रबाट भित्रिएर पनि कोरोनाबाट हालसम्म कसैले ज्यान गुमाउनुपरेको छैन् । केहि मानिसलाई संक्रमण पुष्टि भएपनि स्वास्थ्य अवस्था सामान्य रहेको छ । अहिले कोरोनाको प्रभाव नभएकै कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरु सञ्चालनमा ल्याइसकेका छौँ । अगामी दिनमा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर गाउँपालिकामा कोभिड अस्थाई अस्पताल सञ्चालनको तयारी समेत भइरहेको छ । हालसम्म कोरोना व्यवस्थापनमा एक करोड ५२ लाख बढी बजेट खर्च भएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?