दार्चुला । विगत नौ महिनायता बालुवाटारबाट खासै बाहिर ननिस्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको दौडधुप र सक्रियता एकाएक बढेको छ । शनिबार मात्रै ओलीले तीन वटा महत्वपुर्ण राजनीतिक भेटघाट गर्नुभएको छ ।
प्रधानमन्त्री ओली शनिबार बिहान ११ बजे पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न खुमलटार पुगे भने साँझ राष्ट्पति विद्यादेवी भण्डारी भेट्न शीतलनिवास पुग्नुभयो ।
पौने ६ बजे शीतलनिवास पुगेका ओली र राष्ट्पति भण्डारीबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको बुझिएको छ । यसअघि आजै बिहान खुमलटारबाट बालुवाटार फर्कदा ओली मन्त्रीहरुको निवास पुल्चोक पसेर गृहमन्त्रीसहित अन्य चार मन्त्रीहरुसँग समेत भेटवार्ता गर्नुभएको थियो ।
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला ओलीको दौडधुपलाई अर्थपुर्ण रुपमा लिइएको छ । प्रधानमन्त्री ओलीले गत मंगलबार पार्टी र नेताहरुसँग कुनै छलफल नै नगरी अध्यादेश ल्याउनुभएको थियो ।
त्यसपछि उहाँको चौतर्फी आलोचाना हुनुका साथै अध्यादेश फिर्ता लिन दवाव परेको छ । नेकपाले उक्त अध्यादेश फिर्ता गर्न निर्देशनदिएपनि प्रधानमन्त्री ओलीले राजनीतिक सहमति नजुट्दासम्म फिर्ता नलिने बताउदै आउनुभएको छ ।
सरकार र पार्टी सञ्चालनमा असफल भएको भन्दै नेकपाको एक समूहले उहाँको बहिर्गमनको माग गरिरहेको छ । तर, उहाँले त्यसलाई रोक्न अनेक उपायहरु अपनाएपनि पछिल्लो समय असफल जस्तै देखिनुभएको छ ।
सत्तारुढ नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बिहान सवा ११ बजेतिर प्रचण्डनिवास खुमलटारमा प्रवेश गर्नुभयो। प्रधानमन्त्री पुगेको १५ मिनेट पनि नबित्दै उपाध्यक्ष वामदेव गौतम पनि प्रचण्डनिवासमा पुग्नुभयो । ओली सँगसँगै जस्तो गरी प्रचण्डनिवासमा पुग्नुभएका उपाध्यक्ष गौतमको उपस्थिति अर्थपूर्ण देखिएको नेकपाका नेताहरु बताउँछन् ।
पछिल्लो समय प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने आश्वासन दिन थालेका छन् । पुस १ गते बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकमा अध्यक्ष ओलीले उपाध्यक्ष गौतमतर्फ पुलुक्क हेर्दै अब प्रधानमन्त्री फेर्ने नै भए नयाँलाई बनाउनुपर्ने बताउनुभएको थियो । स्थायी कमिटीमा ओलीको यस्तो भाषण सुनेपछि उपाध्यक्ष गौतम उत्साहित बन्नुभएको थियो । बैठकलगत्तै उहाँले आफू निकटस्थहरुलाई टेलिफोन गरेर ओलीजीले आफूलाई प्रधानमन्त्री बन्ने प्रस्ताव बैठकमै राखेको सुनाउनुभयो।
नेकपा स्रोतका अनुसार शनिबार खुमलटारको भेटमा पनि प्रधानमन्त्री ओलीले आफूले छाड्नुपरे वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गर्नुभएको छ । यद्यपि यसबारे औपचारिक प्रतिक्रिया दिन कसैले मानेका छैनन् । वामदेव राष्ट्रियसभाको सदस्य भएका कारण संविधानको अहिलेको प्रावधानअनुसार उहाँ प्रधानमन्त्री बन्न मिल्दैन । गौतमलाई प्रधानमन्त्री बनाउने हो भने ‘राष्ट्रियसभाको सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने’ प्रावधानसहित दुईतिहाई बहुमतबाट संविधान संशोधन गर्नुपर्ने हुन्छ ।
स्थायी कमिटीका एक सदस्यका अनुसार पुस १ गतेको बैठकमा प्रधानमन्त्री ओलीले यही कार्यकालमा प्रधानमन्त्री बनाउन भनेका होइनन् । आगामी चुनावसम्म आफैं प्रधानमन्त्री रहने र अर्को चुनावपछि नयाँलाई बनाउनुपर्ने प्रधानमन्त्रीको भनाइको सार रहेको ती नेताले बताउनुभयो । तर, शनिबार खुमलटारमा भने प्रधानमान्त्री ओलीले यही कार्यकालमै वामदेवलाई बनाउनुपर्ने प्रस्ताव राखेको स्रोतले बतायो । जवाफमा कार्यकारी अध्यक्ष प्रचण्डले त्यसमा आफूहरुको विमती नरहेको बताउनुभयो । त्यसका लागि तपाईले पहिला राजीनामा दिनुस् न त भन्दा ओलीले अस्वीकार गरेको स्रोतको दाबी छ ।
पार्टीको ९ सदस्यीय सचिवालयमा बहुमत जुटाउनका लागि वामदेव गौतम र रामबहादुर थापा बादलको साथ लिन खोजिरहेका प्रधानमन्त्री ओली शनिबार खुमलटारबाट फर्कँदा पुल्चोकस्थित वादलको सरकारी निवासमा केहीबेर बस्नुभएको थियो। पार्टी नेताहरुसँगको भेटघाटपछि प्रधानमन्त्री ओली विकसित घटनाक्रमबारे राष्ट्रपतिलाई जानकारी गराउन शनिबार साँझ शीतलनिवास पुगेको अनुमान राजनीतिक बृतमा छ ।
यता प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस र विपक्षी जसपाबीच आजै २ बुँदे सहमति भएको छ । काँग्रेस र जसपाबीच तत्काल संसद अधिवेशन बोलाउन माग गर्ने र लोकतन्त्रको रक्षा, भ्रष्टाचार, कोभिड संक्रमण, आर्थिक संककट लगायतका विषयमा सहकार्य गर्ने सहमति भएको छ । प्रधानमन्त्री ओलीमाथि थप दवाव बढाउन गरी विपक्षी दल समन्वयकारी रुपमा अगाडि बढ्ने तयारीमा देखिन्छ ।





प्रतिक्रिया