दार्चुला । संसद विघटन गर्ने सरकारको कदमको विरोधमा कार्यक्रम तय गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा संसद पुनस्थापनाका लागि सडक आन्दोलनको पक्ष र विपक्षमा मत आएको छ ।
स्रोतका अनुसार पार्टी सभापती शेरबहादुर देउवा समुह निर्वाचनमा जाने पक्षमा रहनुभएको छ भने वरिष्ट नेता रामचन्द्र पौँडेल समुह संघर्षको पक्षमा रहनुभएको छ ।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार मंगलबारको बैठकमा बोल्दै बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीको कदमको विरोधमा रहेका सबैलाई गोलबद्ध गर्दै कांग्रेसले सडक संघर्ष गर्नुपर्ने बताउनुभयो ।
कांग्रेसको नेतृत्वमा जारी भएको संविधानलाई घाइते बनाइएको छ । यसलाई कांग्रेसले स्वीकार गर्नु हुँदैन । यो कदमको विपक्षमा रहेका सबैलाई गोलबद्ध गरेर हामीले संघर्ष गर्नुपर्छ, बैठकमा पौडेलले भन्नुभयो । पौडेलले कांग्रेसले क्षणिक लाभहानीको हिसाब नगरी सिद्धान्तका लागि लड्नुपर्ने बताउनुभयो ।
बैठकमा बोल्दै केन्द्रीय सदस्य एनपी साउदले भने सरकारले घोषणा गरेको चुनावको अवसरलाई उपयोग गर्नुपर्ने बताउनुभयो । सभापति शेरबहादुर देउवानिकट साउदले अहिले बहुमत कार्यकर्ताहरु चुनावको पक्षमा रहेको भन्दै चुनावमा जानुपर्ने बताउनुभएको थियो । उहाँले संसद पुनस्थापनाको माग लिएर सडक प्रदर्शनमा जान नहुने बताउनुभयो ।
मंगलबारको बैठकमा जम्मा चारजनाले बोलेका थिए । बैठकमा बोल्दै केन्द्रीय सदस्य नारायण खड्काले यो विषयमा अदालतमा पुगेकाले अदालतले के भन्छ त्यो पनि महत्वपूर्ण हुने बताउनुभयो । उहाँले अदालत, सडक संघर्ष र चुनाव तीनवटै विकल्पमा जान सकिने धारणा राख्नुभयो ।
अर्का केन्द्रीय सदस्य महेश आचार्यले भने सडक संघर्ष गर्नुपर्ने बताउनुभयो । तर, उहाँले यसमा नेकपाको दाहाल नेपाल समूहसँग सहकार्य गर्न नहुने बताएका थिए । संसद विघटन उनीहरुको आन्तरिक कलहले गर्दा भएको हो । त्यसैले नेकपालाई नै साथ लिएर संघर्ष गर्नुको अर्थ छैन । कांग्रेसले एक्लै संघर्ष गर्नुपर्छ, आचार्यको भनाई थियो ।





प्रतिक्रिया