दार्चुला । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय कमिटी सदस्य एवं दार्चुलाबाट झण्डै २९ हजार जनमत प्राप्त गरेर प्रतक्ष निर्वाचित विघटित प्रतिनिधिसभा सदस्य गणेश सिंह ठगुन्ना पहिलो पटक मन्त्री बनेपछि दार्चुलेली जनताले थुप्रै अपेक्षाहरु व्यक्त गरिरहेका छन् ।
जटिल परिस्थितिमा भएपनि दार्चुलावासी जनताले विकासवादी नेता भनेर चिनेका नेता ठगुन्नाले मन्त्री बन्नेसंगै उत्साह र अपेक्षाको भारी दार्चुलेली जनताको मनमा भरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार हेरफेर तथा विस्तार गर्नु भएको मन्त्रिपरिषदमा नेकपा दार्चुलाका नेता ठगुन्नाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । २०७७ साल पुष १० गते सपथग्रहण पश्चात मन्त्री ठगुन्नाले पदभार ग्रहण गर्नुभएको छ । मन्त्री ठगुन्नालाई नेता, कार्यकर्तादेखि नागरिक अगुवा र शुभचिन्तकहरुले सुझाबसहित अपेक्षा व्यक्त गरिरहेका छन् ।
पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकर सिंह धामीले दार्चुलाले मन्त्री पाएकोमा शुभेछ्या व्यक्त गर्दै बुदागत रुपमा दश बुदे सुझाब दिनुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले दार्चुलाको लागि तत्कालिन र दिर्घकालिन महत्तका निम्नअनुसार अपेक्षाहरु राख्नुभएको छ :-
१) दार्चुला पिछडिएको क्षेत्रको जिल्लामा समावेश हुनेछ ।
२) तिंकर सडक निर्माणले गति पाउनेछ, ३/४ ठाउँबाट एकसाथ नेपाली सेनाले सडक निर्माण थाल्नेछ ।
३) व्यासमा अध्यागमन कार्यालय स्थापना भइ पवित्र कैलाश मानसरोवर यात्रा सञ्चालन हुनेछ ।
४) व्यासको तिंकर, कौवा र बुदीमा सशस्त्र प्रहरी पोष्ट (बीओपी) स्थापना हुनेछन् ।
५) गोकुलेश्वर विमानस्थलको स्तरोन्नती तत्काल थालिनेछ (विकल्पमा देवथली वा पनेबाज–बसेडी क्षेत्रमा नयाँ विमानस्थल निर्माणको गृहकार्य थालिनेछ ।
६) सतबाझ–गोकुलेश्वर–खलंगा–दार्चुला सडकको नामांकरण प्रेम सिंह धामी लोकमार्ग गरिनेछ ।
७) व्यासको छाङरू, गागाक्षेत्रमा राष्ट्रवादी आन्दोलनमा योगदान पुर्याएका स्वर्गीय नेताहरू प्रेम सिंह धामी, वहादुर सिंह ऐतवाल र गोपाल सिंह बोहराको त्रिमूर्ति सालिक राखिनेछ ।
८) खलंगा–दल्लेख–देथला र बिटुले–लटिनाथ–खण्डेश्वरी सडक निर्माण सम्पन्न भइ कालोपत्रे हुनेछ ।
९) व्यास जोड्ने पैदल बाटो मर्मत गरी सञ्चालनमा आउनेछ । कालापानी र तिंकर भञ्ज्याङसम्मको घोरेटो बाटो मर्मत गरिनेछ ।
१०) दार्चुलामा जिम्मेवार प्रशासक आउनेछन् ।
पत्रकार धामीले अल्लेखित कतिपय अपेक्षाहरु तत्कालिन समयमा सातप्रतिषत पुरा गर्न कठिन भएपनि जनअपेक्षालाई बढी प्रतिनिधित्व गर्ने कामहरुलाई प्राथमिकता दिनसके दार्चुलाले मन्त्री पद पाएको औचित्य पुष्टि हुने धारणा राख्नुभएका छ ।
मन्त्री ठगुन्नाले शुक्रबार पदभार ग्रहण गरेपश्चात शनिबार नेता, कार्यकर्ता र शुभचिन्तकहरुसंग काठमाण्डौँको माइलस्टोन नेसनल स्कुल ईमाडोलमा भेटघाट गरेर सुझाब संकलन गरिरहनुभएको छ । अहिलेसम्म विकटता, अभाव र समस्याहरुले जगडिएको दार्चुलाका कतिपय सम्भावनाहरुलाई उजागर गरेर दिर्घकालिन महत्तका कामहरु शुरु गर्नुपर्ने टट्कारो आवश्यकता छ । शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, खानेपानी, कृषि, पर्यटन लगायत सबैजसो क्षेत्रमा समस्या र चुनौतीहरुको सामना गरिरहेको दार्चुलाले मन्त्री ठगुन्नाबाट धेरै अपेक्षा गरेको छ । तर जटिल परिस्थितिका कारण सबै कामहरु पुरा गर्न नसकेपनि प्राथमिकताका आधारमा पुर्वाधार विकास र सामाजिक विकासका कामहरुको तत्काल थालनी गर्न शुभचिन्तकहरुले मन्त्री ठगुन्नालाई बधाई संगै सुझाब दिइरहेका छन् ।
पार्टी विभाजनको अवस्थामा पुगेको बेला मन्त्री भएकोमा ओली इतर पक्षका कतिपय कार्यकर्ताले आलोचना समेत गरेका छन् । तर अधिकासं दार्चुलेली जनताले छोटो र जटिल समयमा दार्चुलावासीले सम्झनयोग्य ऐतिहासिक काम गर्न शुझाबसहित शुभकामना व्यक्त गरिरहेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी पाएकोले नीतिगत र व्यवस्थापकिय केहि कामबाहेक आफ्नै मन्त्रालयबाट विकास निर्माणका कामहरु गर्न सक्ने सम्भावना रहदैन । तरपनि मन्त्रीपरिषदमा अरु मन्त्रीहरुसंग सहकार्य गरेर भएपनि जिल्लाको विकासमा नयाँ आयामहरु थप्न सकिने कुरालाई नकार्न सकिदैन ।
शुभचिन्तकहरुले मन्त्री ठगुन्नालाई भनिरहेका छन, देश, जनता र दार्चुलाको हित विपरित काम नहोस । व्याक्तिगत स्वार्थभन्दा माथि उठेर आर्थिक, भौतिक र सामाजिक विकासलाई मध्यनजर गरेर कामहरु गर्नतर्फ ध्यान केन्द्रित होस । दार्चुलाको सबै क्षेत्रको सामानुपातीक विकासका दिर्घकालिन योजनाहरुको शिलान्यास गरियोस, तत्कालिन समस्या समाधानमा अहोरात्री खटेर जनताको मन जित्न सफल हुनुहोस । दार्चुलाले अपेक्षा गरेका, विगतमा हुन्छ, हुन्छ भनेर पनि हुन नसकेका, सम्भावना हुदा हुदै पनि राज्यसत्ताको प्राथमिकतामा पर्न नसकेका कतिपय भौतिक र नितीगत कामहरु मन्त्री ठगुन्नाको कार्यकालमा तत्कालिन कामहरु सम्पन्न र दिर्घकालिन कामहरु शुभारम्भ हुन सकुन भन्ने शुभचिन्तकहरुको अपेक्षाकृत शुभकामना छ ।

पहिलोपटक २०७७ साल पुष १० गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको पदभार ग्रहण गर्नुभएका नेता गणेश सिंह ठगुन्नाको जन्म २०२५ साल मंसिर २२ गते दार्चुलाको महाकाली नगरपालिकामा भएको हो । उहाँले स्नातक सम्मको अद्ययन गर्नुभएको छ । २०४५ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय ठगुन्ना २०४७ सालदेखि माले र पार्टी एकतापछि एमाले पार्टीमा आवद्ध हुदै राजनीति शुरु गरेको तीन दशकपछि मन्त्रीको हैसियतमा सिंहदरवार प्रवेस गर्न सफल हुनुभएको छ ।
चार पटक तत्कालिन नेकपा एमालेको दार्चुला पार्टी प्रमुख हुनुभएका मन्त्री ठगुन्ना २०७० सालमा नेकपा एमालेको केन्द्रिय सदस्य र अहिले नेकपा केन्द्रिय सदस्यको जिम्मेवारीमा हुनुहुन्छ । २०५४ सालको स्थानीय निर्वाचनमा एमालेले बहुमत ल्याएपछि उहाँ २०५९ सालसम्म जिल्ला विकास समिति दार्चुलाको सभापती समेत हुनुभयो । जिल्ला विकास समितिमा सभापती हुदा विकासप्रेमी तथा इमानदार नेताको परिचय बनाउन सफल नेता ठगुन्नाले संबिधानसभा र प्रतिनिधिसभामा एक पटक पराजय र दुई पटक विजय हासिल गर्नुभएको छ ।
मन्त्री ठगुन्ना २०७० सालको दोस्रो संविधान सभाको निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा दार्चुला क्षेत्र नम्बर १ बाट विजयी हुनुभएको थियो । २०७० सालमा तत्कालिन नेकपा एमालेबाट र २०७४ सालमा साविक एमाले र माओबादीको चुनाबी बाम गठबन्धन (नेकपा) बाट प्रतक्ष निर्वाचित नेता ठगुन्नाले प्रतिनिधिसभाको आठ वर्ष लामो यात्रापछि पहिलो पटक मन्त्रीको जिम्मेवारी पाउँनुभएको हो ।
२०७० सालमा पूर्व राज्यमन्त्री तथा नेपाली कांग्रेस केन्द्रिय सदस्य दिलेन्द्र प्रसाद बडूलाई पराजित गर्दै नेता ठगुन्नाले संबिधानसभा तथा प्रतिनिधिसभाको यात्रा शुरु गर्नुभएको थियो । तत्कालिन एमालेबाट उम्मेदवार बन्नुभएका ठगुन्नाको चुनाबी प्रचार अभियानमा अहिलेका प्रधानमन्त्री केपी सर्मा ओली नै सहभागि भएर गोकुलेश्वर विमानस्थलको एक चुनाबी जनसभालाई सम्बोधन गर्दै दार्चुलाबाट सासंद बनाएर पठाए केन्द्रमा मन्त्री बनाउने प्रतिबद्धता एबं घोषणा गर्नुभएको थियो । उक्त कार्यकालमा मन्त्री नबनेपनि घोषणाको सात वर्षपछि भएपनि उनै नेता ओलीले नेकपा दार्चुलाका ईन्चार्ज नेता ठगुन्नालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाउनुभएको छ ।
इमानदार, विकासप्रेमी नेताका रुपमा परिचित मन्त्री ठगुन्नाले प्रतिकुल परिस्थितिमा मंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बागडोर सम्हाल्ने अवसर पाएकोले कार्यसम्पादनमा धेरै चुनौती रहेको उहाँ निकट नेताहरुले बताएका छन् । यद्धपी अवसर पाएको बेलामा जिल्लाको विकास र समृद्धिका लागि मन्त्री ठगुन्नाको महत्तपुर्ण भूमिका निर्वाह गर्ने सुझाबसहितको विस्वास शुभचिन्तकहरुको छ ।





