दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले इतिहासमा ’रेकर्ड’ कायम राख्ने धेरै काम गरेको दाबी गर्नुभएको छ ।
एकैदिन तीन सय नौ अस्पताल शिलान्यास गरेर सरकारले अहिलेसम्मकै रेकर्ड कायम गरेको उदाहरण दिँदै उहाँले यस्ता थुप्रै काम अहिलेको सरकारले गरेको बताउनुभयो । यसअघि एक वर्ष हैन धेरै वर्षसम्म पनि यो सङ्ख्यामा अस्पताल बनाउन शिलान्यासको कामसमेत नभएको भन्दै उहाँले सरकारले जनजीविकाका सवालमा धेरै काम गरेको बताउनुभयो ।
आइतबार राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब गफ फिट्ने दिन गएको समेत बताउनुभयो । गफ गरेर बसेर मात्रै नहुने भन्दै उहाँले काम गरेर त्यसको उपलब्धि देखाउनुपर्ने उहाँले बताउनुभयो । आफूले गल्ती गरेको रहेछ भने नागरिकले दण्ड दिने भन्दै उहाँले खुट्टा नकमाइकन चुनावी मैदानमा आउन आह्वान गर्नुभयो ।
यसैबीच उहाँले सरकारले नागरिकमा जागरण फैलाएकै कारण कोरोनालाई थप भयावह हुनबाट बचाएको दाबी गर्नुभएको छ । उहाँले अनिवार्य हात धुन, विभिन्न जडीबुटीको प्रयोग गर्न र तातो पानी खान सल्लाह दिएर कोभिडसँग सामना गरिरहेको बताउनुभयो ।
उहाँले कोरोनाविरुद्धको खोप ल्याउने तयारीमा सरकार रहेको र केही समयमै कोभिडको समस्या समाधान हुने विश्वास गर्नुभयो । नेपाली नागरिकको जीवन नै सरकारको सबैभन्दा पहिलो प्राथमिकतामा रहेको उहाँको भनाइ छ ।





प्रतिक्रिया