दार्चुला । नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिँह ठगुन्नाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी भित्रबाट र अन्तर्राष्ट्रिय शक्तिले काम गर्न नदिएपछि संसद् विघटन गरिएको बताउनुभएको छ ।
बुधबार डडेल्धुरामा पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा उहाँले देश अस्थिरतातर्फ जाने संकेत पाएर संसद विघटन भएको बताउनुभयो । ‘दुई तिहाईको सरकारका प्रधानमन्त्रीले संसद विघटन गरेर निर्वाचन घोषणा गरिसकेपछि अब त्यस बाहेकका जस्तो सुकै शक्तिले पनि संसद् बिउत्याउन सक्दैन्। अब निर्वाचन उपयुक्त विधि हो’ उहाँले भन्नुभयो ।
यस्तै केपी शर्मा ओली अध्यक्ष भएको समूह आधिकारिक नेकपा भएको पनि उहाँको भनाई छ । पुष्प कमल दाहाद प्रचण्ड–माधव नेपाल समूहले आधिकारीक नेकपा भनेर प्रचारबाजी गरेपनि ओली अध्यक्ष भएको समूह नै आधिकारीक भएको उहाँले बताउनुभयो ।
प्रचण्ड–माधव समूहले पार्टीको अध्यक्ष भनेर पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई भने पनि नेकपाको अध्यक्ष ओली नै भएको उहाँको भनाई छ। उहाँले अहिले सूर्य चिन्ह कसको भन्ने बहस चलेतापनि सुर्य चिन्ह ओली समूहको नै भएको दाबी गर्नुभयो ।
‘नेपाल कम्युनिष्ट पार्टी नेकपा नेपालको कम्युनिष्ट आन्दोलनको मुलधारको रूपमा अगाडी बढ्छ। हाम्रा एजेन्डा भनेका मिचिएका भूमि फिर्ता लिने, राष्ट्रियताको संरक्षण गर्ने, सुखी नेपाली र समृद्ध नेपाल लगायतका हुन,’ उहाँले भन्नुभयो ।
राजनीतिक आन्दोलन धेरै गरिसकेकोले अहिलेको समय भनेको सडकमा टायर बाल्ने, बिरोध गर्ने, गाली गलौच गर्ने अबस्था नभएको पनि मन्त्री ठगुन्नाको भनाई छ । उहाँले नेपालको राजनीतिक इतिहासमा अब रचनात्मक कार्य गरेर जनतालाई परिवर्तनको महसुस गराउने समय भएको बताउनुभयो ।




