दार्चुला । भारत सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसको खोप दार्चुला जिल्लामा पनि आइपुगेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको औषधी (खोप) १४ महिना पछि नेपालमा आएको हो ।
भारतले नेपाललाई उपलब्ध गराएको खोप मध्ये एक हजार तीन सय ९० डोज औषधी जिल्ला आइपुगेको स्वास्थ्य कार्यालय दार्चुलाका कार्यालय प्रमुख जयराज भट्टले जानकारी दिनुभयो । जिल्लामा आईपुगेको खोपलाई खोप भण्डार कक्ष (कोल्ड चेन रुम) मा सुरक्षित राखिएको उहाँले बताउनुभयो ।
कोभीसिल्ड नामक सो खोपलाई २ देखि ८ डिग्री सेन्टीग्रेड तापक्रममा राख्नुपर्ने र स्वास्थ्य कार्यालयको खोप भण्डारण कक्षमा त्यो सुविधा भएकाले खोप सुरक्षित रुपमा भण्डारण गरिएको स्वास्थ्य प्रमुख भट्टले जानकारी दिनुभयो । कोरोना भाईरस विरुद्धको खोप सुरक्षित भएकाले अंग्रपंक्तिमा खटिएकाहरुलाई निर्धक्कसंग खोप लगाउन समेत उहाँले आग्रह गर्नुभएको छ ।
भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरसको औषधी उपलब्ध गराएको थियो । जिल्ला पुगेको औषधी भोलीबाट अग्रपंत्तीमा खटिने स्वास्थ्यकर्मी, शव व्यवस्थापनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, सरसफाईकर्मीलाई लगाइने उहाले बताउनुभयो ।
खोप केन्द्र भने जिल्ला अस्पतालमा रहने जनाइएको छ । कोरोना भाइरसको औषधी संक्रमित व्यक्तीलाई लगाउन नहुने उहाले बताउनुभयो । संक्रमण भएको ४ हप्ता पछि मात्रै खोप दिन मिल्ने उहाको भनाई छ ।




