दार्चुला । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि निष्कासन गर्ने निर्णय गरेको छ ।
सोमवार काठमाण्डौको बबरमहलमा रहेको एक पार्टी प्यालेसमा बसेको नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय कमिटीको चौथो बैठकले यसअघिको स्थायी कमिटीबाट आएको प्रस्तावअनुसार प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको हो ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि निष्कासन गर्ने निर्णय गरिएको बताउनुभयो । यस्तै स्थायी कमिटीले महासचिव विष्णुप्रसाद पौडेललाई निष्कासन गरेको निर्णयलाई समेत अनुमोदन गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘बैठकले यसअघि बसेको स्थायी कमिटीको प्रस्तावअनुसार केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गर्ने निर्णय गरेको छ । साथसाथै स्थायी कमिटीले नै पार्टीबाट महासचिवलाई पदमुक्त गरिसकेको सन्दर्भमा त्यो निर्णयलाई पनि केन्द्रीय कमिटीले अनुमोदन गरेको छ ।’
बैठकले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने निर्णयसमेत गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । यसअघि पार्टीको बैठकले पदाधिकारीको फेरबदल गर्ने निर्णयसहित अद्यावधिक गर्न अनुरोध गरेकोमा निर्वाचन आयोगले अद्यावधिक नगरि पार्टीलाई पत्र पठाएको सन्दर्भमा पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय बैठकले गरेको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगले पार्टीको विधानअनुसार पार्टीका बैठकहरू गरेर पार्टीको पदाधिकारीको सन्दर्भमा फेरबदल गरिएको निर्णयसहित अद्यावधिक गर्न अनुरोध गरेकोमा त्यो अद्यावधिक गर्नेबारेमा जुन पत्र निर्वाचन आयोगले हाम्रो पार्टीलाई पठाएको छ, त्यस सन्दर्भमा पार्टीको तर्फबाट लिखित जवाफसहित पार्टीको आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोगलाई पत्र लेख्ने पनि बैठकले निर्णय लिएको छ ।’
प्रतिनिधि सभा विघटनविरुद्धका कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको र अर्को चरणको सङ्घर्षका कार्यक्रम घोषणा भइसकेको सन्दर्भमा पार्टीका सबै कमिटीहरूलाई परिचालन हुन निर्देशन जारी गरेको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
यस्तै बैठकले म्यानमारमा लोकतान्त्रिक प्रणालीका विरुद्ध घटेको घटनालाई अनुपयुक्त भन्दै निन्दा गरेको समेत प्रवक्ता श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हिजो मात्रै म्यानमारमा लोकतान्त्रिक प्रणालीका विरुद्धरलोकतन्त्रका विरुद्ध जुन घटना घटेको छ, त्यो घटनालाई हाम्रो पार्टीले अनुपयुक्त भन्दै निन्दा गरेको छ । थप घटनाक्रमको विकासलाई पार्टीले गम्भीरतापूर्वक नियाल्ने छ र पार्टी सधैँ लोकतन्त्रको पक्षमा छ र त्यसप्रति हाम्रो नैतिक समर्थन रहेको छ ।’
यसैबिच नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आधिकारिकता कसैलाई नदिएर चुनाव चिन्ह फ्रिज गराउने षड्यन्त्र भएको बताउनुभएको छ ।
केन्द्रीय कमिटीको बैठकमा उहाँले निर्वाचन आयोगले पत्र पठाएर आधिकारिकताका सवालहरू उठाउन खोज्नुले षड्यन्त्र भइराखेको अनुभुति भएको बताउनुभयो ।
केन्द्रीय कमिटीमा एक चौथाइ सदस्य समेत नरहेको ओली पक्षको आधिकारिकता हुनै नसक्ने नेपालले जिकिर गर्नुभयो ।
अध्यक्ष नेपालले दुई तिहाइ केन्द्रीय समितिको निर्णयलाई पन्छाएर कसैले अघि बढ्ने सपना देखेको भए सम्भव हुन नदिने समेत बताउनुभयो ।





प्रतिक्रिया