दार्चुला । नेपाली समाजमा अधिकासं अपराधका घटना आफन्तबाटै भइरहेका छन् । हत्या, हिंसा, बालात्कारजन्य जघन्य अपराधका ८० प्रतिषत घटनामा नजिकका आफन्तको संलग्नता रहने गरेको पाइएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) उत्तम राज सुबेदीले जानकारी दिनुभयो ।
दार्चुला सदरमुकाम खलंगामा जिल्ला प्रहरी कार्यालय दार्चुलाद्धारा आयोजित समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत अपराध नियन्त्रणका लागि सरोकारवालाहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले अपराध तथा विकृति, विसंगति रोकथाम गर्न प्रतेक नागरिक सचेत हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो । आफुले अनुसन्धान गरेका ५०० हत्याका घटनामध्ये सबैभन्दा बढी १५३ घटनामा श्रीमानले श्रीमतीको हत्या गरेको पाइएको प्रहरी नायव महानिरीक्षक सुबेदीले जानकारी दिनुभयो । यस्तै श्रीमतीले श्रीमानको हत्या गरेका घटना ३२ वटा, दाईभाई र बाबुछोरा बिच ५० बढी हत्याका घटना घटेको पाइएको उहाँले बताउनुभयो । प्रहरीका अनुसार पछिल्लो समय अधिकासं हत्या, हिंसा र आत्महत्याका घटनाहरु आफन्तकै कारण हुने गरेका छन् ।
पछिल्लो समय अपराधका घटनाहरु विश्लेषण गर्दा आफन्तबाटै सचेत हुनुपर्ने बेला आएको छ, प्रहरी नायव महानिरीक्षक सुबेदीले भन्नुभयो, ‘पहिले अपरिचित ब्यक्तिबाट हत्या, हिंसा, बालात्कार जस्ता घटना हुन्थे तर आजको परिवेशमा ८० प्रतिशत त्यस्ता अपराधिक क्रियाकलापहरु अमानविय ढंगले आफन्त, चिनेजानेको ब्यक्तिबाटै भइरहेका छन् । अधिकाशं अपराधका घटनाहरुमा दोषिलाई पत्ता लगाइ कारवाहीको दायरामा ल्याउदा समेत अपराधिक क्रियाकलापमा कमि नआएको उहाँले बताउनुभयो । अपराध नियन्त्रणमा स्थानीय सरकारसंगै प्रतेक नागरिकको सहयोग र साझेदारी आवश्यक रहेको उहाँको भनाई छ । सभ्य, शान्त र सुरक्षित समाज निर्माण गर्न घर भित्र हुने गरेको हिंसा र अपराध अन्त्य गर्नु जरुरी रहेकोमा उहाँले जोड दिनुभयो । सुदूरपश्चिममा मदिरा सेवन अपराधको प्रमुख कारणका रुपमा रहेको छ । पछिल्लो समय लागुऔषध सेवन र सामाजिक सञ्जालको चरम दुरुपयोगका कारण समेत अपराधका घटनाहरु बढ्दै गएको उहाँले बताउनुभयो ।
बैतडीमा भागरथी भट्टको बालात्कार पछि हत्या भएको घटनामा स्वयं घटना स्थलमा खटिएर अनुसन्धान गरि अभियुक्त समात्न सफल भएको स्मरण गर्दै प्रहरी नायव महानिरीक्षक सुबेदीले कञ्चनपुरकी निर्मला पन्तको हत्यारा समेत छिट्टै पत्ता लाग्ने बताउनुभयो । पछिल्लो समय निर्मलाको हत्यासंग सम्बन्धित घटनामा थप सूचनाहरु प्राप्त भइरहेको बताउदै उहाँले चाँडै दोषि पत्ता लाग्ने विस्वास व्यक्त गर्नुभयो । बालात्कारका घटनाहरु नियन्त्रण गर्न सानै उमेरदेखि बालबालिकाहरुलाई छुवाई, बोलाई र सुरक्षाका बारेमा जानकारी दिनुपर्ने आवश्यकता रहेकोमा प्रहरीको जोड छ । ‘कुनै घटना भए देशै ओर्लिन्छ तर घटना घट्न नदिन सचेतना फैलाउन देश ओर्लिर्दैन, प्रहरी नायव महानिरीक्षक सुबेदीले भन्नुभयो, अब अपराधिक घटना न्युनिकरण तर्फ सबैको ध्यान जानुपर्छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत समुदाय, टोल र विद्यालयमा गठन भएका समितिहरु अपराध नियन्त्रण र सचेतना अभिबृद्धिमा सक्रिय हुनुपर्ने कार्यक्रमका प्रमुख अतिथि एबं जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करबिर बहादुर कार्कीले बताउनुभयो । विद्यालयहरुमा नैतिक शिक्षाको पढाइ हुन छोडेकाले पनि अपराध बढीरहेको उहाँको भनाई छ । एकातिर नैतिक शिक्षाको अभाव अर्काेतिर घरमा अभिभावकले समेत आफ्नो बालबच्चाहरुको निगरानी नगर्ने भएकाले विभिन्न अपराधिक घटनाहरु घटिरहेको कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
प्रहरी नायव महानिरीक्षक सुबेदीको उपस्थितिमा दार्चुला सदरमुकाम खलंगा र गोकुलेश्वरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका सहभागिहरुले सबैखाले अपराध न्यूनिकरण गर्न कानुनको कडाइका साथ पालना गर्नुका साथै नैतिक र व्यवहारिक जीवनउपयोगि शिक्षा तथा सचेतना अभिबृद्धि गर्नु समेत आवश्यक रहेकोमा जोड दिएका छन् ।










प्रतिक्रिया