दार्चुला । नेपाल पत्रकार महासंघ दार्चुला शाखाको बुधबार सम्पन्न अधिबेसन तथा निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ । प्रेस चौतारीका उम्मेदवार कृष्ण सिंह धामी नेतृत्वको प्यानल दुई तिहाइ मतसहित विजयी भएको हो ।
दार्चुलामा नेपाल पत्रकार महासंघका जम्मा साधारण सदस्य संख्या ९८ रहेकोमा ९१ जनाले मतदान गरेका थिए । सात जना साधारण सदस्यको अनुपस्थिति रहेको थियो । प्रेस युनियनको तर्फबाट अध्यक्ष पदका उम्मेदवार राजेन्द्र प्रसाद बडूको भन्दा तेब्बर बढी मतले प्रेस चौतारीका उम्मेदवार कृष्ण धामी सहित प्यानलले जीत हात पारेको निर्वाचन समिति संयोजक लोकेन्द्रबहादुर बमले जानकारी दिनुभयो । ९१ पत्रकारले मतदान गरेकोमा ६९ मत प्राप्त गर्दै धामी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी बडूले २२ मत प्राप्त गर्नुभएको छ ।
यस्तै महासंघको उपाध्यक्षमा सन्तोष कोट्टारीले ६६ मत, महिला उपाध्यक्षमा बिमला भुजेल धामीले ६६ मत, सचिवमा गगन सिंह बिष्टले ६८ मत, सह–सचिवमा लोकेन्द्र प्रसाद जोशीले ६९ मत, समाबेशी सह–सचिवमा ईश्वरी बुढाथोकीले ६७ मत र कोषाध्यक्षमा रामसिंह धामीले ६७ मत प्राप्त गरि विजयी हुनुभएको छ ।
छ जना खुल्ला सदस्य पदमा प्रेस चौतारीकै उम्मेदवारहरु मानसिंह कुवँरले ६२ मत, जनकराज भट्टले ६३, श्याम सामन्तले ६५ मत, उद्धव धामीले ६५, रमेश खत्रीले ६४ मत, निरज कुमार धामीले ६० मत प्राप्त गर्दै विजयी भएका छन् । दलित सदस्यमा प्रेस चौतारीका पुस्करराम लुहार, महिला सदस्यमा प्रेस युनियनका दमयन्ती जोशी र आदिबासी जनजाति सदस्यमा युनियनकै बिशन सिंह बुढाथोकी गरी तीन जना सदस्य निर्बिरोध चयन भएका छन् । उनीहरुको एकल उम्मेदवारी परेकाले निर्बिरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक बमले बताउनुभयो ।
प्रदेश परिषद सदस्यमा प्रेस चौतारीकै उम्मेदवारहरु भोजराज पन्तले ६६, बिरेन्द्र महराले ६६, मीन बहादुर धामीले ६४, गोकर्ण मिश्रले ६७, शेरबहादुर बिष्टले ६६ मत, लक्ष्मण धामीले ६६ मत र आनसिंह बडालले ६७ मत प्राप्त गर्दै विजयी भएका छन् । यस्तै केन्द्रिय परिषद सदस्यमा चौतारीकै हिरा सिंह धामीले ६८ मत, पदम बडालले ६६ मत र इन्द्र सिंह साउँदले ६४ मत प्राप्त गर्दै निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
बुधबार बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान भएको थियो । मतदान सम्पन्न भएपछि मतगणना गरेर बुधबार राती नै मतपरिणाम घोषणा गरिएको थियो ।
मतपरिणाम घोषणापछि पत्रकार महासंघ दार्चुलाको निर्वाचन शान्त र मर्यादित ढंगले सम्पन्न गर्न सहयोग गर्ने सबैलाई पत्रकार महासंघ दार्चुला शाखाका निवर्तमान अध्यक्ष शंकरसिंह धामी र निर्वाचन समितिले धन्यबाद व्यक्त गर्दै निर्वाचित कार्यसमितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासंघमा पहिलो पटक जिल्ला, प्रदेश र केन्द्रको एकैदिन प्रतक्ष निर्वाचन प्रणालीबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न गरिएको हो ।







प्रतिक्रिया