दार्चुला । दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर ४ का ६१६ घरधुरीलाई चालु आर्थिक वर्षमा खाना पकाउने ग्याँस सिलिण्डर वितरण गरिएको छ ।
ग्याँस सिलिण्डर वितरण कार्यक्रम अन्तरगत आइतबार गाउँपालिकाको वडा नम्बर ४ सुन्सेराको डोब, पथरकोट, खालिगडा, दम्फा, खातीगाउँमा सिलिण्डर वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दिलिप सिंह बुढाथोकीले जानकारी दिनुभयो । एक कार्यक्रमका बिच उक्त बस्तीका २३९ घरधुरीलाई सिलिन्डर वितरण गरिएको उहाँले बताउनुभयो ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा धुवाँमुक्त कार्यक्रम अन्तर्गत ४० लाख बजेट बिनियोजन गरेर सिलिन्डर खरिद गरेको हो । वडा नम्बर ४ यसअघि पहिलो चरणमा ३७७ घरधुरीलाई ग्याँस सिलिण्डर वितरण गरिएको थियो । धुँवामुक्त कार्यक्रम अन्तरगत व्यास गाउँपालिकाले ग्यास सिलिण्डर वितरण गरिरहेको छ ।
यसअघि व्यासको वडा नम्बर ५ र ६ का सबै घरधुरीमा ग्याँस सिलिण्डर वितरण गरिसकेको गाउँपालिकाले जनाएको छ । अगामी वर्षदेखि सिलिण्डर पाउँन बाकी वडा नम्बर १, २ र ३ का घरधुरीलाई सिलिण्डर वितरण गरिने गाउँपालिकाको योजना छ ।
प्राकृतिक स्रोतको संरक्षण गर्न तथा गाउँपालिकालाई धुवामुक्त पार्न जनतालाई ग्याँस सिलिण्डर वितरण गरिएको अध्यक्ष बुढाथोकीको भनाई छ । दाउराको आगोमा खाना पकाउदा फोक्सो र आखामा विभिन्न किसिमका रोगहरुको संक्रमण हुने भएका कारण पनि उक्त कुरालाई मध्यनजर गर्दै सिलिण्डर वितरण गरेको उहाले बताउनुभयो ।
गाउँपालिकाको धुवामुक्त कार्यक्रम लागु भए संगै स्थानीय हर्षित भएको व्यासका स्थानीय एबं नेबि संघ दार्चुलाका प्रवक्ता दिपक खातीले बताउनुभयो ।








प्रतिक्रिया