कुणी, कुसकाडा बृहत खानेपानी आयोजनाको बोलपत्र आह्वान

दार्चुला । वर्षौदेखि खानेपानी समस्या झेल्दै आएको कुणी, कुसकाडा क्षेत्रमा बृहत खानेपानी आयोजना सञ्चालनका लागि बोलपत्र आह्वान गरिएको छ ।

खानेपानी समस्याले पिरोलीरहेको कुणी, कुसकाडा लगायत क्षेत्रमा चमेलिया नदीबाट लिफ्ट गरी खानेपानी पुर्याउन जलवायु अनुकुलित बृहत खानेपानी आयोजना निर्माणको लागि वैशाख ३ गते बोलपत्र (टेण्डर) आह्वान गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाका स्वकिय सचिव दौलतसिंह ठगुन्नाले जानकारी दिनुभयो ।

यो आयोजना सम्पन्न भएपछि लेकम गाउँपालिका वडा नम्बर २ सहित छिमेकी वडाहरुका झण्डै १३ सय घरधुरी खानेपानी आयोजनाबाट लाभाबिंत हुने बताइएको छ । खानेपानीको चरम अभाव भोगिरहेका लेकम गाउँपालिका वडा नम्बर २ कुणी, कुसकाडा लगायत विभिन्न बस्तीमा खानेपानी पुर्याउन लागु भएको चमेलिया लिफ्टीङ खानेपानी आयोजना निर्माणमा राजनीतिक स्वार्थका कारण केहि ढिलाइ समेत भएको छ । टेण्डर आह्वान भइसकेकोले स्थानीयहरुले सहयोग गरे निर्धारित समयमै खानेपानी आयोजना निर्माण सम्पन्न हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कञ्चनपुरले जनाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री एबं नेकपा एमालेका नेता गणेशसिंह ठगुन्नाको पहलमा कुणी, कुसकाडा क्षेत्रको खानेपानी समस्या समाधान गर्न सुदूरपश्चिम प्रदेशकै ठूलो खानेपानी आयोजना स्वीकृत भएको थियो । आयोजना कार्यान्वयनमा राजनीतिक स्वार्थ देखिएपछि उपभोक्ता समिति गठनका लागि समेत लामो समयसम्म विवाद भएको थियो । यो खानेपानी योजना माग गर्नका लागि काठमाण्डौँसम्म धाउनुभएका तत्कालिन उपभोक्ता समिति अध्यक्ष एबं वर्तमान उपभोक्ता समिति कोषाध्यक्ष जयदेब भट्टलाई अध्यक्ष मान्न नेपाली काग्रेश निकट कार्यकर्ता र केहि स्थानीय तयार नभएपछि नेपाली काग्रेशका स्थानीय नेता बहादुरसिंह खत्रीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभाग, जलवायु अनुकुलित बृहत खानेपानी आयोजना तथा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कञ्चनपुरबाट सञ्चालित चमेलिया खानेपानी आयोजना कुणी कुसकाडामा जलवायु अनुकुलित बृहत खानेपानी आयोजना छिटो निर्माण गरिदिन स्थानीयले माग गरेका छन् । चालु आर्थिक वर्षमा झण्डै २५ करोड बजेट संघीय सरकारबाट प्राप्त भएकोमा लागत अनुमानको एक प्रतिषतले हुन आउने रकम २४ लाख ९८ हजार ७५ रुपैँया लेकम गाउँपालिकाले व्यहोरेको छ । लामो समयको प्रयासपछि पाप्त आयोजना निर्माणमा तिब्रता दिन स्थानीयले माग गरेका छन् ।

फोटो विवरण उपलब्ध छैन।

गाउँमा खानेपानीका मुल नहुदा कुणी, कुसकाडा क्षेत्रमा अधिकासं समय खानेपानीको हाहाकार हुने गरेको छ । सिचाई वा अन्य प्रयोजनका लागि त परै जाओस पिउन समेत खानेपानी अभाव रहेको स्थानीयको गुनासो छ । आयोजना छिटो निर्माण गरेर खानेपानीको समस्या समाधान गरिदिन स्थानीयहरुले सरोकारवालाहरुलाई अनुरोध गरेका छन् । खानेपानी अभावमा स्थानीयले पिठ्युमा घण्टौँ खानेपानी बोकेर जोहो गर्नुपरेको छ ।

दार्चुलाको लेकम गाउँपालिका, मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाका दर्जनौँ गाउँमा खानेपानीको हाहाकार भएको छ । सुख्खायाम सुरु भएसंगै दार्चुलाका ग्रामीण बस्तीमा खानेपानीको चरम समस्या देखिन थालेको हो । यो वर्ष समयमै वर्षा नहुँदा अधिकासं खानेपानीका मुहान सुकेका छन् । मुहान सुक्दा र पानीको मात्रा घट्दा स्थानीयले अभाव बेहोर्नुपरेको छ । नियमित वर्षा नहुदा पहाडी क्षेत्रमा खानेपानी समस्या बर्सेनि बढ्दै गएको छ ।

लेकम गाउँपालिका–२ कुणीमा करिब १२ किलोमिटर टाढा दोबाटाको मुहानबाट पानी लगिएको छ । सुख्खायाममा उक्त बस्तीका लागि ३÷४ दिनपछि एक घण्टाका लागि मात्र पानी आउने गरेको छ । दोबाटोबाट आएको पानी पिउन समेत नपुग्ने भएकोले सरसफाइ गर्न, खाना पकाउन र गाइभैँसीका लागि नजिकका खोलाहरुबाट पानी बोकेर जोहो गर्नुपर्ने बाध्यता रहेको स्थानीय मोहनदेब भट्टले बताउनुभयो । खोलामा समेत प्रयाप्त पानी नहुदा झनै समस्या भोग्नुपरेको उहाँको भनाई छ ।
दार्चुलाका सबै स्थानीय तहका उच्च भेग र पाखो क्षेत्रका अधिकांश बस्तीमा पानीको समस्या रहेको लेकम गाउँपालिका–२ का शिवराज जोशीले बताउनुभयो । चैत महिना सुरु भए देखि नै गाउँ नजिकका मुहान सुक्न थाले, केहीमा पानीको मात्रा धेरै घटिसकेको छ, उहाँले भन्नुभयो, अहिले गाउँदेखि निकै टाढाबाट पानी बोकेर समस्या टार्दै छौँ ।

मालिकार्जुनको भगवती, सिराड, हुनैनाथ, लेकम गाउँपालिकाको कुणी, कुसकडा, सल्ला, रातामाटा, खरकडा, रिठाचौपाता, मैखोली, उचाकोट, बडीपुर लगायतका बस्तीहरूमा खानेपानीको समस्या रहेको छ । अधिकासं ठाउँमा खानेपानी योजनाका धारा र पानीका पाइप भएपनि मुहानमा पानी नहुँदा उपभोग गर्न नपाइएको उहाँको भनाई छ । मैखोली टोलमा ट्याङ्की (नौला) को पानी सुकेपछि राती जागराम बसेर फोहोर पानी संकलन गर्दै दैनिकि चलाउनुपरेको स्थानीय लिलाधर जोशीले बताउनुभयो ।

खानेपानीका केही मूल बाढीपहिरोले क्षतिग्रस्त भएका छन् । धेरै ठाउँमा सडक लगायत भौतिक निर्माणका कामहरुले समेत क्षती पुर्याएको छ । धेरै ठाउँमा मूल नहुँदा पानीको समस्या हल गर्न ठूलो आयोजनाको खाँचो देखिएको छ । जलवायु परिवर्तन र पूर्वाधार निर्माणले पानीका मूलहरूमा असर परेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?