दार्चुला । दार्चुला जिल्लालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको छ । स्थानीय स्थायित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ दार्चुलालाई शुक्रबार ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको हो ।
केहि दिन अघि मात्रै दार्चुलाका नौँ वटै स्थानीय तहमा खोप सुनिश्चितता भए नभएको, अनुगमन, निरीक्षण र भेरिफाईको काम गरिएको थियो । सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि जिल्लालाई नै पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिनुभयो । १६ देखि २३ महिना भित्रका सम्पूर्ण बालबालिकाले नियमित खोप लगाएको आधारमा दिगोपना तथा सुनिश्चितता भएको घोषणा गरिएको उहाँले बताउनुभयो ।
जिल्ला पूर्ण खोप समन्वय समितिका अध्यक्ष एबं समन्वय समिति दार्चुलाका प्रमुख करबिर बहादुर कार्कीको अध्यक्षतामा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य गेल्बुसिंह बोहरा प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्य, सुरक्षा र सञ्चारकर्मी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो । ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा कार्यक्रमका सहभागिहरुले बालबालिकाहरु नै भविष्यका करुणाधार भएकोले अगामी दिनमा समेत आवश्यक सबै प्रकारका खोप सबै बालबालिकाले अनिवार्य रुपमा पाउनुपर्ने धारणा राखेका थिए ।
स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार दार्चुलामा १६ देखि २३ महिनाका कुल एक हजार ७०३ जना बालबालिका छन् । जसअनुसार महाकाली नगरपालिकामा २५१ जना, शैल्यशिखर नगरपालिकामा २७९ जना, नौगाड गाउँपालिकामा २१५ जना, मार्मा गाउँपालिकामा १८७ जना, अपिहिमाल गाउँपालिकामा ८३ जना, लेकम गाउँपालिकामा २०४ जना, मालिकार्जुन गाउँपालिकामा १७९ जना, व्यास गाउँपालिकामा १४४ जना र दुहुँ गाउँपालिकामा १६१ जना बालबालिका रहेका छन् ।






प्रतिक्रिया