दार्चुला । बुधबारदेखि वर्षा संगै दार्चुलाका विभिन्न उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । हिमपातपछि हिमाली क्षेत्रका डाडाकाडाहरु सेताम्य भएका छन् ।
यो वर्षको हिउदमा विगत वर्षहरुको तुलनामा न्यून हिमपात भएको थियो, अपिहिमाल गाउँपालिकाका शिक्षा शाखा प्राविधिक सहायक मदनराज जोशीले भन्नुभयो, गर्मी बढेसंगै हिमालको हिउँ पग्लेर डाडाकाडा नागों देखिन थालेका थिए । बुधबारदेखि हिमपात भएसंगै डाडाकाडाहरु हिउँफुलले भरिएका छन् । हिउँदमा हिउ नपरेको ठाउँमा समेत पहिलो पटक वैशाख महिनामा हिमपात भएको उहाँले बताउनुभयो ।
अपिहिमालका साथै जेठबहुरानी, कापाचुली लगायत हिमालमा भारी हिमपात भएको छ । व्यास गाउँपालिकाको कैचुला बनमा बैशाख महिनामा पहिलो पटक हिमपात भएको स्थानीय पार्वती कुवँरले बताउनुभयो । उच्च हिमाली क्षेत्रमा वर्षेनी हिमपात हुदै आएपनि यो वर्ष वैशाखमा गाउँ नजिकैसम्म हिउँ पुगेको स्थानीयहरुले बताएका छन् । गर्मीको समयमा गाउँसम्म हिमपात भएपछि स्थानीयहरु दंग भएका छन् । मार्मा गाउँपालिका लगायत विभिन्न क्षेत्रमा असिना पानीले तरकारी र गहुँ बाली नष्ट भएको पत्रकार नरेन्द्र जोशीले बताउनुभयो।
अपिहिमाल गाउँपालिका, व्यास गाउँपालिका, दुहुँ गाउँपालिका, मार्मा गाउँपालिका र नौगाड गाउँपालिकाको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसंगै वैशाखमा समेत चिसो बढेको अपिहिमालका स्थानीय कमलेस मन्यालले बताउनुभयो । विगतमा वैशाखमा गर्मी हुने भएपनि यस पटक चिसोले आगो ताप्नु परिरहेको उहाँको भनाई छ । हिउँद भरि प्रयाप्त वर्षा नहुँदा खाद्यान्न उत्पादनमा गिरावट आएको छ भने कतिपय गाउँमा पानीका मुलहरु सुकिसकेका छन् ।
वर्खायाम शुरु हुनेबेला वर्षा भएकोले वर्खे बाली लगाउन राहत महसुस भएको किसानहरुले बताएका छन् । खेतमा मकै छर्ने बेला प्रयाप्त वर्षा भएकोले खुसी महसुस गरेको नौगाडका कृषक प्रेम ठगुन्नाले बताउनुभयो ।













प्रतिक्रिया