प्रधानमन्त्रीले गरे पुनर्निर्मित धरहराको उद्घाटन, ज्यान गुमाएका परिवारलाई रोजगारी

दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गर्नुभएको छ ।

धरहरा रहेको स्थान सुन्धारामा शनिबार बिहान आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले धरहराको उद्घाटन गर्नुभएको हो ।

धरहरामा राखिएको शिलालेख अनावरण गरेपछि उहाँ बालकोनीमा पुग्नुभएको थियो । त्यहाँबाट उहाँले काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्नुभयो । लिफ्टबाट २० औं तलामा रहेको बालकोनीमा पुगेर प्रधानमन्त्री ओलीले पुष्पवृष्टि समेत गर्नुभयो ।

२०७२ सालको भूकम्पमा भत्किएको धरहरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरेको हो । धरहरा पुनर्निर्माणको शिलान्यास प्रधानमन्त्री ओलीले २०७५ पुस १२ गते गर्नुभएको थियो ।

बाहिरबाट हेर्दा धरहरा पुरानै डिजाइनको ११ तलाजस्तो देखिए पनि भित्री संरचना भने सुविधासम्पन्न २२ तलाको छ । यसको अग्लाइ जमीनबाट ८३.८५ मिटर रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलालले जानकारी दिनुभयो ।

१९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । सो भुइँचालोले दुई तला भत्किएपछि ९ तलामा सीमित भएको थियो ।

धरहराको उदघाटन गरिए पनि पुनर्निर्माणको सबै काम भने सम्पन्न भइसकेको छैन । त्यसैले अहिले नै धरहरा अवलोकन गर्न जान पाइँदैन ।

धरहरामा रंगरोगनको काम सकिएको छ र हाल दुईवटा लिफ्ट जडान गरिएको छ । यद्यपि तत्काललाई एउटा मात्र लिफ्ट संचालन गरिएको छ । पार्किङ क्षेत्र, बगैंचालगायतको काम पनि जारी छ । २०७२ साल वैशाख १२ को भूकम्पले भत्किएर बाँकी रहेको धरहराको तल्लो भागलाई सिसाभित्र राख्ने योजना समेत प्राधिकरणका सचिव गेलालले बताउनुभयो ।

गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पमा परी ८ हजार बढीको मृत्यु भएको थियो भने हजारौं भौतिक संरचनामा क्षति पुगेको थियो ।

महारानी ललित त्रिपुरा सुन्दरीको सम्झनामा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले विक्रम संवत् १८८२ मा धरहरा बनाउन लगाएका थिए । त्यसैले धरहरालाई भीमसेन स्तम्भ पनि भनिन्छ । १९९० सालको भूकम्पले भत्किएको धरहरा तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमसेरले पुनर्निर्माण गराएका थिए ।

२०७२ सालको भूकम्पमा पुनः भत्किएपछि सरकारले आर्थिक कोष खडा गरेर ‘मेरो धरहरा मै बनाउँछु’ अभियान सुरु गरेको थियो । धरहरा पुर्निर्माणमा ३ अर्ब भन्दा लाग अनुमान गरिएको र कोषबाट अपुग रकम सरकारले व्यहोर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गर्न पाउँदा आफूलाई अत्यन्तै खुशी लागेको बताउनु भएको छ ।

धरहराको उद्घाटनपछि उहाँले धरहराको बाँकी काम समयमा नै सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । यस्तै, उहाँले धरहरा पुनर्निर्माणमा खटिएका सबैलाई धन्यवाद दिनु भएको छ ।

‘राति पनि मैले हेरेको थियो, धरहरामा रङ्गरोगन गर्ने र सरसफाइ गर्ने काम भइरहेको थियो, दिनरात नभनेर काममा खटिनेहरुलाई म धन्यवाद दिन चाहन्छु’( उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको धरहरा बनेको भन्दै पुनर्निर्माणमा खटिनेहरु सम्मानको हकदार भएका बताउनुभयो ।

२०७२ साल फागुनमा ‘मै बनाउँछु मेरो धरहरा अभियान’ बाट चलाए पनि त्यो अभियान अगाडि बढ्न नसकेको तर, फेरि अर्को अभियान चलाएर धरहरा बनाउन सकिएको बताउनुभयो । उहाँले नेपालको इतिहास, संस्कृति झल्कने र आधुनिकता टल्किने अवधारणासहित धरहरा बनाएको दाबी पनि गर्नुभयो ।

धरहरा बनाउन प्रधानमन्त्री ओलीले आज २० औं तलामा रहेको धरहराको बालकोनीबाट पुष्पवृष्टि गरेर उद्घाटन गर्नु भएको हो । धरहरामा राखिएको शिलालेख अनावरण गरेपछि उहाँ २० औं तलाको बालकोनीमा पुग्नु भएको थियो । त्यहाँबाट उहाँले काठमाण्डौ उपत्यकाको दृश्यावलोकन समेत गर्नु भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरासँग सम्बन्धित दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई रोजगारी दिने बताउनु भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?