दार्चुला । दार्चुलाबाट चल्ने लामो दुरीका यातायातका साधनहरुको सेवा तत्कालका लागि बन्द हुने भएको छ । जिल्ला बाहिरबाट भित्रिएका बसहरु विहिबार (आज) फर्किने र शुक्रबारदेखि लामो दुरीका बसहरु नचल्ने यातायात व्यवसायीहरुले बताएका छन् ।
कैलाली र कञ्चनपुर जाने यात्रुहरुका लागि विहिबार (आज) बेलुकी भने दार्चुलाबाट बस छुट्ने बताइएको छ । देशभर कोरोना संक्रमण फैलिदै गएको तथा कैलाली, कञ्चनपुर र काठमाण्डौँ लगायत सहरमा विहिबार (आज) देखि निशेधाज्ञा लागु गरिएकोले शुक्रबार (भोलि) देखि लामो दुरीमा चल्ने यातायातका साधनहरु बन्द हुने पवनदुत टिकट काउन्टर खलंगाले जनाएको छ । बस सेवा बन्द भए जिल्ला बाहिर जान चाहाने यात्रुहरु समस्यामा पर्ने भएका छन् ।
दार्चुलाबाट कैलाली, कञ्चनपुर र काठमाण्डौँसम्म दर्जन बढी बसहरु सञ्चालन हुदै आएका छन् । निशेधाज्ञा लागु भएसम्म लामो दुरीको बस सेवा नियमित सञ्चालन हुने सम्भावना नरहेको यातायात व्यवसायीहरुको भनाई छ । नियमित बस सेवा बन्द भएपनि प्रशासनको अनुमतिमा अत्यावश्यक कामका लागि बस सञ्चालन गर्न सकिने छ ।
छोटो दुरीमा चल्ने यातायातका साधनहरुमा समेत स्वास्थ्य सुरक्षाका मापदण्डहरुको अनिवार्य पालना गर्न प्रहरीले अनुरोध गरेको छ । मास्क नलगाउने र जनस्वास्थ्यका मापदण्डको पालना नगर्ने यातायात व्यवसायी र यात्रुहरुलाई कारवाही हुने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
दार्चुलामा बुधबार चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल दार्चुलामा गरिएको एन्टिजेन परीक्षणबाट चार जनामा संक्रमण पुष्टि भएसंगै उच्च सतर्कता अपनाउन स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन् । बुधबार संक्रमण पुष्टि हुनेमा एक जना सुरक्षाकर्मी र तीन जना स्थानीय रहेको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना भाइरस फोकल पर्शन बिरेन्द्रराज भट्टले जानकारी दिनुभयो ।
कोभिड संकट व्यवस्थापन केन्द्र दार्चुलाले अस्पताल र जिल्लाका स्थानीय तहहरुसंग रहेका एम्बुलेन्सहरु २४ सैँ घण्टा सेवा दिने गरी तयारी अवस्थामा राख्न अनुरोध गरेको छ । कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाभरीका स्थानीय तहहरुलाई एम्बुलेन्स र आइसोलेसन व्याड तयारी अवस्थामा राख्न आग्रह गर्ने निर्णय गरेको हो ।
समुदायमा कोरोना फैलिन थालेको भन्दै भिडभाड हुने सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, पार्टी प्यालेस, मनोरञ्जन स्थल, हाटबजार बन्द गर्न र स्थानीय तहहरुमा विगतमा संचालन गरिएका आइसोलेसनहरु पुनः संचालनमा ल्याउन तथा अक्सिजन सहितको आइसोलेसन वार्डको तयारी गर्न जिल्लाका स्थानीय तहहरुलाई अनुरोध गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले बताउनुभयो । त्यस्तै अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनै परे जनस्वास्थ्यका मापदण्डहरु तथा भौतिक दुरी कायम गरी अनिवार्य मास्कको प्रयोग गरि निस्कन पनि आग्रह गरिएको छ ।
मास्क नलगाएका वा जनस्वास्थ्यका मापदण्ड पुरा नगरेका व्यक्तीहरुलाई कुनै पनि सरकारी कार्यालयमा प्रवेश हुन नदिने निर्णय गरिएको छ । समुदायमा कोरोना संक्रमण फैलिने जोखिम बढेको भन्दै तत्काल जिल्लाका शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरिएको छ ।
भौतिक रुपमा विद्यालयमा पठन–पाठन तथा परीक्षा सञ्चालन लगायतका शैक्षिक गतिविधिहरु तत्काल बन्द गर्न सबै स्थानीय तहहरुलाई अनुरोध गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो ।





प्रतिक्रिया