दार्चुला । कोरोना संक्रमण पुष्टि भएर शरीरमा अक्सीजनको मात्रा कम भएपछि दार्चुलाबाट एक जना नेपाली सेनाका नायकलाई सिमरिक हेलिकप्टरमार्फत काठमाण्डौँ लगिएको छ ।
जिल्ला अस्पताल दार्चुलामा आइसियु नभएका कारण उहाँलाई रेफर गरिएको हो । काठमाण्डौँमै नेपाली सेनामा कार्यरत दार्चुलाको ब्याँस गाउँपालिका घर भएका ४५ वर्षीय ति नायकको शरीरमा सामान्य अवस्थामा हुनुपर्ने अक्सीजनको मात्रा निकै कम भएपछि काठमाण्डौँ रेफर गरिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बरदत्त भट्टले जानकारी दिनुभयो ।
वैशाख १५ गते जिल्ला अस्पतालमा गरिएको एन्टिजेन परीक्षणमा उहाँमा कोरोना पोजेटिभ आएको थियो । अस्पतालकै आइसोलेशनमा रहेका उहाँको स्वास्थ्य अवस्था दिनानुदिन बिग्रीदै गएपछि आज रेफर गरिएको भट्टले बताउनुभयो ।
उहाँको शरीरमा अहिले अक्सीजनको मात्रा ६२/६३ मात्रै रहेको उहाले बताउनुभयो । मानिसको शरीरमा सामान्यतया अक्सीजनको मात्रा ९५ हुनुपर्छ ।
दार्चुलामा हालसम्म कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । ज्वरो, रुघाखोकी, स्वास फेर्न गाह्रो भएको तथा खोकी बढ्दै गएका संक्रमितको संख्या बढ्दै गएको छ ।





प्रतिक्रिया