दार्चुला । गत साताको हिमपातले हिमाली भेगका किसान मारमा परेका छन् । वैशाख दोस्रो साताको हिमपातले हिउँदे बाली पाक्न समस्या परेको स्थानीय बताउँछन् ।
‘यस वर्ष हिउँदमा हिउँ परेन । कुबेलाको हिउँले पाक्न लागेको बाली बिग्रेको छ,’ अपीहिमाल गाउँपालिका–३ क्षेत्तीका किसान रामसिंह बोहराले भन्नुभयो, ‘वैशाखको हिमपातले खेती पाक्नलाई समस्या हुन्छ ।’ अहिले हिउँदे बाली पसाउने समय हो ।
धेरै उचाइको खेती भएकाले यहाँ हिउँदे खेती (जौ, गहुँ) वैशाखबाट पसाउन सुरु हुन्छ । पसाउने समयमा हिउँ पर्दा बाली बिग्रेको उनको भनाइ छ । अहिले जौ र गहुँका बोट हिमपातले खराब भएको छ । खेती उत्पादन नभए स्थानीयलाई खाद्यान्न जुटाउन समस्या हुने स्थानीय बताउँछन् । यहाँ धान फल्दैन ।
चामलबाहेक क्षेत्ती गाउँका बासिन्दा सबैजसो स्थानीय अन्नकै उपभोग गर्दै आएको ७८ वर्षीय धनी बोहराले बताउनुभयो। ‘पहिले हामी चामल नपाइने हुँदा भात खाँदैनथ्यौं । अहिले त बाहिरबाट चामल बोकी भात खाइन्छ,’ उहाँले भन्नुभयो, अन्य अन्न सबै गाउँकै खाइन्छ ।’ यो वर्ष गहुँ, जौ, फापरलगायतका बाली हिउँदमा हिउँ नपर्दा बिग्रेको छ । केही बचेको बाली पनि वैशाखमा हिउँ परेर ढलाउँदा पाक्ला जस्तो नदेखिएको बोहराको भनाइ छ ।
तीन हजार मिटर उचाइमा रहेको क्षेत्ती बस्तीमा ४० भन्दा बढी परिवारको बसोबास छ । यसअघि बस्तीमै मंसिरदेखि फागुनसम्ममात्रै हिमपात हुन्थ्यो । यसपालि हिउँदमा खासै हिउँ नपरेको र वैशाखमा बालीलाई ढाल्ने गरी हिमपात भएको छ । अघिल्ला वर्ष यो सिजनमा यहाँ पानी पर्न मुस्किल हुन्थ्यो ।
यसपालि भने वैशाखमै तीनपटक हिउँ परेको स्थानीय सुरेन्द्र बोहराले बताउनुभयो । अरू वर्ष यतिबेला डाँडापाखा हिउँ पग्लेर रित्ता भइसक्थे । स्थानीय जडीबुटी खोज्न लेकतिर गइसकेका हुन्थे । यसपालि हिउँले जंगल ढाकेकाले घरमै बस्नुपरेको उनीहरू बताउँछन् ।
यहाँको उच्च हिमाली भेगमा वैशाखको दोस्रो साताबाट मौसममा बदली भई हिमपात सुरु भएको हो । तीन चार दिन निरन्तर हिमपात हुँदा चिसो बढेको छ भने जताततै सेताम्य देखिएको छ । विगतका वर्षमा चैत दोस्रो सातादेखि यहाँका उच्च हिमाली बस्तीमा गर्मी मौसम सुरु हुने गर्थ्यो तर यो वर्ष वैशाख महिनामा हिमपात हुँदा चिसो बढेको छ । हिमपातसँगै जिल्लाको तापक्रम माइनसमा झरेको छ ।
अपीहिमाल गाउँपालिकाको क्षेत्तीमा दुई फिट र घाँजिर बस्तीमा एक फिट हिउँ जम्दा पाक्न लागेको खेतीमा नोक्सानी भएको छ । त्यस्तै बर्खे बाली लगाउन थातथलो फर्केका व्यास गाउँपालिका–१ का स्थानीयलाई हिमपातले खेती लगाउन समस्या भएको छ । वैशाखको दोस्रो साताको सुरुवातदेखि नै मौसममा बदली भई हिमपात हुँदा खेतमा हिउँ जमेको व्यास गाउँपालिका–१ छाङरुका स्थानीय जसपाल ऐतावलले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘बर्खे खेती लगाउने समय सुरु भइसक्यो । खेत हिउँले ढाकेका छन् । वैशाखको तेस्रो वा चौथो सातासम्म जौ लगाउन सके राम्रो फल्छ । दुई तीन दिन बिराएर गाउँमा हिमपात भइरहेको हुँदा सदरमुकामको गर्मीबाट आएका बालबालिकाहरूलाई चिसोमा समस्या भएको उनको भनाइ छ ।
यो समाचार कान्तिपुरमा मनोज बडूले लेख्नुभएको छ ।





प्रतिक्रिया