दार्चुला । दार्चुलाको गोकुलेश्वर अस्पतालमा एकै दिन दुई जना कोरोना संक्रमितको ज्यान भएको छ । शनिबार एक जना पुरुष र एक जना महिला संक्रमितको मृत्यु भएको गोकुलेश्वर अस्पतालका डाक्टर नियाज अन्सारीले बताउनुभयो ।
जिल्लाको नौगाड गाउँपालिका–५ घर भएका ७२ वर्षीय पुरुषको शनिबार राती अस्पताल पुर्याउने वित्तिकै मृत्यु भएको गोकुलेश्वर अस्पतालका डाक्टर अन्सारीले बताउनुभयो । उहाँले भन्नुभयो, राती ९ बजेर ३५ मिनेटमा नौगाडका एक ७२ वर्षीय पुरुषलाई आफन्तहरुले अस्पताल पुर्याएका थिए, उहाँको गोकुलेश्वर अस्पताल पुर्याएको ५ मिनेट पछि स्वास्थ्य परीक्षण गर्दा मृत्यु भएको पाइयो । उपचारका लागि अस्पताल ल्याउदै गर्दा उहाँको बाटोमै मृत्यु भएको हुनसक्ने अस्पतालले जनाएको छ ।
मृतक पुरुषमा एन्टिजेन परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । गाउँमा पशल सञ्चालन गर्दै आउनुभएका संक्रमित पुरुषको भारतबाट फर्किएकाहरुसंग भेटघाट हुने गरेको आफन्तहरुले बताएका छन् । कोरोनाको लक्षण पनि देखिएकोले शरीरमा अक्सिजनको मात्रा कम भएर मृत्यु भएको हुनसक्ने स्वास्थ्यकर्मीहरुको भनाई छ ।
यस्तै शनिबार विहान शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरका एक ६५ वर्षीया महिलाको गोकुलेश्वर अस्पतालमा कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । शुक्रबार अचानक श्वासप्रश्वासमा समस्या भइ अस्पताल भर्ना भएका उहाँको शनिबार बिहान मृत्यु भएको हो । अस्पताल ल्याउँदा उहाँको शरीरमा अक्सिजनको मात्रा निकै कम ४५ प्रतिशत रहेको डाक्टर अन्सारीले बताउनुभयो । मृतक दमका बिरामी रहेको अस्पतालले जनाएको छ । उहाँको शुक्रबार मात्रै कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।
यो सँगै दार्चुलामा कोरोनाका कारण मृत्यु हुनेको संख्या सात पुगेको छ । तीन जनाको जिल्ला भित्र तथा चार जना संक्रमितको उपचारको क्रममा जिल्ला बाहिर मृत्यु भएको छ । दार्चुलामा अहिले कोरोना भाइरसका १६८ सक्रिय संक्रमित रहेका छन् ।
जिल्लाभरी संक्रमित बढ्दै गएपछि शनिबार बेलुकीदेखि बैशाख मसान्तसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । अत्यावश्यक बाहेकका सवारीसाधनहरु समेत सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गर्न र अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन् ।





प्रतिक्रिया