नयाँ सरकार गठनको अल्टिमेटम आज सकिँदै,गठबन्धन सरकार बन्न ‘मुस्किल’

दार्चुला । नयाँ सरकार गठनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आज सकिँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि २७ गते राति नौ बजे राष्ट्रपति भण्डारीले दलहरुलाई बहुमतको सरकार गठनको लागि तीन दिनको अर्थात आज राति नौ बजेसम्मको समय दिनुभएको थियो । तर सरकार गठनको नेतृत्व गर्न तम्सिएको नेपाली कांग्रेसले बहुमत जुटाउन सकेको छैन ।

३२ जना सांसद रहेको जनता समाजवादी पार्टी दुई खेमामा विभाजित हुँदा गठबन्धनको नयाँ सरकार बन्ने सम्भावना कम हुँदै गएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले आफूहरु नयाँ सरकारमा नजाने भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत पत्र लेखिसक्नुभएको छ । तर अर्का अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराईले भने जसरी पनि केपी शर्मा ओलीलाई हटाउनुपर्ने भन्दै कांग्रेसलाई साथ दिने निर्णय गरिसक्नुभएको छ ।

जसपाले साथ नदिएपछि कांग्रेस सभापति देउवाले नेकपा एमालेको माधव नेपाल पक्षको साथ खोज्नुभएको छ । उहाँले नेपाल समूहका सांसदले राजीनामा दिएमा जसपाको महन्थ ठाकुर पक्षले साथ नदिए पनि नयाँ सरकार बन्ने बताउनुभएको छ । राजीनामा दिएर नयाँ सरकार गठनमा देउवालाई सघाउने बताए पनि माधव नेपाल समूहका सांसदले अहिलेसम्म राजीनामा दिएका छैनन् ।

नेपाल समूहका २८ जना सांसदले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिएकाले राजीनामा दिएर नयाँ सरकार गठनमा कांग्रेस र माओवादीलाई सहयोग गर्ने आँकलन गरिएको छ । अहिले संसदमा दुई सय ७१ सांसद संख्या कायम रहेकोमा बहुमतको लागि एक सय ३६ मत आवश्यक पर्छ । तर नेपाल पक्षका सांसदले राजीनामा दिएमा बहुमत पुर्‍याउन कांग्रेस र माओवादीलाई सहज हुन्छ ।

जसपा शीर्ष नेताको बैठक निष्कर्षविहीन

जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेताहरूबीच बुधबार बसेको पदाधिकारी बैठक विना निष्कर्ष सकियो। ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा बुधबार भएको बैठकमा शीर्ष तहबाट वैकल्पिक सरकार गठनका विभिन्न विकल्पबारे छलफल भएको नेता बाबुराम भट्टराईले जानकारी दिनुभएको छ।

उहाँले लोकतान्त्रिक पार्टी भएकाले फरकफरक धारणा आउनु स्वभाविक भएको भन्दै, छलफल जारी रहेकाले बिहीबारसम्म पार्टीको एकीकृत धारण तय गरिने जानकारी दिनुभयो। बुधबारको अनौपचारिक छलफलमा आएका विचारहरुमाथि थप छलफल गरेर राष्ट्रिय राजनीतिमा योगदान पुग्नेगरी एकीकृत निर्णय गरिने उहाँको भनाइ छ।

जसपाका अध्यक्ष महन्थ ठाकुरले बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्नुभएको थियो।

नेपाल पक्ष राजीनामा गर्ने नगर्ने अन्योलमा

त्यस्तै प्रधानमन्त्री ओलीलाई सत्ताच्यूत गर्न एमालेको नेपाल पक्ष पनि निर्णायक भूमिकामा छ। नेपाल पक्षका सांसदहरुले राजीनामा दिएमा वैकल्पिक सरकार बन्ने सम्भावना बन्ने देखिन्छ। तर यसअघि सोमबार नै राजीनामा दिने भनेको नेपाल पक्षमा पनि राजीनामा दिनको लागी पनि सांसदहरु हिच्किचाई रहेका छन।

नेपाल पक्षका प्रमुख नेताहरुले नै राजीनामा दिन नहुने बताएपछि नेपाल पक्षको सामुहिक राजीनामा आउनेमा पनि अलमल देखिएको छ। नेपाल पक्षका प्रमुख नेताहरु गोकर्ण विष्ट, योगेश भट्टराई लगायतका नेताहरु राजीनामा दिनु हुदैन भन्ने पक्षमा रहेका छन्।

तर निर्णायक लडाइमा रहेको नेपाल पक्षले राजीनामा गर्ने नगर्ने भन्नेमै अब सत्ताको समीकरण कस्तो बन्छ भन्ने टुंगो लाग्ने देखिन्छ। नेपाल पक्षमा राजीनामा दिने विषयमा विवाद छ भन्ने कुरा नेता भीम रावलले सामाजिक संजालमा टिप्पणी गर्दै ओलीलाई हटाउन राजीनामा गरेर नै अगाडी बढ्नुपर्ने बताएका थिए।

कसरी बन्छ नयाँ सरकार

संविधानको धारा ७६ को (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतको सरकार बनाउनु पर्ने छ। ३८ महिनापछि संसद्मा आफ्नो शक्ति जाँच्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत गुमाउन पुगे। उहाँले गत सोमबार विश्वासको मत लिँदा जम्मा ९३ मत पाउनुभयो, जुन कुल सांसद संख्याको करिब ३५ प्रतिशत मात्रै हो।

तीन बर्ष अघि प्रधानमन्त्रीको सपथ लिदा उहाँले १ सय ९३ सांसद अर्थात करिब ६४ प्रतिशतको समर्थनसहित सरकारको नेतृत्व गर्नुभएको थियो । अहिले उहाँ अल्पमतमा पर्नुभएको छ । यद्धपी ओली अल्पमतमा परेपनि विपक्षीहरुसँग पनि बहुमत छैन।

आजसम्म सरकार बनाउन चाहिने १ सय ३६ सांसद पुर्‍याउन दलहरुलाई चुनौति देखिन्छ। जसले प्रधानमन्त्री ओली ७६ (३) मा प्रवेश गर्ने सम्भावनाले विपक्षीलाई अत्याएको छ।

गठबन्धनको सरकार बनाउने संख्या पुग्न कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ र जसपा ३२ मध्ये कम्तिमा २६ सांसदको साथ चाहिन्छ।

तर जसपाको उपेन्द्र यादव पक्षले सरकार गठनमा पहल लिएपनि १५ सांसद रहेको महन्थ ठाकुर पक्षले सरकारमा सामेल नहुने स्पष्ट पारेको छ। यस्तो अवस्थामा प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिएको एमालेकै माधव नेपाल पक्षले राजीनामा दिए सरकार बन्न सक्ने छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?