दार्चुला । उपचारको क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएकी कोरोना संक्रमित महाकाली नगरपालिका वडा नम्बर ५ की ३८ वर्षीया महिलाको शव व्यवस्थापन गरिएको छ ।
सशस्त्र प्रहरीको सहयोगमा नेपाली सेनाले शवलाई महाकाली नगरपालिका—५ विरेन्द्र वनस्थित महाकाली नदी किनारमा हिन्दु परम्परा र पारिवारिक संस्कार अनुसार व्यवस्थापन गरेको हो ।
कोरोना संक्रमित उहाँको शुक्रवार मध्यराती डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि दार्चुला ल्याई शनिबार (आज) शव व्यवस्थापन गरिएको हो ।
उहाँको अन्तेष्ठी कार्यक्रममा महाकाली नगरपालिकाका नगरप्रमुख हंसराज भट्ट, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाका गणपति (एसपी) नरेन्द्र बम, नेपाली सेनाको गुरुगोरख गुल्मका गुल्मपति ओम विक्रम बस्नेत लगायतको सहभागिता रहेको थियो । शव व्यवस्थापनमा सशस्त्र प्रहरीले सहयोग गरेको थियो ।
निमोनियाको समेत संक्रमण देखिएका उहाँमा कोरोना पोजेटिभ आएपछि थप उपचारको लागि जिल्ला अस्पताल दार्चुलाबाट डडेल्धुरा अस्पताल रेफर गरिएको थियो । डडेल्धुरा अस्पताल पुर्याएको १५ मिनेटमै मृत्यु भएको मृतकका आफन्तहरुले बताएका छन् । यो सँगै दार्चुलामा छ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
शनिबार जिल्लामा पाँच जना संक्रमित थपिएसंगै कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ सय ३० पुगेको छ । संक्रमितमध्ये ३९ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

तस्बिर : पत्रकार सुन्दरसिंह धामी





प्रतिक्रिया