दार्चुला । महाकाली नगरपालिका वडा नम्बर ४ दार्चुला सदरमुकाम खलंगास्थित महेन्द्र नमुना माबिमा आइसोलेसन सेन्टर निर्माणको काम धमाधम भइरहेको छ ।
कोरोना संक्रमित बिरामीको सहजता तथा जीवन रक्षाका लागी महाकाली नगरपालिका क्षेत्र भित्र अक्सिजन सहित ५० शैय्याको आईसोलेशन सेन्टर निर्माण गर्ने तयारी अन्तरगत आइतबार बेलुकीसम्म २८ शैय्याको आइसोलेसन सेन्टर तयार भइसकेको स्वास्थ्य शाखा संयोजक मोहन महराले जानकारी दिनुभयो ।
सोमबार बेलुकीसम्म ५० शैय्याको आइसोलेसन सेन्टर तयार गरिने नगरपालिकाले जनाएको छ ।


यसअघि प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीको अध्यक्षतामा बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र दार्चुलाको बैठकले नयाँ भेरियन्ट सहितको कोरोनाको दोस्रो लहर जिल्ला भरी तिब्रताका साथ फैलिसकेकोले दार्चुलाको खलंगा र गोकुलेश्वरमा ५०/५० सैय्याको आइसोलेसन सेन्टर निर्माण गर्ने निर्णय गरेको थियो ।
सासंदहरुको सिफारिसमा विनियोजन भएको स्थानीय पुर्वाधार साझेदारी कार्यक्रमको २० लाख बजेटबाट खलंगामा अक्सिजन सहितको आईसोलेशन तयार भइरहेको नगरपालिकाले जनाएको छ । धनगढीबाट आवश्यक सामाग्री पुगेपछि आइतबारसम्म २८ बेड तयार भइसकेको र बाकी बेड निर्माणाधिन अवस्थामा रहेको महराले बताउनुभयो ।
महेन्द्र नमुना माबिमा अक्सिजन सहित ५० शैय्याको आईसोलेशन तयार गर्ने योजना छ । जिल्ला अस्पतालसंगको सहकार्यमा आइसोलेसन सेन्टर संचालनमा ल्याइने नगरपालिकाले जनाएको छ । महाकाली नगरपालिका सहित दार्चुला जिल्ला भरी कोरोनाका सक्रिय संक्रमित बढ्दै गएका छन् । दार्चुलामा कोरोनाका कारण छ जनाको मृत्यु भइसकेको छ ।

यसैबिच गोकुलेश्वर अस्पतालसंगको सहकार्यमा शैल्यशिखर नगरपालिकाले समेत २५ बेडको आइसोलेसन सेन्टर तयार गरेको छ । साविकको शैल्यशिखर नगरपालिका भवनमा २५ बेडको आइसोलेसन तयार गरिएको शैल्यशिखरका नगरप्रमुख अमरसिंह धामीले बताउनुभयो । नगरप्रमुख धामीका स्वकीय सचिव सुरेश बिष्टका अनुसार आइसोलेसन सेन्टरमा अक्सिजन, शौचालय, खानेपानी लगायत आवश्यक पुर्वाधारको व्यवस्थापन गरिएको छ ।
अहिले नगरपालिकाको आइसोलेसनमा एक जना पनी बिरामी बस्नुभएको छैन् । आइसोलेसनमा बस्ने बिरामीहरुको चाप हेरेर बेड थप गरिने नगरपालिकाले जनाएको छ । जिल्लाभरी कोरोना संक्रमित फेला परेपछि कोरोना उपचार, रोकथाम तथा नियन्त्रणका लागि विभिन्न प्रयासहरु भइरहेका छन् ।







प्रतिक्रिया