दार्चुला । महाकाली नगरपालिका वडा नम्बर २ बडालीगाउँ घर भई हाल मलेशियामा रोजगारी गरिरहनुभएका देवसिंह बडालले जिल्ला अस्पताल दार्चुलालाई १० हजार रुपैँया आर्थिक सहयोग गर्नुभएको छ ।
दार्चुलामा कोरोना संक्रमित बिरामीको उपचारका लागि अक्सिजन अभाव हुन थालेको सूचना पाएपछि बडालले अस्पतालमा अक्सिजन आपूर्तिका लागि सहयोगस्वरुप उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।
रोजगारीको सिलसिलामा मलेशियामा रहनुभएका बडालले आफ्नो भाई भवान सिंह बडाल मार्फत् अस्पताल व्यवस्थापन समिति अध्यक्ष दलजित सिंह धामीलाई १० हजार रुपैँया हस्तान्तरण गरेको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।
अक्सिजन आपूर्तिका लागि दार्चुला अस्पताललाई आर्थिक सहयोग गर्ने देवसिंह बडाल नै पहिलो व्यक्ति रहेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष धामीले बताउनुभयो । मलेशियामा सेक्युरिटी गार्डमा कार्यरत बडालले रोजगारी गरेर कमाएको तलब अस्पतालको अक्सिजन आपूर्तिका लागि पठाएकोमा उहाँले धन्यबाद ज्ञापन गर्नुभयो ।
अहिले जिल्ला अस्पताल दार्चुलामा सासंदहरुको सिफारिसमा विनियोजित स्थानीय पुर्वाधार साझेदारी कार्यक्रमको एक करोड ८० लाख बजेट र प्रदेश सरकारबाट प्राप्त ८० लाख बजेट रहेपनि अक्सिजन प्लान्ट लगायत अत्यावश्यक पुर्वाधारको व्यवस्थापन हुन सकेको छैन् ।
विभिन्न व्याक्तिहरुको सहयोग तथा पहलमा अस्पतालसंग भएका अक्सिजन सिलिण्डर भर्ने र आपुर्ती गर्ने काम भइरहेको छ ।





प्रतिक्रिया