दार्चुला । कोरोना भारसको परिक्षणका लागी स्वाब संकलनपछि रिपोर्ट आउनमा ढिलाई हुदाँ समस्या भएको छ । परिक्षणका लागी स्वाव दिएका ब्यक्ति रिपोर्ट नआउदाँसम्म समाजमा घुलमिल भइरहने भएकाले समस्या भएको लेकम गाउँपालिकाका स्वास्थ्यकर्मी पुरुषोत्तम जोशीले बताउनुभयो ।
लेकम गाउँपालिकाबाट पीसीआर परीक्षणका लागि वैशाख ३१ गते ९९ जनाको स्वाब संकलन गरि बैतडी प्रयोगशाला पठाइएको थियो । अहिलेसम्म रिर्पोट नआउदा स्वाब संकलन गरेका अधिकासं मानिसहरु गाउँ समाजमा घुमिरहेको पाइएको छ । स्रोतका अनुसार आधिकारीक रिर्पोट सार्वजनिक नभएपछि स्वाब संकलन गरेका मध्ये केहिलाई कोरोना पोजेटिभ देखिएको छ ।
नौगाड गाउँपालिकाबाट ३० गते स्वाब संकलन गरि बैतडी पुर्याएको भएपनि आज सम्म रिपोर्ट नआएको र समयमै रिपोर्ट नआउदा अवस्था थप जटिल बन्दै गैरहेको गाउँपालिकाका कर्मचारी नरेन्द्र ठगुन्नाले जानकारी दिनुभयो ।
स्वाव संकलन गरेको एक हप्ता सम्मपनि संक्रमण भए नभएको बिषयमा जानकारी नहुदाँ र स्वाब दिएकाहरु गाउँघरमा डुल्दा वा परिवारसंग घुलमिल हुँदा गाउँघरमा कोरोना संक्रमण सल्कीने सम्भावना बढ्दै गएको छ ।
महाकाली नगरपालिकामा समेत वैशाख ३१ गते डेढ सय जनाको स्वाब पठाइएकोमा मंगलबार सार्वजनिक रिर्पोट अनुसार ४२ जनामा पीसीआर विधिबाट कोरोना पुष्टि भएको छ । अहिले महाकाली नगरपालिकाका डेढ सय सहित दार्चुलामा चार सय संक्रमित रहेका छन् ।
जिल्ला अस्पताल बैतडीमा स्वाब दिएको कम्तीमा एक दिन र बढिमा १ हप्तासम्म रिर्पोट आउन लाग्ने गरेको बताइएको छ । मेसिनको क्षमता र जनशक्तीको अभावका कारण स्वाव संकलन केहि समय पर्खनुपर्ने अवस्था रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो ।
अहिलेपनि जिल्ला अस्पतालमा झण्डै सात सय ब्यक्तिको स्वाब परिक्षण हुन बाकिँ रहेको उहाँले बताउनुभयो ।
कोरोना परिक्षणका लागी स्वाव दिएका सबैले स्वाब दिएकै बेलादेखि अलग्गै बस्नुपर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । कोरोनाका दोस्रो लहर बढी संक्रामक र खतरनाग रहेको पुष्टि भइसकेकोले आफु पनि बच्न र अरुलाइ बचाउन स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन स्वास्थ्य कार्यालय दार्चुलाले अनुरोध गरेको छ ।





प्रतिक्रिया