दार्चुला । काठमाडौंबाट दार्चुला आउने क्रममा गाडी भाडा तोकिएको वा सम्झौता गरिएको भन्दा बढी उठाएको भन्दै आवश्यक कानूनी कारवाही तथा भाडा फिर्ताका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलामा उजुरी परेको छ ।
यात्रुहरुबाट अनावश्यक भाडा माग्ने र भाडा नथपे अलपत्र छोडिदिने यातायात व्यवसायीको धम्की कानून विपरीत भएकोले सत्यतथ्य अनुसन्धान गरी आवश्यक कारवाहीका लागि प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीलाई इमेलमार्फत अनुरोध गरिएको अधिवक्ता एबं दार्चुला (कोभिड–१९) सहयोग तथा समन्वय मञ्च संयोजक कृष्ण महराले बताउनुभयो ।
काठमाडौंबाट सोमबार दार्चुला जाने क्रममा भाडावापत चार हजार रुपैया दिईसकेपछी पुनः अत्तरिया पुगेपछि भाडा थप गर्नुस्, होइन भने तपाईहरुलाई यतै अलपत्र छोडिदिन्छु भनी अत्तरियामा ९८१ नम्बरको गाडी चालक र गाडी धनीले २,३ घण्टा रोकेपछि हामीसंग प्रतियात्रु एक हजार पाच सय थप भाडा लिएकोले काठमाडौंमा समस्या भई घर जान आएका हामीहरुलाई सार्वजनिक सवारी चालक र धनीले विपदको समयमा कानून विपरीत चर्को भाडा उठाएकोले अत्तरिया आई लिएको थप भाडा फिर्ता गर्न सहयोग गरिपाउ भनी आपतकालीन रूपमा सहयोग तथा समन्वय गर्न गठितसमन्वय मञ्चमा निवेदन परेको थियो ।
दार्चुला (कोभिड १९) सहयोग तथा समन्वय मञ्चका संयोजक समेत रहनुभएका अधिवक्ता महराले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई त्यसरी बीच बाटोमा समस्या परी घर फर्किन खोजेका यात्रुहरुलाई मनोवैज्ञानिक त्रास धम्की दिई यात्रुहरुको बिचल्ली पार्ने तथा बढी भाडा असुल्ने सार्वजनिक बस चालक तथा बस धनीलाई कानून बमोजिम हदैसम्मको कारबाही गरी अत्तरिया आई लिएको थप भाडा पन्ध्र सय रुपैया फिर्ता गराउन माग गर्दै निवेदन पेश गर्नुभएको हो । सामाजिक सञ्जालमा समेत बढी भाडा लिएको विषयमा चर्को आलोचना भइरहेको छ ।

निवेदन परेपछि प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले घटनाको अनुसन्धान तथा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय दार्चुलालाई निर्देशन दिनुभएको छ । घटनाबारे आवश्यक कारवाही प्रकृया अघि बढेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।






प्रतिक्रिया