कोरोना महामारीसंगै दार्चुलामा भाइरल ज्वरोको प्रकोप

दार्चुला । जिल्लाभरी कोरोना महामारीले सन्त्रास फैलिएको बेला गाउँगाउँमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । गाउँघरमा कोभिडको जस्तै लक्षणसहित बिरामी हुनेको संख्या बढेको नौगाड गाउँपालिकाका स्थानीय रमेश धामीले बताउनुभयो ।

दार्चुलामा एन्टिजेन किटको समेत अभाव भएकोले कोरोनासंग मिल्दाजुल्दा लक्षण देखा परेका कतिपय बिरामीको समेत स्वास्थ्य परीक्षण हुन सकेको छैन् । सबै स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित फेला परेका छन् ।

लेकमका स्थानीय बिष्णु जोशीले भन्नुभयो, ज्वरो मात्रै नभइ कोभिड संक्रमण भुसको आगो झै भित्रभित्रै सल्किरहेको छ । परीक्षण गरेका झण्डै आधा मानिसमा संक्रमण पुष्टि भइरहेकोले कोरोनाले महामारीको रुप लिनुभन्दा पहिले नै उच्च सतर्कता अपनाउनु आवश्यक रहेको छ । खासगरी ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने जस्ता समस्या भएका बिरामी जिल्लाको सबैजसो स्थानीय तहमा फेला परेका छन् ।

जिल्लाका सबै स्थानीय तहमा बिरामी देखिएका तर एन्टिजेन किट अभावले गर्दा कडा लक्षण भएकाहरुमा मात्रै परीक्षण गर्दा झण्डै ४० प्रतिशतमा कोभिड पुस्टि भइरहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुलामा कोरोना माहामारीकै बीचमा धेरै नेपाली भारतबाट घर फर्किएका छन् । भारतबाट घर फर्किदा सीमानामा सबैको अनिवार्य स्वास्थ्य परीक्षण गर्न नसक्दा गाउँ गाउँसम्म कोभिड संक्रण फैलिएको अनुमान गरिएको छ । स्वास्थ्यकर्मीहरुले कोरोनासंग मिल्दाजुल्दा लक्षण देखिएपछि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डको पालना गर्न सुझाब दिएका छन् ।

सबै भाइरल ज्वरो कोरोना नभएपनि त्यस्ता समस्या देखिएपछि रोगले जटिल अवस्था सिर्जना गर्नुभन्दा पहिले नै सावधानी अप्नाउन चिकित्सकहको अनुरोध छ ।

भाइरल ज्वरो र कोरोनाका लक्षण देखिएपछि सर्वप्रथम सतर्क रहेर बस्ने, होम आइसोलेसनमा बस्ने, पानी प्रशस्त मात्रामा मनतातो पानी खाने, बासी तथा चिसो पदार्थ सेवन नगर्ने, चिसोबाट बच्ने, तातोपानीको वाफ लिने, नुनपानी तथा बेसारले कुल्ला गर्ने तथा एक चम्चा मह, आधा चम्चा तुलसीको पातको रस र आधा चम्चा अदुवाको रस मिसाएर बिहान, दिउँसो तथा साँझदिनको तीन पटक सेवन गर्ने जस्ता घरेलु उपचार समेत गर्न सकिने स्वास्थ्यकर्मी राजेन्द्रसिंह धामीले बताउनुभयो ।

सामान्य लक्षण देखा परेका बिरामीहरुले घरेलु उपचार गर्ने तथा हल्का व्यायम गर्ने, चिकित्सकको सल्लाह अनुसार औषधी सेवन गर्नुपर्ने र कडा खालका लक्षण देखा परेमा अस्पताल जानुपर्ने उहाँको भनाई छ ।

यसैबिच सम्भावित कोरोना सङ्क्रमित खोज्न र निरोगीलाई सचेतनामूलक जानकारी दिन नौगाड गाउँपालिकामा स्वास्थ्यकर्मीको टोली गाउँघरमा पुगेको छ । गाउँपालिकाको छ वटै वडामा स्वास्थ्य चौकी प्रमुखहरुको नेतृत्वमा स्वास्थ्यकर्मी र ल्यावसहितको टोलीले घरघरमा पुगेर सम्भावित बिरामीको वर्गीकरण गरी उपचार गरिरहेको रेडियो लोकदर्पणका नौगाड समाचारदाता प्रकाश सिंह धामीले जानकारी दिनुभयो ।

नौगाड गाउँपालिकाका २६ जनामा हालसम्म कोरोना पुष्टि भएको छ । गाउँमा बिरामी थला पर्न थालेपछि ल्याबसहितको टोली घरमै पुगेर ज्वारो आएको भए तत्काल परीक्षण गरेर कोरोना हो वा होइन भन्ने निश्चित गरी सोही अनुसारको उपचार गर्दै आएको उहाँले बताउनुभयो ।

यसअघि दार्चुलाको अपिहिमाल गाउँपालिका र दुहुँ गाउँपालिकाले स्वास्थ्यकर्मीलाई गाउँघरमै पठाएर स्वास्थ्य सेवा दिइरहेका छन् । निषेधाज्ञाका कारण स्वास्थ्य संस्थासम्म पुग्न नसकेका बिरामीहरुको स्वास्थ्य परीक्षण, प्राथमिक उपचार र परामर्श सेवा गाउँघरमै प्रवाह भइरहेको अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?