दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर ४ नौपाटा घर भएका मोहनसिह ठेकरे हिम पहिरोमा परेर वेपत्ता हुनुभएको छ ।
गत जेठ ५ गते अपिहिमाल गाउँपालिका ३ क्षत्तीको नाउरखाल वनमा यार्सागुम्बा संकलन गर्न गएका ठेकरे हिउँ पहिरोमा परि वेपत्ता भएको प्रहरीले जनाएको छ ।
घट्नाबारे बुझ्न प्रहरी चौकी खण्डेश्वरीबाट प्रहरी टोली घट्नास्थलमा खटिएको छ । घटनाबारे बिस्तृत जानकारी प्राप्त नभएको र हिउँ पहिरोमा परी वेपत्ता भएका ठेकरेको छाता मात्र भेटिएको सूचना पाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
कोरोना महामारी बढ्दै गएको भन्दै अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले यार्सागुम्बा संकलनको लागि संकलन अनुमति वितरण तथा संकलन कार्य नगर्न सार्वजनिक सूचनामार्फत आह्वान गरेपनि स्थानीय संकलकहरु जेठ नलाग्दै यार्सागुम्बा पाइने पाटनहरुमा पुगिसकेका थिए ।
यो वर्ष वैशाख र जेठमा समेत हिमपात भएकोले हिउँ नपग्लीदा यार्सागुम्बा समेत नभेट्टिएको संकलकहरुले बताएका छन् । केहि संकलकहरु हिउँ पग्लेपछि यार्सासंकलनमा जाने भन्दै लेकबाट फर्किएका छन् ।
केहि स्थानीय भने यार्सा संकलन गरेपछि फर्किने भन्दै लेकमै बसेका छन् ।





प्रतिक्रिया