दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका, मार्मा गाउँपालिका, दुहुँ गाउँपालिका र नौगाड गाउँपालिकाका स्वास्थ्यकर्मीहरु घर टोलमै पुगेर स्वास्थ्य उपचार र परामर्श सेवा दिन दिइरहेका छन् ।
मार्मा गाउँपालिका सिआइसिटी शाखाद्धारा समुदायमा रहेका बिरामीहरुको घरटोलमै पुगेर स्वास्थ्यकर्मीहरुले बिरामीको उपचार, कोभिड स्क्रिनिङ तथा परामर्श सेवा दिने काम गरिरहेको जनस्वास्थ्य अधिकृत सुजन नेपालीले जानकारी दिनुभयो । कोरोनाका सक्रिय संक्रमितहरुको होम भिजिट र फलो अप सेवा समेत प्रवाह भइरहेको उहाँले बताउनुभयो ।
मार्माका छ वटै वडामा केस इन्भेष्टिकेसन एण्ड कन्टेक्ट आइडेन्टिफिकेसन (सिआइसिआई) समुह निर्माण गरेर वडा स्तरिय केस अनुसन्धान तथा केस पहिचान गर्ने काम भइरहेको मार्मा गाउँपालिकाले जनाएको छ । गाउँमै पुगेर कोरोना संक्रमितको पहिचान, उपचार र परामर्श सेवा शुरु भएपछि स्थानीयहरुले राहात महसुस गरेको उहाँले बताउनुभयो ।
दार्चुलाको अपिहिमाल, दुहुँ र नौगाड गाउँपालिकाले समेत स्वास्थ्यकर्मीहरुलाई गाउँघरमै पठाएर संक्रमितको पहिचान, बिरामीको उपचार र स्थानीयलाई स्वास्थ्य परामर्श सेवा दिइरहेका छन् । लेकम र मालिकार्जुन गाउँपालिकामा समेत बिरामीहरुको मागको आधारमा स्वास्थ्यकर्मीहरु घरदैलोमै पुग्ने गरेको स्वास्थ्य शाखाहरुले जनाएका छन् ।
जिल्लाभरी कोरोना महामारीले सन्त्रास फैलिएको बेला गाउँगाउँमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । गाउँघरमा कोभिडको जस्तै लक्षणसहित बिरामी बढेपछि बिरामीको उपचारमा स्वास्थ्यकर्मी परिचालन गरिएको गाउँपालिकाहरुको प्रतिक्रिया छ ।
कोरोना संक्रमणको डरले उपचारका लागि स्वास्थ्य संस्था जान नसकेकालाई घरमै स्वास्थ्य उपचार र परामर्श सेवा सुरु गरिएको र संक्रमितलाई समेत मनोपरामर्श तथा उपचार सेवा प्रवाह भइरहेको छ ।






तस्बिर : मार्मा गाउँपालिकाका स्वास्थ्यकर्मीहरुले घरटोलमै सेवा दिदै





प्रतिक्रिया