दार्चुला । लेकम गाउँपालिकाको केन्द्र रातामाटामा प्रशासकीय भवन निर्माण गर्न बोलपत्र आह्वान गरिएको छ ।
रातामाटामा गाउँपालिकाको केन्द्र तोकिएको तीन वर्षपछि प्रशासकीय भवन निर्माणका लागि बोलपत्र आह्वान गरिएको लेकम गाउँपालिकाले जनाएको छ ।
रातामाटामा गाउँपालिकाको प्रशासकीय भवन नहुदा अस्थाई कार्यालय खरकडाबाट गाउँपालिकाको सबै प्रशासनिक कामहरु हुने गरेका छन् । रातामाटामा भौतिक पुर्वाधार अभावमा खरकडाबाटै कार्यालय सञ्चालन गरेर आधिकारीक लेटरप्याडहरुमा रातामाटा कार्यालय भनेर कामकाज हुदै आएको गाउँपालिकाका कर्मचारीहरु बताउछन् ।
लेकम गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि रातामाटामा यसअघिनै जग्गाप्राप्ती भइसकेकोले गत वर्ष विस्तृत अद्ययन प्रतिबेदन (डिपिआर) समेत तयार गरिएको छ ।
स्थानीय तहको निर्वाचनबाट २०७४ सालमा निर्वाचित लेकम गाउँपालिका गाउँकार्यपालिका र गाउँसभाले २०७५ सालमा गाउँपालिकाको केन्द्र सबै वडाहरुको पायक पर्ने स्थान रातामाटामा कायम गर्ने निर्णय गरिएको थियो । गाउँपालिकाको सिफरिसमा नेपाल सरकारको राजपत्रमा समेत लेकम गाउँपालिकाको केन्द्र रातामाटा भनेर अढाई वर्ष पहिले नै प्रकाशन भईसकेको छ ।
रातामाटाका स्थानीय पाठक परिवारहरुले गाउँपालिकालाई प्रशासकीय भवन निर्माणका लागि जग्गादान समेत गरेका छन् । हालसम्म लेकम गाउँपालिका गाउँकार्यपालिकाले आफैंले गरेको निर्णय कार्यान्वयन गर्न ढिलाई गरेको भन्दै आलोचना भइरहेको थियो । रातामाटाबाट गाउँपालिकाको कार्यालय सञ्चालनका लागि प्रशासकीय भवन निर्माण गर्न बोलपत्र (टेण्डर) आह्वान भएसंगै गाउँपालिकाको केन्द्र रातामाटाबाट नै छिटै कामकाज सञ्चालन हुने आशा पलाएको लेकम गाउँपालिका वडा नम्बर २ का वडासदस्य पदमराज जोशीले बताउनुभयो ।
अहिलेसम्म गाउँपालिकाको केन्द्र रातामाटासम्म सडक, विद्युत लगायत पुर्वाधारको पहुँच समेत भएको छैन् । रातामाटा हुँदै धनथला जोड्ने सडक समेत बजेट अभावमा गतवर्षदेखि अलपत्र परेको छ । सुदूरपश्चिम प्रदेश सरकारबाट निर्माणाधिन ऐरिछाना धनथला सडक समयमै निर्माणसम्पन्न नहुँदा गाउँपालिकाको केन्द्र अहिलेपनि यातायातको पहुँचबाट बञ्चित रहेको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट उक्त सडक निर्माणका लागि १५ लाख बजेट मात्रै विनियोजन भएकोमा उक्त बजेट समेत कार्यान्वयन हुन सकेको छैन् ।
चालु आर्थिक वर्ष २०७७/०७८ मा लेकम गाउँपालिकाले प्रशासकीय भवन निर्माणको लागि ५० लाख विनियोजन गरेको छ । भने संघीय सरकारबाट समेत पहिलो चरणमा १८ लाख बजेट विनियोजित गरिएको छ । अगामी आर्थिक वर्षमा केन्द्र सरकारबाट गाउँपालिकाको भवन निर्माणका लागि थप बजेट विनियोजन हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
गाउँपालिकाको केन्द्र तोकिएको तीन वर्षसम्म समेत रातामाटामा भौतिक पुर्वाधार निर्माण नभएको तथा रातामाटाबाट प्रशासनीक काम सञ्चालन नभएकोमा गाउँपालिकावासी आक्रोशित बनेका छन् । ढिलै भएपनि भवन निर्माणका लागि बोलपत्र आह्वान हुनु स्वागतयोग्य काम भएकोले सक्दो छिटो पुर्वाधार तयार गरेर गाउँपालिकाको केन्द्र रातामाटाबाट प्रशासनीक कामकाज सञ्चालन गर्नुपर्ने स्थानीय महेशराज जोशीले बताउनुभयो ।







प्रतिक्रिया