दार्चुलामा बजेट प्रतिक्रिया : ‘समग्रमा बजेट राम्रो, कार्यान्वयनमा चुनौती’

दार्चुला । नेपाल सरकारका अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷७९ का लागि जेठ १५ गते शनिवार सार्वजनिक गर्नुभएको बजेटप्रति दार्चुला जिल्लामा पनि मिश्रित प्रतिक्रिया प्राप्त भएको छ । धेरैले बजेट राम्रो आएको भन्दै सरकारको प्रशंसा गरेका छन् । प्रतिपक्षि दल र केहि मानिसहरुले बजेट असन्तुलित र उपेक्षाकारी भएको प्रतिक्रिया दिएका छन् । बजेटले सरकारी, सहकारी देखि निजि क्षेत्र तथा बालबालिका, कर्मचारी, बेरोजगार र बृद्धबृद्धा सबैलाई सम्बोधन गरेको छ ।

अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको छ । गत वर्ष सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट ल्याएको थियो । गत बर्ष भन्दा यो वर्ष बजेटको आकार बढेको छ । बजेटले दार्चुला जिल्लाका केहि योजना तथा कार्यक्रम समेटेपनि अपेक्षाकृत सम्बोधन नभएको पाइएको छ । सत्तारुढ दलका नेता, कार्यकर्ता र शुभचिन्तकहरुले बजेट जनमुखी, लोकप्रिय आएको बताइरहदा प्रतिपक्षी दलका केही नेता, कार्यकर्ता र शुभचिन्तकहरुले बजेटले दार्चुलालाई उपेक्षा गरेको र कार्यान्वयनमा समस्या हुने तथा चुनाव केन्द्रित भएको जस्ता प्रतिक्रिया दिएका छन् ।

हेरौँ  रेडियो लोकदर्पणलाई प्राप्त केहि प्रतिक्रिया

(१) चन्द्रदेब भट्ट, लेकम गाउँपालिका, दार्चुला :- मेरो उमेर ८७ वर्ष भयो, १२ जनाको परिवार छ तर कोहिपनि रोजगार छैनन् । छोराले मजदुरी गरेर कमाएको र मैले पाउदै आएको बृद्धभत्ताबाट अहिलेसम्म दैनिक उपभोग्य बस्नु किनेर गुजारा (जीविकोपार्जन) गरिरहेका छौँ । अगामी वर्षका लागि बृद्धभत्ता बढाएर मासिक चार हजार पुर्याएको खबर सुन्दा एकदमै खुसी लागेको छ । बृद्धबृद्धा र बेरोजगारहरुको साहारा बनेकोमा अहिलेको सरकारलाई धन्यबाद छ ।

(२) बिष्णुसिंह बोहरा, शैल्यशिखर नगरपालिका दार्चुला :- आर्थिक वर्ष २०७८र७९ को बजेट समग्र दृष्टिकोणबाट हेर्ने हो भने यस बजेटले राष्ट्र सेवक कर्मचारी, वृद्धा अबस्थामा पुगेका नागरिकहरु, विद्यार्थीहरुलाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने यि बुदाहरु एकदमै जनमुखी छन् । तर मूलुकको ऋण प्रति ब्यक्ति ५२ हजार पुगेको छ । महामारी बढिरहेको बेलामा यो बजेट मुलुकले धान्न नसक्ने पो हो कि ? भन्ने चिन्ता पनि छ । चुनाव नजिक आइरहेकाले चुनाव केन्द्रीत बजेट पनि हो कि ? भन्ने आसंङ्का पनि छ । यद्यपि बजेट कार्यान्वयन भयो भने लोकप्रिय नै छ तर कार्यान्वयन गर्न जटिल देखिराछु ।

(३) बिरेन्द्र महरा, मार्मा गाउँपालिका, दार्चुला :- बजेट समग्रमा ठिक छ । कृर्षि, उत्पादन र औद्योगिकरणको विकासमा जग बसाल्ने चेष्टा गरिएको छ । यसको समग्र कार्यान्वयनमा जोड दिनु पर्छ । सामाजिक सुरक्षा कार्यक्रम अति राम्रो र जनमुखि छ । बाँकि राष्ट्रसेवक कर्मचारी अन्तरगत शिक्षक माथि समान न्याय हुने खालका कृयाकलाप आउनु पथ्र्यो त्यो अलिकति विभेदको महसुस भएको छ । तर अब कार्यक्रमा आउने अपेक्षा छ । दार्चुलाको लागि गोकुलेश्वर विमान स्थल, चौलानी सिचाई, महाकाली तटबन्द, तिंकर सडक राम्रा काम हुन । सकारात्मक छ ।

(४) मदनराज जोशी, लेकम गाउँपालिका, दार्चुला :- समग्रमा बजेट राम्रो छ । सबै क्षेत्र लाई समेटन खोजिएको छ । कोरोना कहरका बिच अर्थतन्त्र तहस–नहस भएको बेला पनि निकै प्रगतिशील खालको बजेट ल्याउन खोजेको जस्तो देखिन्छ । कोरोनाबाट प्रभावित सबै जसो क्षेत्र लाई सम्बोधन गर्न खोजेको छ । अरु वर्ष जस्तै यस वर्षको बजेटमा पनि कार्यान्वयनमा चुनैति नै छ । सरकारले कार्यान्वयन पक्षमा यथेष्ट मात्रामा ध्यान पुर्याउन सके यसको प्रतिफल सबैले महसुस गर्ने गरि देखिनेछ । शिक्षा र स्वास्थ्यमा सबैभन्दा बढी बजेट विनियोजन हुनु स्वागतयोग्य छ । खोप खरिद, कोरोना नियन्त्रण लगायत क्षेत्रमा समेत प्रयाप्त बजेट विनियोजन गरिएको र सबै क्षेत्रलाई समेटेर बजेट आएकोले लोकप्रिय नै भन्नुपर्छ ।

(५) खडक धामी, मार्मा गाउँपालिका, दार्चुला :- दार्चुलाको एकमात्र गोकुलेश्वर विमानस्थल निर्माणका लागि बजेट विनियोजन गर्नु, चमेलिया क्षेत्रमा लिफ्ट सिचाँइको कार्यक्रम र दार्चुला सदरमुकाम खलंगालाई नदी कटानबाट जोगाउने योजना ल्याउनु, महाकाली करिडोरमा बजेट विनियोजन गर्नु दार्चुलाका लागि निकै सकारात्मक कुरा हो । यस्तै सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको बीओपी थप गर्ने, सामाजिक सुरक्षा भत्ता बढाउने र सुरक्षाकर्मी तथा कर्मचारीको सेवासुविधा बढाउने, रोजगारी सिर्जना गर्ने कुरा स्वागतयोग्य छ । समग्रमा विगत वर्षहरुको तुलनामा बजेट राम्रो आएजस्तो मलाई लाग्छ ।

(६) पार्वती बोहरा, व्यास गाउँपालिका, दार्चुला :- सीमामा बसेर देशको भूमी सुरक्षा गरिरहेका हामीहरुलाई बजेटले अपेक्षा अनुसारको सम्बोधन गरेजस्तो लागेन । तर कञ्चनपुरदेखि दार्चुला सदरमुकाम हुँदै त्रिदेशिय सीमा क्षेत्र जोड्ने आर्थिक, धार्मीक, व्यापारीक र पर्यटकीय महत्तको निर्माणाधिन महाकाली करिडोरमा एक अर्ब तीन करोड बजेट विनियोजन गर्नु र सीमामा सशस्त्रको बीओपी थप गर्ने कुरा सुनेर खुसी लागेको छ । विगतमा पनि बजेट विनियोजन गर्ने तर काम नहुने समस्याले बर्षौदेखि सामरिक महत्तको कालापानी क्षेत्र जोड्ने सडक अलपत्र परेकोले सरकारले यो वर्ष विनियोजन गरेको बजेट समयमै खर्च गरोस र हाम्रो गाउँसम्म पनि सडक पुर्याइदेओस भन्ने हामीहरुको माग छ ।

(७) प्रकाशसिंह धामी, नौगाड गाउँपालिका, दार्चुला :- अगामी वर्षको बजेट समग्रमा सबै छेत्रलाई समेटेर बनाइएको छ । मनमोहन अधिकारी प्रधामन्त्री भएको बेला २०५१/०५२ सालको झल्को दिने लोकप्रिय बजेट आएको छ । अब यसको कार्यन्वयन तिर सबै लागौं चाहे त्यो सत्तापक्ष होस वा प्रतिपक्ष होस। सफल कार्यान्वयन गर्न सके अहिलेको बजेटले समृद्धिको सपनालाई दिशानिर्देश गर्ने छ ।

(८) दिलेन्द्रप्रसाद बडू, नेता, नेपाली काग्रेश :- अध्यादेशमार्फत ल्याइएको आर्थिक वर्ष २०७८र७९ को बजेट समग्र हेर्दा दार्चुलाका लागि उपेक्षाकारी, असन्तुलित र अन्यायपूर्ण रहेको छ । आफूले पटकपटक संसदबाट र भेटेरै यातायातमन्त्रीको ध्यानाकर्षण गराउदा पनि नेपाली सेनाले निर्माण गर्ने भनिएको दार्चुला—तिंकर सडक अन्तर्गतको ८७ किलोमिटर कोठेधारदेखि तिंकरसम्मको सडकखण्डलाई छुट्टै योजना तथा छुट्टै बजेट विनियोजन नगर्नु तथा प्राथमिकतामा नपर्नु दुखद एवं खेदजनक छ । सरकारले तिंकर सडकलाई महाकाली कोरिडोरमा गाभ्दा तीव्र गतिमा विकास हुन सकेको छैन् । बजेट भाषणमा समेटिएको दार्चुला सदरमुकाम क्षेत्रको तटबन्ध क्रमागत योजना हो तर जिल्लाको चौलानी, नौगाड नदी नियन्त्रण र गोकुलेश्वर तटबन्ध योजना बजेटमा परेको पाइएन । दार्चुलामा प्रयाप्त सम्भावना रहेका फलफूल, तरकारी खेती, पशुपालन, दुग्ध व्यवसाय, साना तथा घरेलु उद्योग, जडीबुटी र च्याङग्रा र भेडाबाख्रा पालन जस्ता क्षेत्रमा समेत कुनै विशेष बजेट र कार्यक्रम नपरेकोको कारण बजेटले दार्चुलालाई यथोचित सम्बोधन गरेको पाइएन ।

(माथिका सात वटा प्रतिक्रिया रेडियो लोकदर्पणलाई प्राप्त हुन भने नेता बडूको प्रतिक्रिया उहाँको विज्ञप्तीमा आधारीत भएर सम्पादन गरिएको छ)

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?