दार्चुला। महाकाली नगरपालिका–८ काकडाको पारिपट्टी धार्चुलाको छार्चुम क्षेत्रमा महाकालीको धार परिवर्तन हुने गरी भारतले तटबन्ध निर्माणको तयारी थालेको छ ।
भारतले नेपाली पक्षसंग समन्वय नगरिकनै अन्तर्राष्ट्रिय सीमा सन्धि विपरित महाकालीमा तटबन्ध निर्माणको तयारी गरिरहेको स्थानीय बिक्रम रैखोलाले जानकारी दिनुभयो । नेपालतर्फ पक्की तटबन्ध नभएको अवस्थामा काकडाको पारिपट्टी छार्चुम क्षेत्रमा निर्माण हुने पक्की तटबन्धले महाकालीको धार परिवर्तन भइ नेपाली भूमि जोखिममा पर्ने खतरा रहेको रैखोलाले बताउनुभयो ।
यसअघि भारतले सीमा नदी महाकालीको धार परिवर्तन हुने गरी दार्चुला सदरमुकामस्थित बसपार्क र गल्फैको पारिपट्टी पक्की तटबन्ध बनाएको छ । नेपालकै भूमीमा दार्चुला सदरमुकामलाई जोखिम हुने गरेर तटबन्ध निर्माण गरेपछि चौतर्फी आलोचना भइरहेको छ । तटबन्ध निर्माणबारे आलोचना भएपछि नेपाल–भारतका अधिकारीले संयुक्त रूपमा निरीक्षण गरेपनि अद्ययन प्रतिवेदन सार्वजनिक भएको छैन् । निषेधाज्ञाको समयमा सदरमुकाम बाहिरको क्षेत्रमा समेत तटबन्ध निर्माणको काम थालेपछि स्थानीय त्रसित बनेका छन् ।
भारतले बेलामौकामा नेपाली भूमि अतिक्रमण गर्नेदेखि नेपाली भूमि जोखिममा पर्ने गरी संरचनाहरु निर्माण गर्दै आएको छ । छार्चुममा तटबन्ध निर्माण गर्न थालेको विषयमा प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीलाई बुझ्न खोज्दा बालुवा झिक्ने प्रयोजनका लागि स्काभेटर प्रयोग गरेको प्रारम्भीक जानकारी प्राप्त भएको जानकारी दिनुभयो । तटबन्ध निर्माण भइरहेको विषयमा जानकारी छैन, प्रजिअ जोशीले भन्नुभयो, उक्त क्षेत्रमा भारतले बालुवा झिक्ने काम गरिरहेको भन्ने सूचना प्राप्त भएको छ ।
यो विषयमा थप बुझ्ने काम भइरहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
काकडाको पारिपट्टी छार्चुम क्षेत्रमा भारतले तटबन्ध निर्माणको थालनी गर्दै । तस्बिर : विसाल रैखोलाको फेसबुकबाट








प्रतिक्रिया