काठमाडौं । नेपाल अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशका रूपमा सूचीकृत हुने भएको छ ।
नेपालले ५० वर्षपछि मध्यमस्तरको विकासशील देशका रूपमा सूचीकृत हुने मापदण्ड पूरा गरेको हो। यससम्बन्धी अन्तिम प्रस्ताव संयुक्त राष्ट्रसंघको आगामी महासभाबाट पारित गर्ने तयारी रहेको छ। उक्त प्रस्ताव अनुमोदन गर्नका लागि राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषदले आगामी महासभामा पेश गर्न सैद्धान्तिक सहमतिसमेत प्रदान गरिसकेको छ। यस पटकको राष्ट्रसंघको महासभा सेप्टेम्बर महिनामा बस्दैछ।
नेपाल विगत ५० वर्षदेखि अल्पविकसित देशको सूचीमा सूचीकृत रहँदै आएको थियो ।
न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी नियोग प्रमुख अमृत राईका अनुसार संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषदको हालै न्यूयोर्कमा सम्पन्न बैठकलेसमेत नेपाललाई कम आय भएको मुलुकबाट मध्यमस्तरको आय भएको मुलुकका रूपमा स्तरोन्नति गर्न नेपाल सक्षम भएको सिफारिस गर्दै आगामी महासभामा अनुमोदनका लागि पेश गर्न लागेको छ।
नेपालले स्तरोन्नतिका लागि तय गरिएका तीन मापदण्डमध्ये दुई मापदण्ड सन् २०१५ र सन् २०१८ मा पूरा गरिसकेको थियो । यसले नेपाललाई स्तरोन्नतिका लागि मार्ग प्रशस्त गरेको स्थायी प्रतिनिधि राईले बताउनुभयो । तर त्यसबेला प्राकृतिक विपत्तिको सामना गर्नुपरेकाले स्तरोन्नति हुने विषयलाई थाँती राख्न नेपाल आफैंले अनुरोध गरेको उहाँले जानकारी दिनुभयो । अब अहिले यो अनुमोदन हुने चरणमा प्रवेश गरेको राईले बताउनुभयो ।
राष्ट्रसंघले तोकेका तीन मापदण्ड–कूल राष्ट्रिय आयमा प्रतिव्यक्ति आम्दानी, मानव सम्पत्ति सूचकांक र आर्थिक तथा वातावरणीय जोखिम सूचकांकमध्ये दुई मापदण्ड पूरा गरेकाले नेपाल योग्य देशको सूचीमा रहेको हो।
नेपालले स्तरोन्नतिपश्चात थप चुनौतीहरुको सामना गर्नुपर्ने हुन्छ । आगामी तीन वर्षसम्म अध्ययन गरी त्यसका लागि आवश्यक पर्ने बजेटसमेत तर्जुमा गर्नुपर्ने हुन्छ। खासमा अतिकम विकसित राष्ट्रको हैसियतले अन्तर्राष्ट्रिय सहायता समूहले प्रदान गर्ने विभिन्न अनुदान तथा सहायता कार्यक्रम कटौती हुने तथा निर्यातजन्य व्यापारमा थप करको भार वहन गर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रतिस्पर्धी क्षमता कमजोर हुनेलगायतका चुनौतीहरु रहेकाले आवश्यक रणनीति तय गर्नुपर्ने हुन्छ। यसका लागि राष्ट्रिय योजना आयोगमा एक संयन्त्र निर्माण गरी काम गर्ने नेपालको तयारी रहेको छ।
सन् १९७१ मा नेपाल कम विकसित मुलुकका रूपमा सूचीकृत भएको थियो।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




